नेपालमा यसरि भित्रिएको थियो ‘नेपाल आइडल’


‘मेरो ३० वर्षको करियरमा नेपालमा यतिको स्तरीय प्रोडक्सन आजसम्म देखेको थिइनँ ।’ नेपाली सञ्चारजगत्मा एउटा संस्था बनिसकेका सञ्चारकर्मी विजयकुमार पाण्डेको यो भनाइमा सहमत हुनेहरू धेरै छन् ।‘ऐतिहासिक काम भएको छ नेपालमा, तपाईंहरूलाई बधाइ अनि धन्यवाद ।’ नेपालमा टेलिभिजन प्रसारण आरम्भअघिदेखि भिडियो प्रोडक्सन तथा त्यतिबेला स्थापनाको तयारीमा रहेको नेपाल टेलिभिजनलाई जनशक्ति तथा तालिम सहयोग गरेको संस्था वल्र्डभ्यू इन्टरनेसनल फाउन्डेसनका राजु दाहालको आशय पनि त्यस्तै पाइयो ।

‘नेपालको टेलिभिजनमा दुइटा क्रान्ति भएका छन्, एउटा नेपाल टेलिभिजन खुल्नु र अर्को नेपाल आइडल आउनु ,’ कवि तथा रचनाकार विप्लव प्रतीकले त शोमै भन्नुभयो ।प्रशंसका यी शब्द कानमा ठोकिँदा सन्तोष लाग्नु स्वाभाविकै हो, तर यो एक रातको चटक भने अवश्य थिएन । अन्तर्राष्ट्रिय सिरिज आइडलको नेपाली संस्करण निर्माण गर्दा अनुभव यसमा कुनै कुराको सीमा छैन- न जनशक्ति, न धनशक्ति, न इच्छाशक्ति न त धैर्यशक्ति नै । समयको त के कुरा गर्नु, निर्देशक लक्ष्मण, डीओपी शिवराम र प्रोजेक्ट हेड स्वयं पक्तिंकारलगायतले बेहिसाब धेरै रात कार्यालयमै बिताउनुपर्‍यो, अफिस नै घर र घर अफिस बन्यो ।तर किन ल्याउनु पर्‍यो नेपाल आइडल ?

नेपालमा टेलिभिजन प्रसारण आरम्भ भएको ३२ वर्षपछि एपी वान जन्मने तर्खरमा थियो । यतिबेलासम्म नेपालमा भू-उपग्रहमार्फत प्रसारण गर्ने टेलिभिजनहरूको संख्या डेढ दर्जनभन्दा बढी भइसकेको थियो । टेलिभिजनहरूको भीडमा थप एक टेलिभिजन भएर नम्बर मात्र बढाउनु कुनै उपलब्धि थिएन । दर्शकलाई केही नयाँ दिनैपर्छ भन्ने थियो, जुन आजसम्म अरू नेपाली च्यानलले दिन नसकेको होस् । तर के ?

सुरेशजी, हामीले आइडल ल्यायौं भने गर्न सकिन्छ ? एकदिन अचानक प्रबन्धनिर्देशक लक्ष्मीप्रसाद पौडेलले प्रश्न गरे । टेलिभिजन कन्टेन्ट, कार्यक्रम निर्माण र प्रसारणको क्षेत्रमा नयाँ उहाँको यो प्रश्न त्यतिबेला फगत् एक शब्दबिलास जस्तो लाग्यो । नसकिने त हैन तर निकै ठूलो तयारी (भौतिक संरचना अथाह धनराशी र जनशक्ति) खोज्छ त्यस्तो कार्यक्रमले, के ती सबका लागि हामी तयार छौं ? मेरो प्रतिप्रश्न थियो, प्रश्न थप अरू पनि थिए, जस्तो कि-जहिले पनि सुन्दै आएको नेपाली विज्ञापन बजार सानो छ, पैसा कमाउन सकिन्न, लगानी उठ्दैन… यस्तैयस्तै ।

के नेपाल आइडलका लागि खोजेजस्तो प्रतिभा पाउन सकिएला ? नेपाली प्रतिभा अरू देशका आइडलमा देखिएजस्ता एक्सप्रेसिभ हुनेछन् ? उनीहरूका कथाले दर्शकको मन छुन सक्ला ? के आइडलका लागि चाहेजस्ता जज भेटिएलान् ? भेटिएमा प्रतियोगीसँग निर्माणपक्षले खोजेजस्तो व्यवहार स्वस्फूर्त रूपमा गर्न सक्लान् ? के उनीहरूले वास्तविक प्रतिभा पहिचान गर्न सक्लान् ? के आइडलको लुक एन्ड फिल अन्तर्राष्ट्रियस्तरको बनाउन सकिएला ? क्यामेरा र एक्सेसरिज कस्तो, कतिसम्म प्रयोग गर्ने ? एडिटिङ मेसिन कतिवटा चाहिने ?

आइडल खिच्ने सक्षम क्यामेरामेन एडिटर तथा साउन्ड रेकडिस्ट पाउन सकिएला ? आदि….

काम थालेपछि यी प्रश्नको उत्तर पनि आउँदै गर्ला भन्ठानेर नेपाल आइडल गर्ने निश्कर्षमा हामी पुग्यौं । तर यसमा फ्रेन्चाइज दाता फ्रिमेन्टल मिडिया पनि ढुक्क हुन बाँकी थियो, उसले आइडलको उत्पादन प्रक्रिया अवलोकनका लागि हामीलाई मुम्बई बोलायो । त्यतिबेला इन्डियन आइडल जुनियर चलिराखेको थियो । रिलायन्स स्टुडियो, फिल्मीसिटीको वातावरण ठूलो मेलाजस्तो । एउटा शोको लागि त्यति धेरै मानिसको सहभागिता हाम्रा लागि अनौठो थियो । चारवटा त मेस नै सञ्चालित । स्टुडियोमा सेट र लाइटको भव्यताको कुरा गरिसाध्य थिएन । लाइटको प्रयोग डेकोरेसन समेत रहरलाग्दो देखिन्थ्यो । स्टेजको कुनाकुनामा एलईडी डिस्प्ले । स्टेजबाहिर मास्टर कन्ट्रोलरुम लाइट कन्ट्रोलरुम, अडियो कन्ट्रोलरुम, एलईडी कन्ट्रोलरुम र सुविधासम्पन्न एडिटिङ स्वीटहरू…। के हामीले सक्छौं ? हो, हामी नेपालमा आइडल गर्न पत्याइयौं ।

सुरुमा आइडलकै अनुसन्धानका लागि देशभर घुम्दा धेरैले पत्याउनै मानेनन्, यो आइडल सिरिजकै नेपाली संस्करण हो भनेर । जहाँ गयो त्यहीं ‘नेपालीले पनि यस्तो गर्न सक्लान् र ? ’ भन्ने प्रश्न ओइरिन्थ्यो । कतिले त ‘चोर्नु त चोर्नु दुरुस्त उही लोगो उही म्युजिक त नचोर्नु नि’ सम्म पनि भने।

महिनौंको तयारी तथा गृहकार्यपश्चात नेपाल आइडलको छायांकन आरम्भ गरियो । अडिसनको पहिलो छायांकन नेपालगन्जमा गरिए पनि त्यो पहिलो एपिसोड थिएन । मानिसहरू अपेक्षा गरिएकोभन्दा कम नै देखा परे । तर त्यसपछिका स्थलहरूमा क्रमश अडिसन दिन आउनेहरू बढ्दै गए । पोखरा राजधानीबाहिरको अन्तिम गन्तव्य थियो, पोखरामा धेरैजना आउने अपेक्षा गरिएको थियो तर भइदियो ठीक उल्टो, कम आए मानिसहरू ।

पछि कारण बुझियो स्थानीयस्तरमै कुनै अर्को प्रतियोगिता हँुदै रहेछ, मानिसहरूले नेपाल आइडलमा भन्दा त्यहाँ जान ठीक मानेका रहेछन् । हुन पनि त्यतिबेला टेस्ट ट्रान्समिसन मात्र गरिरहेको एपी वान न दर्शकमाझ परिचित थियो न यो आइडलमा उनीहरू विश्वस्त हुन सकेका थिए ।

विभिन्न उतारदढाव पार गर्दै नेपाल आइडलको अडिसनका लागि आइडल समूह देशका ६ ठाउँमा पुग्यो । राजधानीबाहिर कुनै टेलिभिजनको यतिको ठूलो प्रोडक्सन समूह हिँडेको सम्भवतः यो नै पहिलोपटक थियो । आज कतारबाट हुने ग्य्राण्डफिनालेको प्रत्यक्ष प्रसारण पनि यतिको ठूलो मात्रामा देशभित्रको टोलीले आफ्नै उपकरणसहित बाहिर गएर गरेको पनि पहिलोपटक हुनेछ । कतारमा अहिले एपी वानका करिब ६५ जनशक्ति लाइभको तयारीमा छन् ।

टेलिभिजनका कार्यक्रम टेलिभिजनमा भन्दा पनि युट्युबमा हेर्ने प्रचलन बढ्दै जान थालेपछि कार्यक्रमको भ्यूअरसिपमा एकप्रकारको अनुमान गर्नसकिने र त्यसको लोकप्रियता निर्धारण गर्न सकिने बलियो आधार स्थापित भयो । नेपाल आइडल युट्युबमा सर्वाधिक धेरैले प्रत्यक्ष हेर्ने गरेको पहिलो कार्यक्रम पनि बन्न पुग्यो । यसको लाइभ प्रसारण एकैपटक ७५ हजारसम्मले हेरेको पाइयो । वास्तवमा कार्यक्रमको भ्यूअरसिप निर्धारण गर्न युट्युब नेपाली विज्ञापनदाताका लागि पनि उपयुक्त संयन्त्र हुन सक्छ ।

एपी वानको फाइनल प्रोडक्ट भए पनि नेपाल आइडलका क्लिपहरू अन्य प्रकाशन तथा प्रसारण संस्थाका लागि गतिलो कन्टेन्ट बन्न पुगे । अनेकौं पत्रपत्रिका र विशेष गरी दर्जनौं अनलाइन र युट्युब च्यानलहरूमा आइडलका बारेमा चर्चा गरिन थालिए । तर अन्नपूर्ण मिडिया नेटवर्कका प्रकाशन र प्रसारणमा बाहेक अधिकांशले गरेका रिपोर्टिङमा टाढाटाढासम्म पनि सत्यको अंश पाइएन।

त्यसो त अडिसनमा आएका हजारौ प्रतिस्पर्धीले हजारौं गीत गाए, तर थिएटर राउन्डदेखि अहिलेसम्म नेपाल आइडलमा जम्मा २१३ वटा गीत प्रतिस्पर्धीहरूले गाए जसमा १०३ पुरुष स्वरका, ३७ महिला स्वरका, ५२ युगल र २१ सामूहिक गीत थिए । यी गीतहरू ६० नेपाली चलचित्रका, ४१ एकल ट्रयाक र १०३ एल्बमहरूबाट लिइएका थिए ।

नेपाल आइडलको पहिलो सिजन समाप्त हुँदैछ । काम गर्दै जाँदा अनेकौं त्रुटि पनि भएकै छन् । चाहँदा चाहँदै पनि नेपाली गीतसंगीतका कयांै हस्तीलाई कार्यक्रममा बोलाउन सकिएन, तर हामीले नसम्झेको अवश्य पनि हैन । नेपाल आइडल यो नै अन्तिम पनि हैन । हामी आगामी सिजनहरूमा अवश्य पनि उहाँहरूलाई निम्तो दिएर दुःख दिनेछौं । चाहँदाचाहँदै पनि कयौंपटक कार्यक्रम समयमा प्रसारण हुन सकेन, प्राविधिक गडबडीले कयौं पटक कार्यक्रमका ब्रेक लम्ब्याउनुपर्‍यो । तर यति हुँदाहुँदै पनि जुनखालको साथ संसारभरका दर्शकबाट हामीले पाएका छांै त्यसका लागि जति धन्यवाद दिए पनि कम छ।

त्यतिमात्र हैन दर्शकलाई थाहा नहुने हामीलाई मात्र थाहा हुने कयौं गल्ती हामीबाट भएका छन् । सामाजिक सञ्जालका प्रत्येक रचनात्मक टिप्पणी हाम्रा लागि शिरोधार्य छन् र बद्नियतपूर्ण टिप्पणीप्रति हाम्रो करुणाभाव छ । जे होस, ती सबै हाम्रा लागि पाठ हुन्, ती पाठबाट सिकेर अर्को सिजन योभन्दा राम्रो गरेर देखाउने अठोट गर्दछौं ।

एपी वान टेलिभिजनका निर्देशक पौडेल नेपाल आइडलका प्रोजेक्ट प्रमुख हुन् ।

अन्नपुर्ण पोष्टबाट साभार

६ आश्विन २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको