काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिबिर संचालन गरेका छन् ।
चन्दको नेतृत्वमा चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सप्तरीका गाउँहरुमा बाढी पछी स्वास्थ्यमा अाउन सक्ने समस्यालाई ध्यानमा राखेर स्वास्थ्य शिविर संचालन गरेका हुन् । उनीहरुले राहत पनि वितरण गरेका छन्।
एमबीबीएस पढ्दै गरेका प्रकाश चन्दसहित १६ जना विद्यार्थीको टोलीले राहत वितरणका साथै पीडितहरुको सामान्य स्वास्थ्य परीक्षणसमेत गरेको थियो ।
चितवनका औषधि पसल, ब्यापारी र इच्छुक दाताहरुबाट संकलन गरेको राहत बाँड्नका लागि उनीहरु सप्तरीको रामपुरा नगरपालिकामा पुगेका हुन्।
‘हामीले रामपुरा नगरपालिकाका ८०० जनालाई उपचार गर्ने लक्ष्य लिएर यहाँ आइपुगेका छौं, आजैमात्र ३०० जनाको उपचार गर्यौँ’, चन्दले भने,‘यहाँका पीडितहरुमा जिउ दुख्ने, ब्लड प्रेसर लो हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिएका छन्।’
भाइरल ज्वरो र डायरियाको समस्या बाढी पीडितहरुमा देखिएको बताए। विद्यार्थीहरुले उक्त गाउँका पीडित मध्येपनि दलित र अपांगलाई विशेष प्राथमिकता दिएर आफुहरुले राहत वितरण गरिरहेको चन्दले बताएका छन्।
सप्तरीका विभिन्न गाउँहरुमा अझै केहिदिन शिविर सञ्चालन गरिने चन्दले जानकारी दिए ।
अनलाइन डबली
प्रतिक्रिया दिनुहोस