रियल मड्रिडलाई गम्भीर धक्का, रोनाल्डो पहिलो खेलमै निरास


असोज ५ – स्पेनिस ला लिगा फुटबलमा यो सिजन खराब प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिडलाई गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित भयो ।

घरेलु मैदान बर्नाबेउमा भएको खेलमा अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेलमा इन्जुरी समय रियल मड्रिडका लागि घातक बन्यो । पाँच खेलको प्रतिबन्धपछि स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो मैदान फर्किएको खेलमा रियल मड्रिडबाट जोगिन सकेन ।

यो सिजन ला लिगामा रोनाल्डोको यो नै पहिलो खेल हो। इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औं मिनेटमा खाएको गोल रियलका लागि महंगो साबित भयो ।

रियल बेटिसका लागि एन्टोनियो सानाब्रियाले गोल गरेका हुन् । २१ वर्षका सानाब्रियाले एन्टोनियो बार्रगानको क्रस बललाई हेड गरेर गोलमा परिणत गरेका हुन् । घरेलु मैदानमा जिनेदिन जिदानको टिम रियल मड्रिडले गोल गर्ने राम्रा अवसर बनाएको थियो ।

रोनाल्डोसहित रियल मड्रिडका अरु खेलाडीले २७ पटक गोल गर्ने मौका बनाएका थिए । तर गोल भने गर्न सकेनन् । रियल बेटिससँगको हारपछि युरोपियन च्याम्पियन रियल मड्रिड ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा सात अंकले पछि परेको छ । रियलको पाँच खेलबाट मात्रै ८ अंक भएको छ । शीर्ष स्थानको १५ अंक छ ।

लिग अन्तर्गत राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएको एथ्लेटिको मड्रिड पाँच खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।अर्को खेलमा लास पालमसलाई १–० ले हराएको सेभिल्ला पाँच खेलबाट १३ अंकसहित दोस्रो स्थानमा कायम छ ।

उज्यालो अनलाइन !

५ आश्विन २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको