ओली र प्रचण्डले राष्ट्रपतिलाई भने ‘देउवालाई बालुवाटारबाट निकाल्नुस’


५ पुस– नेपाली काँग्रेसले बाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुरुपयोग गरेको आरोप लगाइरहेका बेला राष्ट्रपतिले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शीतलनिवास बोलाएर भेटेकी छन् ।

ओली र प्रचण्डसहितका नेतालाई बुधबार बोलाएर राष्ट्रपतिले राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा दलीय सहमति जुटाउन आग्रह गरेको नेताहरुले बताएका छन् । काँग्रेसले विधेयक प्रमाणीकरण गर्न र बाम गठबन्धनले राजनीतिक सहमतिबेगर एकतर्फी रुपमा आएको विधेयेक अगाडि नबढाउन राष्ट्रपतिमाथि दबाब दिँदै आएका छन् ।

नेताहरुले भने सरकारले गलत मनसायका साथ ल्याएको विधेयक राष्ट्रपतिले कुनै हालतमा अगाडि बढाउन नहुने बताए । राष्ट्रियसभाले पूर्णता नपाउँदैमा सरकार गठनमा समस्या नहुने भए पनि काँग्रेसले अनावश्यक अत्तो थापेर सरकार छाड्न आनाकानी गरिरहेको आरोप दुवै दलका नेताले लगाए ।

विगतमा संसदको राज्य व्यवस्था समितिले दलीय सहमतिमै राष्ट्रियसभाको निर्वाचन बहुमतीय आधारमा गर्ने निक्र्यौल गरिसकेकामा बाम गठबन्धनपछि आत्तिएर सरकारले एकल संक्रमणीय चुनाव प्रणालीको व्यवस्थासहित विधेयक पठाएको तर्क उनीहरुको थियो । बरु काँग्रेसलाई ताजा जनादेशका आधारमा नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नका लागि दबाब दिन र निर्वाचन आयोगलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको नतिजा नरोक्नका लागि आग्रह गरिदिन नेताहरुले राष्ट्रपतिसमक्ष अनुरोध गरे ।

नयाँ सरकार बनेपछि मात्र राष्ट्रिय सभा गठनको प्रक्रियाबारे राजनीतिक सहमति जुटाउन सकिने उनीहरुको जवाफ थियो ।

५ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको