सन्दर्भ : बाम ध्रुवीकरण ‘अब संसदवाद र बजार–समाजवादकै घन्टी बजाऔं’


पुरुषोतम लम्साल
(अघिल्ला प्रचण्डको ‘घन्टी’ र समाजवादको ‘बाँसुरी’। प्रचण्डको ‘घन्टी’ र संशोधनवादको नाभी । आलेखमा लेखियो, अहिले एकताको बाली भित्र्याउने याम हो । राष्ट्रिय पार्टी बन्न हैसियत नभएकाहरुले ठूला दलको आडमा आफ्नो दूनो सोझ्याउने मेसो मात्र हो । त्यहाँ विचारको, सिद्धान्तको, नीतिको कार्यक्रमको कुनै गुञ्जायस छैन । अखण्ड पार्टी गाभियो भनेर कांग्रेसले ताली बजाउनु र नेकपा संयुक्त मिल्यो भनेर माओवादी केन्द्रले मुख आँ गर्नुमा कुनै भेद छैन । जनाधार नभएका र पाँच वटा जिल्लामा संगठन नभए पनि राजनीतिक दलको नाममा खेती गर्दै आइरहेका झारपातहरु भित्र्याएर हामी हात्ती हुन्छौं वा भयौं भन्नु छोटाृ चुट्किला हो । चारप्रहर अगाडिसम्म संशोधनवादीको भिल्ला भिराएर मनोरञ्जन लिइरहेकाहरु आठ प्रहरपछि त्यही पार्टीमा समाहित हुन लागेको सन्दर्भका केही कुरा थिए । आजको अङ्कमा त्यो सन्दर्भको बीट मारिन्छ । )
आफूलाइृ कम्युनिष्ट भन्ने दुनियाँ अहिले रुसी अक्टोबर क्रान्तिको शताब्दी वर्ष मनाइरहेको छ । हाम्रा पनि कोठे, टोले र, दले कम्युनिष्टहरु यो अवसरमा उमङ्गका साथ सहभागी भइरहेका छन् । गीत सुनिन्छ, कविता आउँदैछ, नारा आउँदैछ, वाचा आउँदैछ, कार्यक्रम आउँदैछ । लेनिनको ‘अप्रिल थेसिस’ पनि तिनीहरुलाई यही बेला याद आउन पर्ने ? हैट ! यस्तो लाग्दछ, अक्टोबर क्रान्तिको शताब्दी वर्ष आइदिएकाले सब ‘रिफ्रेस’ भएका छन् । सबैले आफूलाई समाजवादी भन्न भ्याएका छन्, लेनीनवादी भन्न भ्याएका छन् । बेसोमतीहरु ।
यहीबेला मलाई ऊ बेला पुष्पकमल दाहाल प्रचण्डले दोहोर्याउने ‘जनविद्रोह’ र ‘सत्ता कब्जा’ नामको कोकाकोलाको याद आयो । कुनैबेला माओवादीको नाममा माहुरी पनि सत्ता कब्जा भुन्भुनाउँदै उड्थ्यो । चराले पनि सत्ता कब्जा चिर्बिराउँथ्यो । माओवादीले पालेको घोडा पनि सत्ता कब्जा भनेर हिनहिनाउँथ्यो । तर सेलायो । र, प्रचण्डले चिच्याएर बोल्ने गरेको सत्ताकब्जाको अन्तर्यलाई केलाउँदा के फेला पर्दछ भने युद्धको उभारबाट आएको पार्टीले यदि सत्ता कब्जा गर्न सकेन वा आमविद्रोह असफल भयो भने अन्ततः जनयुद्धले प्राप्त गरेको उत्कर्ष, त्यसको अर्थ र मर्म मर्दछ भन्ने विषयमा प्रचण्ड चिन्तित थिए । लेनिनवादी मत मान्दा प्रचण्डको त्यो चिन्ता सर्वथा जायज थियो र हो । क्रमभङ्ग गर्न खोजेकै हुन् तर भएन । उनले भन्ने गरेको ‘क्रान्तिको बाँकि कार्यभार पूरा गर्ने’ मोह त्यहीबाट चुक्यो । अर्थात् जनयुद्धको मर्मको हत्या पनि त्यहींबाट अन्त भयो । यसैबाट माओवादीको राजनीतिक कोर्स फेरिएन मात्र ‘यू टर्न’को अवस्था आयो । त्यतिबेलाको प्रचण्डको प्रस्ताव लेनिनकालीन बोल्सेभिकहरुले जस्तो क्रमशः स्वीकार गर्ने स्थिति मात्र बनिदिएको भए पनि माओवादी छिन्नभिन्न हुने अवस्था सायद आउँदैनथ्यो कि ? अब त यो प्रसङ्ग नै औचित्यहीन छ भन्नुभयो तपाईले भने म मान्छु ।
रुसी अक्टोबर क्रान्तिको ठीक दुई वर्षपछि हुनपर्छ भारतमा कम्युनिष्ट पार्टीले औपचारिकता पाएको । ७० वर्षअघि पनि भारतमा कम्यूनिष्ट पार्टीको वैचारिक, साङ्गठनिक उभार आएको इतिहास छ । सन् १९३३ मा चीन लगायतका देशहरुको आग्रहमा बनेको नयाँ कम्यूनिष्ट केन्द्र यहाँ सम्झनु युक्तिसङ्गत हुन्छ । तर, त्यसको बीस वर्षसम्म भारतीय कम्युनिष्ट पार्टीले विचारधारात्मक आन्दोलन हाँक्न र आफ्नै राजनीतिक कार्यक्रम ल्याउन समेत नसकेर ‘सङ्घर्षभन्दा चुनाव ठीक’ भनेको बिर्सन मिल्दैन । अर्थात् उनीहरु चुनावमा गए । केही हड्ताल र आन्दोलन भए पनि त्यो विचारभन्दा संगठन जोगाउने मेसो मात्र हो भन्छन् आलोचकहरु । हेर्नुहोस् त पछाडि फर्केर, पहिलो संवधानसभाबाट वानेश्वरमा भेला भएको खैरो कोटधारीहरु अभिव्यक्ति केलाउनुहोस् त । कस्तो नमिठो संयोग । सन् १९५६ मा भारतीय कम्यूनिष्ट पार्टीलाई संशोधनवादको अन्तर्राष्ट्रिय प्रमाणपत्र मिलेको मान्छन् माक्र्सवादी पण्डित भन्नेहरु । नेपालकै क्रान्तिकारीहरुले घोक्रो सुकाएर कुनैबेला यसैको उदाहरण दिन्थे संशोधनवाद भन्नका लागि । हो, नेपालको कम्यूनिष्ट पार्टीको मुख्यालय भारतको वाराणसीमा हुँदा नै संशोधनवादी भारतीय कम्यूनिष्टको सानिध्यमा थियो । उता भारतको अमृतसरमा भारतीय कम्यूनिष्ट पार्टीले विधानबाट बर्गसङ्घर्षका लागि बल प्रयोग हटायो, यता नेपालमा कम्यूनिष्ट पार्टीको दोस्रो सम्मेलनपछि केशरजंग रायमाझीको उदय भयो । यो विषयम पनि बहस गरौंला । बाँकि उतारचढावमा नजाम् । भइरहने कुरा हुन् । यो दृष्टान्तले संशोधनवादको ‘कनेक्सन’ खोज्न रावणको नाभी ताछ्न पनि पर्दैन, अश्वत्थामाको मणी निकाल्न पनि पर्दैन र कर्णको कवच उखेल्न पनि पर्दैन भन्दछ ।
हामी ठीक त्यही ठाउँमा आइपुगेका छौं जहाँ भारतमा राजेश्वर रावहरु जवाहरलाल नेहरुको नेतृत्वमा प्रगतिशील जनवादी क्रान्तिको कार्यभारत पूरा भइरहेको देख्दथे । त्यहींबाट ‘संसद्मा पुगेर समाजवादी क्रान्ति छेडिन्छ’ वा पूरा हुन्छ भन्दथे । अर्थात् त्यतिबेलाको भारतका सुन्दरैया र गोपालनहरुको नेपाली संस्करण बनेर बैद्य र विप्लवले प्रचण्डको बाटो छेक्ने दुस्साहस गरे, डाँगे र राजेश्वरका संस्करण बनेर प्रचण्ड र बाबुराम कमरेडहरु स्थायी संसदीय शक्ति बन्ने बाटोमा लागे । यही हो चूरो कुरो । अब त ‘सुँगुरको खोरमा जाने बाटो’ पहिल्याएर मोहन बैद्यले ‘टाउको मात्र दुईवटा हो मुटु एउटै हो’ समेत भनिसकेका छन् । संगठन त त्यस्तै हो विचारमै टाक्सिएको यो दृष्य सर्वथा नमिठो छ । सङ्केत के भने ठाउँ पाए हामी पनि हूलमूलमा जीउ र अनिकालमा बीउ जोगाउन तयार छौं । कठै !
नेतृत्वलाई सबैले बिन्ती बिसाए हुन्छ, जुनजुन पात्र र प्रवृत्तिलाई संशोधनवादीको दोसल्ला ओडाइएको छ त्यसैको पिछलग्गु भएर हिंडेपछि अरुलाई गाली नगरम् । दिमाग ठाँउँमा ल्याए हुन्छ, प्रकाश करात र सिताराम यचुरीहरु जहाँ भाइचारा खेल्छन् त्यहाँ फल्ने भनेकै संशोधनवाद हो । नपत्याए यचुरी र करातहरुले पाँच वर्षअघि भएको उनीहरुको बीसौं राष्ट्रिय कङ्ग्रेसबाट ‘क्रान्तिका लागि परिस्थति बन्ने आशा समाप्त भएको’ र ‘बल प्रयोगमार्फत सर्वहारा आन्दोलन असम्भव’ भएकाले ‘शान्तिपूर्ण तरिकाबाटै समाजवादमा पुग्न सकिने’ दास्तावेज पारीत गराएका होइनन् ? यसको लगत्तै माओवादीले हेटौंडाबाट उत्पादन ब्रिगेड र आर्थिक समृद्धिको फुर्को जोडेर शान्तिपूर्ण संसदीय अभ्यासबाटै समाजवादको लक्ष्य प्राप्त गर्ने परिकल्पना गर्वका साथ घोषणा गरेको होइन ? कस्तो अचम्म । कस्तो संयोग, मौलिक समाजवादको परिकल्पना गरिएको दस्तावेज नै हूबहू मिल्ने ।
त्यसैले हिजोका दिनमा को उग्रवामपन्थी, को संङ्कीर्णतावादी, को दुस्साहसवादी, को संसोधनवादी भनेर शब्दजालमा अल्झनुको अर्थ छैन । सबैखालको वाद क्वाँटी बनेर एउटै डालोमा टुसाईसकेको बेला आफ्नो आफ्नो कचौरा बोकेर सत्ताको ‘सूप’ पिउन लागे हुन्छ । तर कृपया, फलानो यो वादी, ढिस्कानो यो बादी भनेर लोकलाई मनोरञ्जन नगराउन चाँहि आग्रहै गरिन्छ । ठाडै भन्दिनुस्, अबको बाटो निःसन्देह बजार समाजवादको हो । नपत्याएर सुखै छैन । तर के जाती शताब्दीको पनि नयाँ समाजवादी क्रान्तिको गफ नचुटौं । निजीकरण र उदारीकरणको तीब्र बेगमा समाजवादी हौवा फिजाएर कार्यकर्ताको गिदीमा विकार घोल्नुभन्दा सपाट र सिधा लाइनमै आफ्नो बाटो र गन्तव्य बताइदिंदा सबैको कल्याण हुन्छ । किनकि, थोत्रो सडकमा थोत्रो मोटर कुदाउन भन्दा नयाँ सडकमा नयाँ मोटरको रफ्तार बढी हुन्छ ।
आगे, सबैको जय होस् ।
३ कार्तिक २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको