यहाँ भिड छ । अकलात्मक भिड । जिवनको अस्वस्थ भागदौडमा ब्यस्त छ ।
नियाली रहेछु ठूलो पार्क सङ्गै राखिएको सानो एरियाको साइकल पार्किङ्गमा बसेर । म मौन छु बाहिरी आवरणमा तर मनभित्र अनगिन्ती प्रश्नहरु, बहसहरु, तर्कहरु र उत्तरहरु एकै साथ गुन्जिएका छन । यी भिडमा । यी भौतारिएका मेरा पात्रहरु र म स्वयममा ।
मेरा यी पात्रहरु अज्ञात छन अपरिचित छन । तर म उनिहरुलाई कहि कतै चिनेको छु कारण उनिहरु पनि नेपाली हुन । मेरै देशका नागरिक । उनिहरु पनि म जस्तै कुनै बाध्यता या अन्य कारणले यो बिरानो मुलुकमा आफ्नो श्रम खर्चिन आएका छन ।
म स्मरण गर्छु जीवन भोटो र कात्रो बिचको लडाइ हो जुन लडाईको मैदानमा हामी छौ । एउटा कात्रोको लागि लडाई र यो मैदान । मलाई यो सहर उदेकलाग्दो उदासिनतामा रुमलिएको जस्तै लाग्दै छ ।
मेरा अनुभूतिहरु यस शहरका चित्रहरु र पात्रहरु सङ्ग असहमतीका भाव बिहल बेदनाहरु पोखी रहेका छन ।
भनिन्छ चिहानघाट चिन्तन गर्न एक उपयुक्त स्थान हो । मलाई यो शहर एक चिहानघाट जस्तै लाग्दैछ । म एक अध्यात्मिक तर्क गरिरहेको छु जो मेरा अगाडि देखिएका मेरा पात्रहरुको क्रियाहरु लाई नियाल्दै । यस्तो लाग्छ मेरा पात्रहरु चिहानघाट देखि ब्युझिएर मानवरुपी सपना बोकेर निष्फिक्र फिरिरहेका छन । कसैको प्रवाह नगरी।
मनले प्रश्न गर्न थाल्यो, यी कलिला दिमाग फक्रि रहेका नौ जवानहरु, यो उदेकलाग्दो सहरमा किन आए होलान ? यी शरीर कति दिनका लागि आएका होलान ? र के का लागि ?
हरेक पौरखी नेपाली युवाहरुको सपना खाडीमा बिलाई रहेको छ, फलस्वरूप खाडी बिकाशको उत्कर्षमा पुग्दैछ। उता आफ्नो देश बाँझो बन्दै छ। यहि देशको भाग्य अनि नेपाली युवाहरुको भबिस्य, जो बाध्यता र वसताको भुमरीमा फसेको छ।
यिनै पात्रहरु या भनौ अल्लारे युवा युवतीहरु यो उदास मौसममा रमाइलो गर्नका लागि आएका हुन । असल मानिस बन्ने इच्छा सदिच्छा त्यागेर आएका हुन । एकोहोरिएको नजर साइकल स्ट्याण्ड देखि पछाडी रहेको क्यारिफोर तिर लैजान मन लाग्छ ।
वो हो ! लफंगा लाग्ने मानिसहरुको हुल अनियन्त्रित रुपमा बाटो काट्दै छन । कोहि युवा युवती अन्कमाल गर्दै कुनै निष्फिक्र दुनियाँमा आफ्नै सुर कसेका छन । जो यो देशको नियम कानुन संग सौदाबाजी गर्ने हर्कत लाग्छ।
हे रमेश त किन यहाँ आइस र मौन रुपमा अरु प्रती नजर अन्दाज लगाउदै छस ? बाबू आमाको स्वप्न साकार पार्न र यो जीवनको उज्जलता र सफलताको लागि आएका होइनन र यी ? तर हेर त लफंगा लाग्ने मानिस झै अरोचक निराश जिबन देखि बिमुख हुँदै गरेका यी चिहानघाटका मानवहरुलाई ।
मेरो मन झन स्थिर रहरदैन । मेरा आँखा मेट्रो पार्कको कुनामा प्रचण्ड घामको तेज सहन गर्न नसकी छायांको साहारा लिएको युवा तिर जान्छ । म हेर्छु उसलाइ उ फोनमा बोल्दै छ । यता उता चिहाई रहेको छ । सायद उ कसैको प्रतीक्षामा होला । यी मानव सागर सामु उसले पनि आफ्नो परेदेशी ट्याम्प्रोरी जोडिलाई पर्खिरहेको हुनुपर्दछ ।
यस्तै सोच्दै उसतर्फ हेर्दै थिएँ । उसले गोजिदेखि चुरोट र लाइटर निकालेर निकै डराएको भानमा चुरोट सल्क्यायो । उसलाई थाहा हुनुपर्दछ यो मुस्लिमहरुको चाड रमाजानको महिना हो । त्यसैले उ डराएको होला । तर उसलाई नियम कानुनको मतलब थिएन।
पानी समेत खुल्ला ठाउँमा पिउन नपाइने बेलामा उसले त चुरोट पिउदै छ । मलाई याद छ केही पहिला मेरो एक साथिले गर्मीले अतालिएर पानीको प्यासमा भौतारिएर क्यारिफोर देखि एक बोत्तल पानी किनि ट्वाइलेट भित्र गएर पिएको ।
मनमनै भने हे पुरुष तिमी आफ्नो ख्याल किन गर्दैनौ ? आखिर किन मानिस आफ्नो ख्याल गर्दैन यहि सोच्दै थिएँ । नजरलाई पार्क तर्फ सोझ्याउछु जहाँ मेरा असन्ख्य पात्रहरु छन । जो कोहि ग्रुपमा छन भने कोहि कसैको प्रवाह नगरी आफ्नै अजिब जीवनमा रसलिला बुन्दै छन । यो बिरानो मैदानमा ।
के यिनिहरु श्रीमान श्रीमती होलान त ? त्यही बिचमा एक युवा आउछन । उनका आँखा राता राता छन । बोली राम्रो सङ्ग फट्किएको छैन तर उसको आवाज चर्को छ । उ सोमरसको तालमा छ । यहाँको नियम कानुन मिचेर आफ्नै कथित नियम कानुनमा रमाएका मेरा अपरिचितहरु । मलाई लाग्यो उनिहरु आफ्नो जीवनको अस्तित्व नै भुलेका छन या भनौ उनिहरुको अस्तित्व नै छैन ।
युएइको कानुन सामु अनैतिक हर्कत गर्नेहरुलाई कानुन लाग्छ र यस्तै क्रियाकलापका कारण धन कमाउन आएका नेपालीहरु युएइको जेलमा बन्दि जिबन बिताइरहेको खबर मिडियामा दैनिक सुन्ने गर्छु। लाग्यो शायद यस्तै भएर हुनुपर्छ।
हरेक पौरखी नेपाली युवाहरुको सपना खाडीमा बिलाई रहेको छ, फलस्वरूप खाडी बिकाशको उत्कर्षमा पुग्दैछ। उता आफ्नो देश बाँझो बन्दै छ। यहि देशको भाग्य अनि नेपाली युवाहरुको भबिस्य, जो बाध्यता र वसताको भुमरीमा फसेको छ।
यो अमुर्त अच्युक भिडमा यो मसानमा छरिएका मेरा पात्रहरुले सायद भोलि देखेका छैनन होला । त्यसैले भोलिका लागि भनेर बर्तमान गुमाउदै छन । सास्कृतिक बिचलनको सिकार भएका छन । यत्तिकैमा मलाइ यी मेरा अल्लारे पात्रहरुलाई यहि छोड्न मन लाग्यो । मन भरी आफ्नो देश र नागरिकलाई कल्पनाको दृश्यबाट हटाउदै साइकल पार्किङ देखि जुरुक्क उठेर म आफ्नो कक्ष तिर सोझिएँ ।
प्रतिक्रिया दिनुहोस