प्रचण्डले भेटेको चड्कन र झलनाथले खाएको झापुको सम्झना


                                      लेखक

पुरुषोतम लमसाल

सन् २००८ मा बगदादमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश माथि जुत्ता हानियो । जुत्ता हान्ने पत्रकार अल जाइदी नायक भए । केही इराकीमा उनको जयजयकार भो । तर अमेरिकाप्रति इराकी जनताको आक्रोशको हल निकालिएन । यो बिदेशको एउटा दृष्टान्त मात्र हो ।

”भित्रभित्रै निस्सासिएर गुम्सिएर ‘म्याग्मा’ जस्तो भइसकेपछि त्यो कहीं पनि कुनै पनि रुप र अवतारमा प्रकट हुन्छ । धन्न ! हामीले त्यो अवतारमा अहिलेसम्म हिंसक ब्यवहार मात्र भेटेका छौं, हिंसा नै भोग्नुपरेको छैन ।”

 

नेपालमा नेताहरुमाथि यस्ता असन्तोष धेरैपटक प्रकट भएका छन् । यसलाइ असन्तोष प्रकट गर्ने उदण्ड शैली मात्र म भन्दिन । किनकि आम मान्छे गुनासाको पोको फुकाउन नेताहरुको दैलो चाहार्दै करजोरी बिन्ति बिसाउँदै हिंड्दैन । भित्रभित्रै निस्सासिएर गुम्सिएर ‘म्याग्मा’ जस्तो भइसकेपछि त्यो कहीं पनि कुनै पनि रुप र अवतारमा प्रकट हुन्छ । धन्न ! हामीले त्यो अवतारमा अहिलेसम्म हिंसक ब्यवहार मात्र भेटेका छौं, हिंसा नै भोग्नुपरेको छैन ।
सात वर्षअगाडि एमाले नेता झलनाथ खनालको पुक्क परेको गाला देवीप्रसाद रेग्मीले चड्काए । राजनीति गर्नेहरुप्रतिको त्यो घृणा र आक्रोशको उपचार खोजिएन बरु सामान्य किसान रेग्मीलाइ कठघरामा उभ्याइयो । इटहरीमा केही एमाले कार्यकर्ताले रेग्मीलाइ भाकभुक पारेर झलनाथको शिर उँचो त न त्यतिबेला भयो न आज भएको छ ।

”हाँस्दाहाँस्दै रुन जान्ने र रुँदारुँदै हाँस्न जान्ने’ प्रचण्डलाइ ‘रुनु न हाँस्नु’ बनाउने पदम कुँवर खासमा एउटा प्रतिनिधि पात्र थिए ।”

भृकुटीमण्डपको सार्वजनिक कार्यक्रममा प्रचण्डको गाला चड्काउने वाग्लुंगे पदम कुँवर थिए । प्रचण्डसँग उनको जानी दुश्मनी थिएन । थियो त प्रचण्डले बिर्सिएका वा बिर्सन थालेका मुद्दाहरुलाइ सम्झाउने वा सम्झना दिलाउने अराजक आक्रोश। खासमा त्यो निराशाको अभद्र अभिव्यक्ति नै थियो । तर त्यो घृणा र आक्रोश केही माओवादी कार्यकर्ताले कुँवरलाइ कुटपिट गरेर निमिट्यान्न भएन । ‘हाँस्दाहाँस्दै रुन जान्ने र रुँदारुँदै हाँस्न जान्ने’ प्रचण्डलाइ ‘रुनु न हाँस्नु’ बनाउने पदम कुँवर खासमा एउटा प्रतिनिधि पात्र थिए र उनको आवेग एउटा दृष्टान्त थियो ।
डाक्टर बाबुराम भट्टराईमाथि पनि जुत्ता प्रहार भएकै हो । म हिरो हुन्छु र चर्चा पाउँछु भनेर मात्र सञ्जीव भट्टराईले बाबुराममाथि पक्कै जुत्ता हानेका थिएनन् । एउटा भट्टराइले अर्को भट्टराइलाइ जुत्ता हान्नु मात्र त्यो घटनाको आयाम होइन । त्यसमा समाजको मनोग्रन्थी नै सपाट भएर घुलेको थियो । बाबुरामको शिर निहुरिंदा अरु त हाँसे होलान् तर सन्जीव भट्टराइ हाँस्न नसक्नुको पीडा सायद बाबुरामले पनि पढेनन् । बाबुराम ! अहिलेको चुनावी मोर्चाबाट हिजोका सन्जीव भट्टराइहरुको निराशामा मल्हम लगाउन सक्छौ ? आजको प्रश्न हो यो ।
कपनको एउटा कार्यक्रममा नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति सुशिल कोइरालामाथि कांग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमण गरे । त्यो बिद्रोह थिएन दल र दलका नेताप्रतिको वितृष्णा थियो । तर त्यो वितृष्णाको जरा खोजिएन । समयले कोइरालालाइ अवसर दियो र उनले प्रवेश वस्नेतहरुलाइ एक थान संविधान दिलाउने श्रेय लिएर परलोक सुधारे । यसमा यत्ति नै ।

”पदम कुँवरलाई प्रचण्डले माफी दिए । एमाले नेता झलनाथ खनालले पनि आफुलाई झापड हान्ने देवीप्रसाद रेग्मीलाई माफी दिए । सुसिल कोइरालामाथी आक्रमण गर्ने बस्नेतले पनि माफी पाए । भोली निर्मलाले पनि माफी पाउलिन । तर माफी मात्र निराशाको हल होइन ।”

माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पनि तीनकुनेस्थित एक चिया पसलमा प्रेमराज देवकोटाको गतिलै चड्कन भेटेका हुन् । ‘संविधान बनाउन बिलम्व भो’ भन्दा झक्कु कमरेडले झापड भेट्नु र समृद्धिको सपनालाइ पत्यार लाग्दो बनाउन नसक्दा बाबुरामले जुत्ताको झट्टी खानुको कारण एउटै हो निराशा र आक्रोश । यो पाली हिमाल शर्मालाइ च्याम्पटी बनाएर फेरि चुनावी मैदानमा आएका झक्कु महोदयले प्रेमराज देवकोटाको झाप्पु सम्झनुपर्छ । र, भन्नुपर्छ मलाइ बाटो देखाउने तिनै प्रेमराजहरुलाइ साक्षी राखेर आइन्दा म जनताको आशा र अपेक्षासँग खेल्दिन र अरुलाइ पनि खेल्न दिन्न ।

पदम कुँवरलाई प्रचण्डले माफी दिए । एमाले नेता झलनाथ खनालले पनि आफुलाई झापड हान्ने देवीप्रसाद रेग्मीलाई माफी दिए । सुसिल कोइरालामाथी आक्रमण गर्ने बस्नेतले पनि माफी पाए । भोली निर्मलाले पनि माफी पाउलिन । तर माफी मात्र निराशाको हल होइन । निराशाको  उपचार नेताहरु भरोशा गर्नलायक बन्नु हो । जनताका मुद्दामा खरो उत्रन नसके चड्कनभन्दा ठूलो बज्रपातले सधैं मूलबाटो कुरिरहेको हुन्छ। अरु सयौं निर्मलाहरु तयार हुनुअघि जनार्दन शर्माहरुले निर्मलाहरुको आशा र अपेक्षाहरुमा पौडिएर आफूलाइ सत्ताको तर चाट्नमात्र अभ्यस्त राख्नुहुन्न । नत्र हिजोको आफ्नै ‘काशन’को प्रतिध्वनी ‘बुमर्यांग’ हुन्छ । त्यो बेला न माफी माग्ने समय हुन्छ न माफी दिने ।

२ मंसिर २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको