मुख्यमन्त्रीका लागि प्रदेश १,३,४ र ७ मा एमाले र अन्य बाँकी प्रदेशमा माओबादीबाट हुने सहमति


प्रदेश ७ को समानुपातिकको मतगणना सकिनै लाग्दा मुख्यमन्त्री को बन्ने भन्ने पनि चर्चा हुन थालेको छ । प्रदेश ७ मा प्रदेशतर्फ प्रत्यक्षमा वाम गठबन्धनको दुई तिहाइ मत पुगेको छ । प्रदेशका ३२ सिटमध्ये एमालेले १७ र माओवादीले १० गरी २७ सिट जितेको छ ।

चुनावअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले प्रदेश ७ को मुख्यमन्त्री एमालेबाट हुने सहमति गरेका थिए । त्यसबेलाको सहमतिअनुसार प्रदेश १, ३, ४ र ७ मा एमालेबाट मुख्यमन्त्री हुने र त्यस बाहेकका प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनाउने सहमति भएको एक जना एमालेका नेताले बताए ।

प्रदेश ७ मा एमालेबाट पूर्वकृषिमन्त्री तथा एमालेका प्रदेश सहसंयोजक कर्णबहादुर थापाको नाम चर्चाको अग्रस्थानमा छ । एमाले स्रोतका अनुसार चुनावअघि उनलाई नै मुख्यमन्त्री बनाउने भनेर बाजुराबाट समानुपातिक सूचीमा राखिएको छ । थापा समानुपातिक सूचीको १ नम्बरमा छन् ।

थापाले चुनावका बेला गरिएको पत्रकार सम्मेलनमा पनि पार्टीले मुख्यमन्त्रीका रूपमा आफूलाई अघि सारेको स्विकारेका थिए । तर, एमालेले चुनावअघि मुख्यमन्त्रीको घोषणा गरेरै चुनावमा गएमा भोटमा फरक पर्न सक्ने आकलन गर्दै थापाका बारेमा सार्वजनिक रूपमा केही बोलेको थिएन ।

तर, समानुपातिकको पछिल्लो मतपरिणामअनुसार प्रदेशसभामा ३३ प्रतिशत महिला पु¥यानै पर्ने संवैधानिक व्यवस्था भएकाले एमालेबाट समानुपातिकमा पुरुष चयन नहुने हुन कि भन्ने चिन्ता गरिन थालिएको छ ।

प्रदेश ७ मा प्रदेशका लागि एमालेबाट प्रत्यक्षतर्फ कुनै पनि महिला निर्वाचित भएनन् । विश्लेषकहरू एमालेको भागमा समानुपातिकबाट ८ जना प्रदेश सांसद भागमा परे पनि मुख्यमन्त्रीका दाबेदार थापा नपर्ने हुन कि भन्ने एमालेमा चिन्ता बढ्न थालेको छ । ‘पछिल्लो परिणामअनुसार दुई÷तीन जना पुरुष पर्छन् कि भन्ने आशा गरेका छौं’, एमाले नेता दीपकप्रसाद देवकोटाले भने ।

एमालेबाट थापा समानुपातिकमा नपरेपछि त्यसपछि मुख्यमन्त्री को बन्ने भन्ने पनि बहस हुन थालेको छ । कर्ण थापापछि मुख्यमन्त्रीका लागि दोस्रो पुस्ताका युवा नेताहरूको पनि चर्चा सुरु हुन थालेको छ । पुरुषमा कैलालीका पार्टी अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका पार्टी अध्यक्ष तारा लामा र महिलाबाट कञ्चनपुरबाट समानुपातिक सूचीमा रहेकी निरु पालको समेत चर्चा हुन थालेको स्रोतले बताएको छ । कञ्चनपुरबाट समानुपातिकको १ नम्बरमा रहेकी निरुपाल पार्टी केन्द्रीय सदस्य हुन् । उनी महेश बस्नेत मन्त्री भएपछि युवा संघको अध्यक्षसमेत भएकी नेतृ हुन् ।

‘पार्टीभित्र अहिले नै मुख्यमन्त्रीका लागि छलफल भने सुरु भइसकेको छैन, पार्टीले छलफल चलाउँछ, यसबारेमा शीर्ष नेताहरूबीच पनि छलफल हुन्छ, अहिले त समानुपातिकको नतिजा नै आइसकेको छैन’, एमाले नेता महेश्वर पाठकले भने ।

एमालेबाट मुख्यमन्त्रीका लागि ‘हेभिवेट’ नभेटिएपछि माओवादी केन्द्रलाई दिँदा कसलाई दिने भन्ने चर्चा पनि सुरु हुन थालेको छ । माओवादी केन्द्रका प्रदेश ७ का इन्चार्ज तथा स्थायी कमिटी सदस्य लेखराज भट्ट भन्छन, ‘थारूबाट वीरमान चौधरी र हरिराम चौधरी पनि मुख्यमन्त्री हुने हैसियतका नेता हुन् । उता पहाडमा त्रिलोचन भट्ट र झपट बोहरा पनि छन् ।’ तर उनले पनि अहिले नै मुख्यमन्त्रीको बारेमा पार्टीभित्र पनि छलफल सुरु भइनसकेको बताए ।

वीरमान चौधरी सशस्त्र युद्ध सुरु भएदेखिकै नेता हुन् । उनले पार्टीको तल्लो कमिटीदेखि नै धेरै जिल्लाको इन्चार्ज भएर काम गरिसकेका छन् । उनी माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य पनि हुन् । त्यस्तै हरिराम चौधरी पार्टीका पोलीटब्युरो सदस्य तथा थारूवान् राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन् ।

कांग्रेसमा मुख्यमन्त्री बन्ने सम्भावना न्यून छ । कांग्रेसले प्रदेश ७ का ३२ मध्ये ४ स्थानमा मात्र जितेको छ । कैलालीको निर्वाचन क्षेत्र १ बाट जितेका रणबहादुर रावल मुख्यमन्त्रीका दाबेदार भए पनि उनको पार्टीका चार सिटले कांग्रेस प्रतिपक्षमा बस्नेछ ।

अन्नपूर्ण पोष्ट बाट 

२०७४ पुष २,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको