प्रचण्डको ‘घन्टी’ र समाजवादको ‘बाँसुरी’


पुरुषोतम लम्साल,

गत बुधबार फेरि एउटा कम्यूनिष्ट पार्टी अर्को कम्यूनिष्ट पार्टीमा समाहित भयो । अर्थात् अर्को एउटा कम्यूनिष्ट पसल घट्यो । नेकपा माओवादी केन्द्रमा नेकपा (संयुक्त) समाहित भएको सन्दर्भ हो यो । चुनावको बाली लाउने समयमा अक्सर यस्ता रासायनिक र प्राङ्गारिक मलहरु छरिने र जोडिने चलन नयाँ होइन । एकता प्रक्रिया, वाम धु्रवीकरण जस्तो सकारात्मक शब्दभित्र विषादी खोजेर म सरासर फूटपरस्त बन्न म चाहन्न । कुन तथ्य चाँहि मान्छु भने, ‘थ्रेसहोल्डको खड्गमा काटिने पक्का भएपछि भुरेटाकुरे दल र वामपन्थका खुद्रा पसल थापेर बसेकाहरु ठूलो बृक्षको वा चहकिलो घामको ओत लाग्ने र ताप ताप्ने’ क्रमचाँहि चलेकै हो ।


त्यही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गज्जबको ‘घन्टी’को प्रसङ्ग निकाले । बैद्यको क्रान्तिको घन्टी, बाबुरामको आर्थिक घन्टी, मशालको प्यूठाने घन्टी, चित्रबहादुरको वाग्लुंगे घन्टी, भक्तपुरमा बिजुक्छेको घन्टी, सिपी मैनालीको अर्को घन्टी अनि माओवादी केन्द्रको चाँहि गतिशील र परिवर्तनकारी घन्टी । घन्टीको आकार फरक होला, धातु फरक होला, ध्वनी फरक होला तर सुर चाँहि एउटै हो भनेर बुझ्न काशी जानै पर्दैन । प्रचण्डको भनाईको सार चाँहि ‘म कहाँ कहाँ पुगिसकें, मेरा साम्यवादी गुरुहरु एकै ठाउँमा बसेर त्यही घन्टी बजाइरहेका छन्’ भन्ने थियो । बडो स्वच्छन्द भएर प्रचण्डले त्यसो भन्दा डबल मोहन (मोहन बैद्य र मोहन विक्रम सिंह), चित्रबहादुर र नारायणमान विजुक्छेहरुलाई खाइस् ! र खुच्चिङ !! भन्नेहरुले थपडी बजाए । तर संसारकै उडान भरे पनि गाडिने त जमिनमै रहेछ भन्ने चाँहि तत्कालका लागि सबैले बिर्सिए ।
प्रचण्डले गतिशीलताको, विद्रोहको, वीरताको, क्रमभङ्गको, परिवर्तनको जत्रै र जतिसुकै घन्ट बजाए पनि आखिर हिजो आफैंले भनेको ‘कम्यूनिष्टको नाममा हिलो’ र ‘संशोधनवादको आहाल’ एमालेमा समाहित भएर नयाँ उडान भर्न खुट्टा उचालेर बसिरहेको सबैले बिर्सिए । अझ बढी, ‘एक्काइसौं शताब्दीको समाजवादी क्रान्तिको नयाँ मोडेल विकास गर्ने’ प्रतिवद्धतालाई सबैले पत्याइदिएर करतल थपडी बजाइदिएपछि त के चाहियो … प्रचण्ड धाराप्रवाह बग्न थाले ।


सङ्घीय नेपाल पहिलो प्रादेशिक र केन्द्रीय तहको निर्वाचनको ढोकामा छ । अब निर्वाचन हुन्छ । एकाध दिनमा भवितव्य नभए माओवादी केन्द्र र एमाले गठबन्धन हुन्छ । यही निर्वाचनले संविधानसभाको पूर्ववर्ती संरचनाको विकल्प दिन्छ । वर्तमान राज्यव्यवस्थाको मूल चरित्रको पहिलो निर्वाचन भएकाले यसमा बाजी मारेर स्थायी सत्तामा पकड जमाउन यथासक्य प्रयत्न सबैले गर्छ । यो प्रयत्नभित्र रुप, चरित्र र स्वभावमा जो समान प्रकृतिका छन् तिनीहरु मिल्नु स्वभाविक र आवश्यक दुबै हुन्छ । यसलाई एउटा डाँडामा दामाहा, अर्को डाँडामा सहनाई, अर्को डाँडामा टेम्को, अर्को डाँडामा नरसिङ्गा बजाउनुको अर्थ रहँदैन बरु एउटै थुम्कोमा मिलेर आफ्नो आफ्नो बाजा बजाए पञ्चेबाजा हुन्छ भनेर बुझम् ।

तर, एकता र एकीकरण अभियानका अभियन्ताहरुले राजनीतिक सिद्धान्त र वादको चर्चा गर्दै अब पनि अरुलाई फलानो र ढिस्कानो भनेर आरोप लगाइरहँदा अनौठो लाग्ने रहेछ । एउटा रुप र चरित्रबाट अर्को रुप र चरित्रमा सङ्क्रमण हुनु ठीकै होला तर यसैमा ‘म बाहेक अरु सबै वेठीक, अरु सबै दोषयुक्त छन्’ भन्दा चाँहि हनुमानहरु नहाँसे पनि लोक हाँस्छ । त्यसमाथि अझ अर्को नयाँ समाजवादको, अर्को नयाँ क्रान्तिको बाँसुरीको धून खासै श्रवणीय पनि नहुने रहेछ । आफूलाई मूलधारको भनेर दावी गर्ने कम्यूनिष्ट आन्दोलनको एउटा हिस्सा बुर्जुवा विचारधाराबाट सङ्क्रमित हुँदा पनि छाती फुलाउँदै अरुलाई खिसिट्यूरी गरेर मज्जा लिने ‘प्रचण्ड प्रवृति हुनुहुँदैन’ भन्नु मेरो आशय हो ।

 

अब पनि सर्वहारा क्रान्ति ? अझै पनि समाजवादी क्रान्ति ? अब को कुन वादी ? असोज १८ पछिका बड्का नेताका अभिव्यक्ति केलाउँदै आएका मित्रले विष्मय प्रकट गरे । हाम्रो लोकतन्त्रको आँगनमा उभिएर अझै बर्गमुक्त समाज र समतामूलक व्यवस्थाको भाषण कसरी सम्भव छ ? तिनको प्रश्न थियो । पेशागत राजनीति नगर्नेहरुलाई यस्ता प्रश्नको सान्दर्भिकता रहन्न । तर व्यक्तिगत विचार त होला नि भनेपछि गिदी चिलाएको हो । त्यसैले आजको बसाई अस्तीको नेकपा (माओवादी) वा हिजोको नेकपा माओवादी केन्द्र र सम्भवतः भोलीको भित्रिया एमालेले पृष्ठभूमिमा गरेका अभिव्यक्ति केन्द्रित छ ।
नेकपा माओवादी हतियार बिसाएर शान्ति प्रक्रियामा आयो । आजको परिवर्तनको ठूलो मुहान हो त्यो । रातो र तातो रगतले सिञ्चत मुहान । मुहान र नदीको भेद नै त्यसको धार र त्यसले बगाउने वा बोक्ने कुँडाकर्कटमा हुन्छ । त्यता नजाम् । संविधानसभाको निर्वाचन भो । उसैले जित्यो । तर क्रान्तिकारी चरित्रसहित युद्धबाट खारिएर खाएको राजनीतिक र फौजी लडाकू दस्ता सत्तामा आसन जमाएसँगै विचारच्यूत हुँदै गयो । र, अन्ततः क्रान्तिकारी चरित्रबाट पनि विमुख भयो । र, अन्ततः कार्यदिशारहित भएपछि ‘विघटनमा जाने’सम्मको अवस्थामा पुग्यो । यो तथ्य हो । यो तथ्यभित्र त्यसभित्रका बुद्धिजीवी बर्ग सुखसुविधाको भूलभुलैयाले राज्यसत्ताका अङ्ग र त्यसका अवयवमार्फत् सुविधाको दोहनको जिम्मेवारी नै लिएर उनीहरुकै भाषामा घोषित सभ्रान्तबर्गको पृष्ठपोषणमै लिप्त भए भन्न कुनै सन्देह मान्नुपर्छ र ? नयाँ आवरणको कम्यूनिष्ट भने पनि हामीले देखिरहेको बिद्रूप दृष्य सिद्धान्ततः नयाँ नोकरशाहहरुकै हो भन्न किन हिच्काउनु ? जो आफूलाई माक्र्सवादी वा लेनिनवादी वा अरु कुनै वादको पुच्छर समातेर चिन्तक र अभियन्ताको नाम भजाएर खाइखेलो गरिरहेका छन् उनीहरुको काम पूँजीपति बर्ग र तिनीहरुको हितमा नियम कानूनको तर्जुमा गर्नु हो र त्यसलाई सकेसम्म आफ्नो स्वार्थअनुकूल प्रयोग र व्याख्या गर्नु हो । अर्थात् सरल भाषामा एउटा ‘स्वार्थप्रेरित व्यवस्थापन समूहको नयाँ नाम’ हो । उनीहरुकै व्याख्यालाई आधार मान्दा संशोधनगामी । अनि हामीले खोया देख्नु तिनबाट क्रान्तिको सपना ?
उत्पादनका साधनमा, राष्ट्रिय उद्योगधन्दामा, मौलिक हकमा सूचिकृत आधारभूत आवश्यकताका क्षेत्र, शिक्षा र स्वास्थ्यमा समेत सार्वजनिक स्वामित्व निषेध गर्दै जाने अनि गफ चाँहि समाजवादको ठोक्ने ? राष्ट्रिय अर्थतन्त्रलाई मुठ्ठीभरका व्यक्तिका हातमा सुम्पिएर वा उत्पादनका साधनमा राज्यको नियन्त्रण र लगाम खुस्काउँदै जाने अनि हामी समाजवादको घोडा दौडाउँछौं भन्ने ? गोविन्द केसीको अनशनले नपोल्ने अनि अरुकै ‘खेत’मा रामशरण महतले लगाएको समाजवादको ‘खेती’मा दौडिएर लाखौं कार्यकर्ता गूमराहमा राख्ने ? समाजवादी व्यवस्थाको सङ्क्रमणमा प्रवेश गर्नाका लागि पनि त खास खास विषय र क्षेत्रमा सार्वजनिक स्वामित्व वा प्रधानताको वकालत र पक्षपोषण गर्नुपर्ने होला नि होइन ? पार्टीलाई चन्दा, दान वा पुरस्कार ठेल्ने निजी शिक्षण संस्थाको प्रोत्साहन र सामुदायिक तथा सरकारी विद्यालयको अधोगतिले समाजवादको हँसियामा पाइन त लाउन नपर्ने हो । कि लाउँछ ? कि राज्य वा सरकारी स्वामित्वमा भएका भएभरका उद्योग तथा कलकारखानाको निजीकरणपछि मात्र समाजवादको अभ्यासको थालनी हुने हो एक्काइसौं शताब्दीको नयाँ मोडेलमा ? भन्दिए भैगो, पूँजीवादको यही उत्कर्ष नै समाजवादको प्रस्थानबिन्दू हो । त्यसैले यदि लेनिनकै शब्दमा ‘माक्र्सवादी खोलमा पूँजीवादको अन्तर्वस्तु नै संशोधनवाद हो’ भन्ने हो भने एकताको बाँसुरीबाट निस्किएको धून नै खसोखास संशोधनवाद हो । यसलाई पछिल्ला दशकमा नेकपा माओवादीबाट एकीकृत नेकपा माओवादी हुँदै माओवादी केन्द्रले चलाएको वैचारिक नामको तर ‘रोमान्टिक बहस’का केही पाता पल्टाए पुग्छ ।
अर्को एउटा गम्भीर पाटो छ बर्ग – सङ्घर्ष नामको । बर्ग – सङ्घर्ष जारी राख्ने अरे । पार्टीभित्र अन्तर-सङ्घर्ष चलाउन नसकेर त्यति ठूलो महाभारत भएको देख्नेलाई बर्ग-सङ्घर्ष त फगत पुराणभन्दा केही होइन । केही नवक्रान्तिकारीहरु यो आरोपलाई आरोपभन्दा केही नमान्लान् । तर, हिजो एमालेले गरेको बर्ग – सङ्घर्ष देखेकालाई भोली एमाले बन्न तयार हालको माओवादी केन्द्रले जारी राख्ने भनेको बर्ग – सङ्घर्ष अर्को रुपको हुँदैन भनेर सम्झाउन खोज्नु प्रतिक्रान्तिकारी हुनु नै हो । पार्टीभित्र दुई – लाइनको सङ्घर्ष नै गुटवाद र संरक्षणवादको उत्कर्षले खुलित नबनाइदिएको भए वा फरक मत र विचारलाई नै निषेध नगरिदएको भए आज एमालेको काखमा बसेर समाजवादको लाम्टो चुस्नपर्ने नियति भोग्नुपर्ने थिएन भन्यो भने के हुन्छ ? बर्ग सहयोगको पक्षपोषण गर्ने, शान्तिपूर्ण सङ्क्रमणलाई आदर्श मान्ने र बनाउने, संसदीय व्यवस्थाभित्रै रहेर पनि त्यसका दोषहरुलाई आँखा चिम्लिएर मनमौजी बन्ने अनि गफ चाँहि अब हामी समाजवाद छेड्छौं भन्ने ? हे दैब !  (…बाँकि अर्को भेटमा ।)

 

२०७४ आश्विन ३१,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको