मधेसमा कस्लाई दिने भोट ?


-पृथीछक बुढा मगर

चुनावमा कस्ले बिजय हासिल गर्छ दुई नम्वर प्रदेशमा ? कस्लाई भोट गर्नुपर्छ मधेसीले ? बडो जटिल प्रश्न हो । यहि जटिल प्रश्न चलिरहेकै वेला दलहरुले आआफ्ना कुटिल रणनितिहरु परिचालन गरिरहेका छन् कि चुनावमा आफ्नै दलले जितोस ।

हामीले बितेको केही महिना भित्र विभिन्न प्रदेशमा भएको चुनावको माहोललाई नजिकैबाट चियो गर्न सक्यौं । केहिले कम जिते, केहिले बढी जिते ।

चुनावमा हारजित हुन्छ । अहिले आउदै गरेको असोज दुईको चुनावमा पनि कसैको बढी जित होला, कसैको कम । लोकतान्त्रिक प्रणालीको यो एउटा सुन्दर पक्ष पनि हो । हार जित नै भएन भने त्यस ब्यबस्थालाई लोकतन्त्र भनिदैन ।

अहिले दुई नम्वर प्रदेशमा चुनावको चटारो बढेको छ । धोती र कुर्ता लगाएर दलका नेताहरु भाषण गर्नमा तल्लिन देखिन्छन् । सवैको बोली मीठो छ । भाषणमा चिल्लो छ । जनतालाई भ्रम भईरहेको होला, कस्लाई भोट दिऔ ? कस्लाई चुनावमा जिताऔ ? कुन सुन ? कुन पित्तल ? छुट्टाउनै मुस्किल परिरहेको होला । सवै गोल्डेन कलरकै देखिन्छन् । को सच्चा ? को झुट ? छुट्टाउनै मुस्किल । सवै आदर्शवादी देखिन्छन् । सवै सत्यवादी देखिन्छन् । सवै प्रजातान्त्रिक देखिन्छन् । सवै बिकाशवादी देखिन्छन् । सवै राम देखिन्छन् । जनतालाई थाहा छैन, बगलीमा कस्ले छुरा छामिरहेको छ ?

बर्षौ देखि हामी जनताले त्यही वगलीको छुरा खाई खाई जीवन त्यागिरहेका छौँ ।

आज मधेसमा नेताहरुले समानताको कुरा गरिरहेका होलान । यिनै नेताले पहाड र मधेसको विचमा जातिय बिज रोपे । यिनै नेताहरुले मधेसीको मौलिक पोशाकको नामवाट `धोती´ नामक नयाँ जातको बिरारोपण गर्नमा मलजल गरे । नेपाली नेपालीको विचमा राष्ट्रिय एकताको काम होइन, बरु बिभाजनको खाडल खने ।

त्यसैले अबको मधेसी जनताले जसले पहाड र मधेसको दुरीलाई समाप्त गर्न सक्छ त्यसैलाई भोट दिनुपर्छ ।

कुनै धोती धारणी मान्छे मात्रै मधेसी नेता हुन सक्दैन । मधेसको नेता वन्न धोती र टाउकोमा पगरी गुठेर मात्रै पुग्दैन । आफुलाई मधेसी नेता भन्न रुचाउनेहरुले आफ्नै देशलाई नाकावन्दी लगाएकै हुन् । मधेसी नेता वन्न `म´ को पछाडी जोडिएको `धेस´ मधेस, र `नेपालको पछि जोडिएको देश´ नेपाल देशको विचको ब्याकरणलाई आमलाई बुझाउन सक्ने हुनुपर्छ । नत्र यहि ब्याकरणको त्रुटीको कारणले तराईमा टाउको उठाउदै गरेका पृथकतावादी तब्काहरुलाई वल पुग्ने छ ।

त्यसपछी न नेपाल रहने छ न नेपाली रहने छ ।

दक्षिण एसियाको पुर्व, पश्चिम र दक्षिणमा भारत र उत्तरमा चिनको विचमा १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर भुगोल रहेको जमिनमा दुईवटा देश छ भनिरहेका छन् आफुलाई मधेसका मालिक हुँ भन्नेहरुले । `म´को पछाडिको `धेस´ र नेपालको पछाडीको `देश´लाई एउटै शब्दको अर्थ दिनेहरुलाई मधेसी जनताले बुझाउन सक्नुपर्छ कि `धेस´ र `देश´मा व्याकरण फरक छ ।

{पृथीछकको यो सामग्री पनि पढ्नुस, १० बर्ष युद्द लडेको म, बाँकी बचेको १० बर्ष पछी खाडीमा बालुवा फुलाए, तर नेपाल उस्तै हिलोमा छ}

अब भन्नुपर्छ, मधेस र नेपाल देश फरक होइन । नेपाल विभिन्न जातजाती, धर्म, पेशाका मान्छेहरुको साझा घर हो । यस भित्र हिमाल पनि छ । पहाड पनि छ र मधेस पनि छ । मधेस त नेपालको एउटा अङ्ग हो, जसरी हिमाल र पहाड छ । हिमाल नेपालको टाउको हो, पहाड त्यसको छाती र मधेस त्यसको खुट्टा । टाउको विना उ जिवित रहन सक्दैन, न छाती विना उ रहन सक्छ । न उसको खुट्टा विना लाखौं माईलको यात्रा तय गर्न सक्छ । यहि हिमाल, पहाड र तराईलाई जसले सन्तुलन रुपमा मिलाएर राख्न सक्छ, त्यसैलाई मधेसी जनताले भोट दिनुपर्छ ।

मातृभुमीमा बिदेशीको खुनी बुटले थिलोथिलो हुँदै आएका धोती वेरेका र टाउकोमा पगरी गुठेका ती काला मान्छेहरुलाई पोशाक र रंगको आधारमा यो नेपाली हो वा होइन भनेर वर्गीकरण गर्ने कथित रंगवादी अराष्ट्रिय तत्वहरुलाई मधेसी जनताले चिन्नैपर्छ । प्रकृतिमा सातै रंगको आफ्नै विशेषता हुन्छ र इन्द्रेणीको पनि सातै रंग हुन्छ भनेर मधेसीको कालो छालाले नबिझाउने दललाई मधेसी जनताले जिताउनुपर्छ । नेपाल त्यही सातै रंगले रङ्गिएको भुमी हो, जसमा मङ्गोल पनि अटाउन सक्नुपर्छ, श्वेत पनि अटाउनु पर्छ । आर्य पनि अटाउनु पर्छ ।

हिजो छिमेकीले अनधिकृत रुपमा सिमाना मिचेर बाध कस्दा होस अथवा कालापानी र सुस्ताका भुगोलहरुमा किसानहरुको घर खेत मिचेर जङ्गे पिलर सार्दा होस, आफ्नो एक चिम्टी नेपाली जमिनको लागि रगतको खोलो वगाउने राष्ट्रवादी काले धोती को हो ? जतिखेर अहिले चुनावमा मधेस पसेका कतिपय दलका नेताहरुले प्रतिक्रिया दिएका थिए, `ठूलो मान्छे सानो माछालाई खान्छ ।´अब हिमाल, पहाड र तराईका जनताले रंगको आधारमा राष्ट्रवादी चुन्ने कि वलिदानको आधारमा । माछाले माछालाई खान्छ, सर्पले सर्पलाई खान्छ भन्नेहरुलाई जनताले सोध्नुपर्छ, `के मान्छेले मान्छेलाई खान्छ ?´

यदि खाएकै भएपनि नेपाल र नेपाली जनतालाई खान खोज्ने कुनै बिदेशी मान्छेहरुको ठूलो तागतको अगाडी उ रगत वगाउन तयार रहन्छ भने नेपालको सन्दर्भमा त्यसलाई राष्ट्रवादी नेपाली भन्ने कि नभन्ने ? यहि आधारमा मधेसी जनताले निर्णय लिन आबस्यक छ । यो पनि राष्ट्रसङ्ग जोडिएको प्रश्न हो । यसको जवाफ मधेसी जनताले खोज्नै पर्छ ।

१ आश्विन २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको