सपना तुहिएको एउटा युवक ६ बर्षदेखी खाडीमा पसिना पुछ्दै


-सुबास शर्मा

समयले मानिसलाई कुन अवस्थामा अनि कहिले कहाँ लगेर हुत्याइदिन्छ भन्ने कुरा म आज आफ्नो जिन्दगीदेखि भोग्दैछु ।

मैले नेपाल छँदा भन्ने गर्थें, जीवनमा सबै गर्छु तर त्यो खाडीमा गएर काम भने गर्दिनँ । ठूलै सपना थियो मेरो नेपालमा ।

सम्झिन्छु– त्यो १६ बर्षको उमेर अनि त्यो रेडियो मध्यपश्चिम । जीवनमा ठूलै सपनाको भारी बोकेको थिएँ मैले सञ्चारकर्मी बन्ने । अहिलेसम्म पनि मलाई त्यो सपनाको भारीले थिचिरहेको छ ।

बिस्तारै त्यो सपना पनि पूरा भयो मेरो। अझ पूरा गर्दिएभन्दा राम्रो । रेडियो मध्यपश्चिम र आदरणीय दाजु बसन्त विवश अचार्यले मेरो त्यो रेडियोको क्रेजलाई पूरा गर्दिनु भयो । त्यो बेला यति ठूलो गुण लगाइदिने दाजु बसन्त विवश अनि रेडियो मध्यपश्चिमलाई म कहिल्यै भुल्ने छैन ।

एउटा बिज्ञापनमा बोलेर सुरु भएको मेरो रेडियोको यात्रा विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिन सक्नेसम्म भएर अन्त्य भयो । रेडियोको नसामा म यति भित्रै फसेको थिएँ कि सायद त्यो बेला लागूपदार्थ लिने नसा हुन्थ्यो भने म त्यसलाई सजिलै छोडिदिन्थें । तर रेडियोलाई ? अहँ कदापि सक्ने थिइनँ ।

रेडियोको त्यो अचम्मको नसामा फसेको म हापुरदेखि तुलसीपुरको रेडियो प्रकृतिसम्म पनि दैनिक ओहोर दोहोर गरियो । आफ्नै बाइक अनि आफ्नै पैसाले तेल हालेर । फ्री मा ।

चार वर्षसम्म रेडियो मध्यपश्चिममा प्रेरक बोली भन्दै शालीनता पोखें । विभिन्न व्यक्तिलाई निम्त्याउँदै ‘नमस्कार स्वागत छ हजुरलाई कार्यक्रममा’ भन्दै बिते । अनि बिते माइन्ड टेष्ट भनेर चिच्याउँदै पनि ।

त्यसपछिका केही महिना घोराहीदेखि तुलसीपुरको रेडियो प्रकृति एफएममा बिते । दैनिक तेइस किमि ओहोर दोहोर गर्दै । न बर्खा भनियो न गर्मी।भनियो त मात्र रेडियो ।
मामाघरकी हजूरआमाको मृत शरीरलाई जलाउँदै गर्दा पनि म रेडियोमा चिच्याइरहें– विश्वकप फुटबलको बेला फिफा वल्र्डकप २०१० भन्दै । अनि गाउँमा साथीभाइ तिहारमा भैलो भन्दै गर्दा म रेडियोबाट एकोहोरो भट्याइरहें– नमस्कार भन्दै ।

घोराहीको दीपशिखा उच्च माविमा प्लस टू भर्नाको लागि व्यवस्थापनको प्रवेश परीक्षामा पास भएको म। रेडियोको नसाले विद्यानीलकण्ठ उच्च माविमा गएर पत्रकारिताको किताब समाउने बनायो । मनले बस् पत्रकार बाहेक अरु केही सोच्न सकेन ।

रेडियो क्रेजको तुइनमा झुण्डिएँ । जीवनले बिस्तारै सन्तुष्टि पाउन छोड्यो । सन्तुष्टि पाओस् पनि कसरी । बाउको पैसाले बाइकमा तेल हालेर कति दिन ओहोरदोहोर गर्न सकिदो रहेछ र !

जीवनको ऊर्जाशील समयका केही यामहरु रेडियोको माइक्रोफोन समाएर बिते । अनि बिते मनभित्रका सपनाहरु मनभित्रै पाल्दै ।

पाउनुभन्दा धेरै गुमाएँ मैले सञ्चारकर्मी बनेर । त्यो महत्वपूर्ण समय ! अझ त्यो भन्दा पनि ठूलो आफ्नो पढाइ । अरु झिना मसिनाको गिन्ती नगरौं ।

अहिले आएर सोच्छु– आखिर पाँच/पाँच बर्ष रेडियोमा काम गरेर मैले के पाएँ त ? नाम ? किन चाहियो मलाई नाम ? के का लागि त्यो नाम ? के पाएँ त मैले सुबास शर्माबाट आरजे सुबास बनेर ?

आज आएर सारै पछुतो लाग्छ ।

फेसबुकमा विभिन्न सञ्चारकर्मी दाजु अनि साथीहरुको स्टाटस हेर्छु । तिनीहरुले आफ्नो मनको पीडा अनि सञ्चारकर्मी बनेर जिन्दगी गुजार्न सकिदो रहेनछ भन्ने कुरा सिधै लेख्न नसके पनि बुझ्न भने सजिलै सक्छु म । चाहे ती न्यूज ट्वान्टी फोरका प्रेम बानियाँ हुन् चाहे पछिल्लो समय सेतोपाटीमा ‘पत्रकारको घर’ लेख्ने दाजु गजेन्द्र बोहरा । सबैको समस्या एकै छ– भोलि कसरी चलाउने जीवनको बयलगाडा भन्ने ? यदि तपाईं पनि सञ्चार क्षेत्रमै आबद्ध हुनुहुन्छ भने अहिले तपाईं सोच्दै हुनुहुन्छ होला यो बारेमा ।

आज बिदेशमा छु अनि फुर्सदमा नेपालका रेडियो सुन्छु । जहाँ पाको उमेरदेखि कलिला उमेरसम्मका व्यक्तिहरुको आवाज सुनिन्छ । सम्झिन्छु– आफ्नो यो मरुभूमिको जिन्दगी । सम्झिन्छु– विगतमा ती रेडियोमा आफ्नो आवाज गुञ्जाइरहँदाको कलिलो क्षण । चिन्ता लाग्छ– अहिले रेडियोमा गुञ्जिने ती कलिला स्वरहरु भोलि आफ्नो जिन्दगीलाई धिकार्दै हरियो राहदानी बोकेर म जस्तै परदेश भासिनुपर्ने त हैन ?

आज यो अरबमा आएर पनि सम्झिदैछु– मैले जीवनको त्यो पाँच बर्ष आफ्नो पढाइमा दिएको भए अहिले यो अरबमा सुरक्षागार्डको बर्दी लगाएर बस्नु पथ्र्यो होला र ? के म नेपालमै घुम्ने कुर्सीमा टाई हल्लाउँदै आफ्नो सन्तानसँगै बस्न सक्ने हुने थिइनँ होला र ?

आज झन्डै ६ बर्ष भयो दुबईमा पसिना बगाउन लागेको । म जस्ता धेरै छन् यहाू आफ्नो सपना तुहिएर आएकाहरु । अनि कत्तिको त यतै आएर जिन्दगी नै तुहिएको छ ।

पूर्वको त्यो रुद्र लिम्बु ! जो १० बर्ष नेपाल प्रहरीमा रहेर देशको सेवा ग¥यो । महिनाको दश हजारले जीवनको रथ धकेल्न हम्मे–हम्मे परेपछि भासियो अरबमा । सुदूरपश्चिमको गोपाल सुचिकार ! जो गायक बन्ने सपना बोकेको थियो । केही गीत पनि निकाल्यो तर आम्दानी ? फुस्सा । अनि उ पनि भासियो अरबमा सुरक्षागार्डको बर्दी लगाउन ।

पाल्पाको शरद कार्की तीन बर्Èसम्म अरबमा कमाएको पैसाले केही गर्ने सपना बुनेको थियो । तर त्यो सपना सुइरोमा बुन्न नपाउँदै उध्रियो उधारियो । पसिना चुहाउँदै कमाएको त्यो पैसा जति सबै आफ्नी अर्धाङ्गिनीले स्वाहा पारेर अर्कैसँग भागेपछि आज शरद मानसिक अस्पतालमा छ । उसको सपना जति सबै त्यही मानसिक अस्पतालको बेडमा तुहिरहेको छ ।

हिजो नेपालमा काम गरे पनि गोजी रित्तो थियो । खाली पर्समा कागजका पाना कोचेर ठूलो बनाइन्थ्यो । साथीभाइ मन लागेको चीज किन्थे । म तिनीहरुले किनेका नयाँ लुगा, नयाँ जुत्तालाई राम्रो छ भन्नबाहेक अरु केही गर्न सक्दैनथें । आफुले पचास रुपैयाँको बाँटा चप्पल लगाएर साथीहरुका कन्भर्स सुजको तारिफ गर्थें । घरपरिवार सम्पन्न भए पनि रेडियोमा लागेदेखि मलाई लाज लाग्थ्यो पैसा माग्न । किनकि बाआमाले सोच्नुहुन्थ्यो– छोराले जागिर खान्छ । आफुलाई चाहिने खर्च त कमाउँछ होला भनेर । नसोचून् पनि कसरी !

बिस्तारै आज त्यो दिन परिवर्तन भएको छ । हिजो आफ्नो बाको कमाइको पैसाले बाइकमा तेल हालेर जागिर खान जान्थें– सञ्चारकर्मीको जागिर । तर आज कम्पनीकै खर्चमा गाडी चढ्छु । महिनाको झण्डै १ लाख तलब खान्छु । हिजो खाली कागजले भरिने पर्स आज बिदेशी पैसाले भरिएको छ । आफ्नो मन ला’को चीज किन्न सक्छु । खान सक्छु ।

तर यसरी कहिलेसम्म चल्छ त ? कहिलेसम्म बस्ने अर्काको देशमा ? कहिलेसम्म टाढा हुने त आफ्नो सन्तानसँग ? के मलाई आफ्नो पहिलो सन्तानलाई त्यो सानो उमेरमा आफ्नो हातको औंलामा समाएर ताते ताते गर्दै हिडाउन मन लाग्दैन होला ? सन्तानसँग रमाउने भनेको त्यै सानो उमेरमा त हो नि । ठूलो भएपछि कसले पो टेर्छ र ?

रात दिन यही कुरा मनमा खेल्छ । एक मनले भन्छ नेपाल जाउँ उतै केही गरौं ।

गर्भमै छोडेर आएकी छोरीले आज फोनबाट बाबा भन्दा आँखाबाट नूनिलो पानी तप्प खस्छ । अनि भक्कानिएर रुन मन लाग्छ । सबथोक भुलेर नेपाल जाने सोचाइ आउँछ । तर मन फेरि दैनिक पन्ध्र सयभन्दा धेरै हरियो राहदानी समाएर नेपालको बिमानस्थलमा लाइन लागेका नेपालीमा पुग्छ अनि टक्क रोकिन्छ ।

त्यसपछि फेरि सोच्न बाध्य बनाउँछ । हुँदा खाँदाको यति राम्रो जागिर छोडेर किन जाने नेपाल ? के गर्ने नेपाल गएर ?

यस्तै सोच्दा सोच्दै ६ बर्ष बिते परदेशमा। अझ कति बित्ने हुन् थाहा छैन । म जस्ता कतिले यही सोच्दै बिताइरहेका छन् आफ्नो जवानी । कतिले त सोच्दा सोच्दै आफूलाई नै बिताइदिएका छन्– कहिल्यै नब्यूँझिने गरी । ठूलो सपना बोकेर खाडी छिरेका उनीहरु काठको बाकसभित्र सुतेर– कहिल्यै नउठ्ने गरी ।

बिहानदेखि साँझसम्म चर्को गर्मीमा काम गरेर साँझ कोठामा आराम गर्न गएकाहरु बिहान हुँदा सधैंको लागि सुतेका छन्। बीस/बाइस तला माथि कम्मरमा डोरी बाँधेर आफ्नो शरीरको पसिना पुछ्दै सिसा सफा गर्दै गरेकाहरु डोरी चुडिएर जमिनमा खसेका छन्– जसरी खस्छन् ब्याधाले गुलेलीले हानेका चराहरु जमिनमा ।

यस्ता घटनाहरु आफ्नै आँखाअघि घटिरहँदा मन कति पिरो हुन्छ होला ? देशले पाल्न नसकेर देशलाई रेमिट्यान्सले पाल्न आएकाहरु आफूलाई नै राम्रोसँग पाल्न नपाउँदै जीवन गुमाएको देख्दा कस्तो हुन्छ होला यो मन ? शब्दमा अभिव्यक्त गर्न सक्दिनँ म त्यो पीडा !

देशले पाल्न नसकेर अर्काको देशमा गुलामी गरिरहेका हामी नेपालीको न विगत राम्रो हुन सक्यो न वर्तमान राम्रो छ । यही अवस्थाले न भविष्य राम्रो हुनेछ । हामी जनता यिनै हौ । मेरो देशका नीति बनाउने नेता तिनै हुन् ।

कठै हामी परदेशीएका नेपाली । सपना तुहिएका हामी । मनका रहरहरु मनभित्रै कुहाउन बाध्य भएका हामी । कठै हामी । कठै हाम्रो तुहिएको सपना ।

घर दाङ-हाल : दुबइ

१ आश्विन २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको