हङकङमाथि नेपालको शानदार जित रच्दै च्याम्पियन बन्यो, एसिया कपको लागि छनौट


नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ। हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो। मलेसियाको किन्नारा ओभलमा टस जितेको नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो।

निर्धारित ५० ओभरको खेलमा हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो। हङकङको ७७ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै प्रनित थापा मगरले अन्तिममा लगातार २ छक्कासहित १९ रनमा अभिजित रहे। सन्दिप सुनारले समान १९ रन बनाए। अनिलकुमार साह १६ रनमा आउट भए।

यसअघि हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र  सोहेब आलमले ३-३ तथा अनिल साह र दीपेद्र सिंह ऐरीले १-१ विकेट लिए। मित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्स्म्यानलाई रनआउट गरे।

मलेसियालाई १० विकेटले हराएर  नेपाल फाइनलमा पुगेको थियो।

एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ। ६ मध्ये नेपालले चार पटक उपाधि जितेको थियो भने २ पटक उपविजेतामै सीमित बनेको थियो। यो जीतसँगै नेपालको एसिसी यु १९मा पाँचौ जीत हो।

आजको जितसँगै मलेसियामै हुने यु १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनौट भएको छ ।

१ आश्विन २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको