ओली गर्जिए ‘जनमतबाट राजिनामा गराएको काँग्रेसले कानुनको खोचे थापेर सत्ता लम्ब्याउदै छ’


पोष्टपाटी/पुस १, २०७४

राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् ।

कांग्रेसले लोकतान्त्रिक माध्यता र जनताको अभिमनलाई अवमुल्यन र अस्वीकार गरेको ओलीको आरोप छ । ‘कानुनको खोचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ,’ निजी निवास बालकोटमा सञ्चारकर्मीहरुसित कुरा गर्दै ओलीले भने, ‘मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’

ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह गरे । ‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’

सरकार गठनका लागि आफ्नै अभ्यास र नजिरहरु रहेको भन्दै नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको ओलीको तर्क छ । निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘निर्वाचन आयोग कसैको ट्विटका पछाडि होइन, संविधान र कानुनअनुसार चल्नुपर्छ ।’

आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै अध्यक्ष ओलीले जनमतबाट नै कांग्रेसलाई राजीनामा गराइसकेको उल्लेख गरे ।

प्रदेश प्रमुख नियुक्तिमा कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’

इकान्तिपुरबाट 

१ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको