काठमाडौं, भदौ २९ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत बिहीबार भएको खेलमा नेपालले सिंगापुरलाई सात विकेटले हाराउदै सानदार जित निकालेको छ, जसका लागि सिंगापुरले पेश गरेको ६८ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा भेट्टायो ।
नेपालका लागि सन्दिप सुनारले ३५ बलमा २०, अनिल कुमार साहले १५ बलमा १८ तथा सुमित महर्जनले १२ बलमा नटआउट १० रन बनाए । यसअघि मलेसियाको क्लब अमानमा टस हारेर नेपाल पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सिंगापुरले २८ ओभर तीन बलमा सबै विकेट गुमाएर ६७ रन बनायो । सिंगापुरलाई कम रनमै आउट गराउन नेपालका पवन सराफले महत्वपूर्ण भूमिका खेले । उनी एक्लैले ६ विकेट लिए ।
यस्तै किशोर महतोले दुई तथा दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिए । सिंगापुरका सिद्धान्त र आर्यमन सुनिलले समान २०/२० तथा रोहन रंगराजनले ११ रन बनाउनु बाहेक अरुले दोहोरे अंकमा रन बनाउन सकेनन् । सिंगापुरका पाँच ब्याट्स म्यान शून्य रनमा आउट भए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । समूह चरणका तीनै खेल जितेको नेपाल समूह विजेता बनेको छ ।
यसअघिका दुई खेल जितेको सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन् । नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो ।
प्रतियोगितामा नेपाल बलियो टिमको रुपमा हेरिएको छ । तीनवर्ष अघि एसियाली क्रिकेट परिषदको पुनर्संरचना भएपछि नयाँ संरचनाको रुपमा यो प्रतियोगिता भएको हो । एसियाली क्षेत्रमा यसअघि यस खालको एउटै प्रतियोगिता हुँदै आएकोमा अहिले भने दुई क्षेत्र बनाएर प्रतियोगिता गरिएको हो । नेपालसहित ८ देश पूर्वी क्षेत्रमा छन् भने अफगानिस्तान, युएई, कतार, ओमान, साउदी अरेबिया, माल्दिभ्स, बहराइन, इरान र कुवेत पश्चिमी क्षेत्रमा छन् ।
नेपालले सन् २००७ मा १९ वर्षमुनिको एसिसी एलिट कपको उपाधि जितेयता उपाधि जित्न सकेको छैन । त्यसपछि दुई पटक एसिसी यु–१९ एलिट कपमा नेपाल अफगातिस्तानसँग पराजित भएको थियो । अहिले १० वर्षपछि नेपाललाई १९ वर्षमुनिको संरचनामा उपाधि जित्ने मौका छ । किनकी अहिले नेपाल रहेको क्षेत्रमा बलियो मानिएको अफगानिस्तान छैन ।
१९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता आउँदो नोभेम्बरमा भारतमा हुँदैछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा छनौट चरणबाट आएका चार टिम एसिया कप क्रिकेटमा खेल्ने छन् । पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रको फाइनलमा पुग्ने दुई दुई टिम एसिया कपका लागि छनौट हुने छन् ।
प्रतिक्रिया दिनुहोस