माओवादी केन्द्रलाई ठुलो झड्का, प्रचण्डको घोषणाले मतदाता रुष्ट


सिरहा: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनका बेला बोलेको ‘मधेससँग मेरो लभ परेको छ’ भन्ने वाक्य निकै चर्चामा रह्यो। तर, अहिले प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट लड्ने दाहालको घोषणालाई स्थानीयले ‘सिरहासँग पारपाचुके’का रूपमा अथ्र्याउन थालेका छन्।

स्थानीय तह निर्वाचनकै क्रममा सिरहाको निर्वाचन क्षेत्र छाडी चितवन जाने दाहालको घोषणाले यहाँ निकै चर्चा पाएको छ। मतदाता दाहालप्रति रुष्ट बनेका छन्।निर्वाचनमा मत माग्दा र प्रधानमन्त्री भएको सय दिन पुगेको अवसरमा उनले चोहर्वा आएर यहाँका बासिन्दालाई विकासका धेरै आश्वासन बाँडेका थिए।

उनले निर्वाचन जितेको क्षेत्र गोलबजार र मिर्चैया नगरपालिकामा खानेपानीको हाहाकार छ। खानेपानी समस्या समाधान गर्ने उनको बचन आश्वासनमै सीमित भएको छ।स्थानीय निर्वाचनको समय घर्किनै लाग्दा पनि उनी सिरहा आएका छैनन्। यसको फाइदा एमालेले उठाउने देखिन्छ।

दाहालको निर्वाचन क्षेत्रमा तीन नगरपालिका गोलबजार, कर्जन्हा र मिर्चैया छन्। गोलबजारमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वनाथ साहका दाजु धनाढ्य देवनाथ साहलाई टिकट दिएपछि पार्टीमै खैलाबैला मच्चिएको छ। पार्टीभन्दा बाहिरकालाई टिकट दिएको भन्दै अविरमान थापा, कारीमान पुलामी, उपेन्द्र मुखिया र चेतबहादुर थापालयायत कोही बागी बनेका छन् कोही रुष्ट भएर निष्क्रिय।

प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट लड्ने दाहालको घोषणालाई स्थानीयले ‘सिरहासँग पारपाचुके’का रूपमा अथ्र्याउन थालेका छन्।

माओवादी केन्द्रको पकड क्षेत्र मानिने वडा नम्बर ३, जमदहका अधिकांश कार्यकर्ता देवनाथप्रति असन्तुष्ट देखिएका छन्। यसअघिको निर्वाचनमा दाहाललाई जिताउन आफ्नो गल्ला खोलेको पैंचो तिर्न देवनाथलाई टिकट दिएको माओवादी कार्यकर्ताको ठहर छ।

गत वर्ष जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानका इन्जिनियरको अपहरणसम्बन्धी मुद्दा खारेज गराएको घटनामा माओवादी नेताको संलग्नताले पनि अहिले चर्चा पाएको छ। २०६४ सालमा वाईसीएलका तत्कालीन सिरहा कमान्डर जगत यादवको नामबाट छरिएको पर्चा अहिले गोलबजारमा चर्चाको विषय बनेको छ। उक्त पर्चामा देवनाथ साह र मुनि साहलाई भौतिक कारबाही गर्ने उल्लेख छ।

त्यसैगरी पटक-पटक प्रहरी हिरासतमा परेका श्रवण यादवलाई टिकट दिएकोमा पनि मिर्चैया नगरपालिकामा माओवादी केन्द्रको अवस्था कमजोर देखिएको छ।दाहाललाई निर्वाचन जिताउन श्रवणले कर्जन्हा क्षेत्रमा बुथ कब्जा गर्न भूमिका खेलेकै कारण टिकट पाएको चर्चा माओवादीवृत्तमा छ।

सिरहाको राजमार्ग क्षेत्र वामपन्थीको बाहुल्य छ। यसै क्षेत्रमा पर्छ-दाहालको निर्वाचन क्षेत्र गोलबजार र मिर्चैया नगरपालिका। गोलबजारमा संविधानसभा निर्वाचनमा एमालेका लीलानाथ श्रेष्ठले ८ हजार ५ सय मत ल्याएका थिए। उनले दाहाललाई करिब २ हजार मतले उछिनेका थिए।

एमालेका मेयर उम्मेदवार श्यामबहादुर श्रेष्ठ भन्छन्, ‘हाम्रो संगठित भोट चट्टानझैं अविचलित छ। हामी यसपटक नौ हजारभन्दा बढी मत ल्याएर जित्छौं।’गोलबजारका धनाढ्य व्यापारी देवनाथको व्यक्तिगत प्रभाव र पार्टीको मत संग्रहित हुँदा उनले जित्ने आकलन गर्नेहरू पनि कम छैनन्।

बागीको असरले धेरै मत काटिएन भने देवनाथ कडा टक्कर दिने उम्मेदवार हुन्। गोलबजारमा माओवादी केन्द्र र एमालेबीच कडा टक्कर रहेको चर्चा छ। संघीय समाजवादी फोरमका उम्मेदवार कृष्णा सिंहले कांग्रेस र एमालेलाई कडा टक्कर दिने चर्चा पनि चलिरहेको छ।

मिर्चैयामा समाहित साविक आठ गाविसमा २०५४ सालमा सबै स्थानमा एमालेले जितेको थियो। त्यसका आधारमा एमालेले मिर्चैया पनि जित्ने दाबी गरिरहेको छ।तर, यहाँ एमालेका जामुन यादव फोरममा प्रवेश गरी मेयर उम्मेदवार बनेका छन्।

राजपाका रामकुमार मण्डल पनि दह्रो उम्मेदवारका रूपमा देखिएका छन्। यहाँ माओवादी केन्द्र, एमाले र राजपाबीच प्रतिपस्र्धा हुन सक्ने देखिन्छ। आजको अन्नपूर्ण दैनिकबाट साभार |

२९ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस