प्रेम नगरी त्यो गोदावरीको यात्रा : आहा कति सुन्दर छ मेरो देश


-रेश्मी लामिछाने 

बादलुको घुम्टोले धुम्म परेको दिन थियो । कुनै बेला बादल फाटेजस्तो कुनै बेला बादल अध्यारो भए जस्तो ।  आकाशले पनि आफ्नो रँग छिनछिनमै बदलिइरहेको थियो । हामीले पनि आफ्नो गन्तव्य बदलेर फर्पिङ्गको बाटो मोडी गोदावारीको बाटोतिर लम्केका थियौ ।

दक्षिणकालीको बाटो बिग्रेकोले त्यता जाने गाडी नचलेको जानकारी भएपछि हामीले गोदावारी जाने निधो गरेका थियौ ।

बिहानको ११ बजिसकेको थियो १९ जनाको टोलीले कालिमाटीको बस स्टेशनबाट जावलाखेलको सार्वजनिक गाडीमा चढी यात्राको सुभारम्भ गरिसकेको थियो । अफिस टाइम भएर पनि होला नेपाल यातायातमा निकै नै घुँइचो थियो ।

हाम्रो १९ जनाको टोली अटाउन पनि नसक्ने स्थिति देखिन्थ्यो । तर पनि सबैजना यति धेरै अभ्यस्त भइसकेका छौ कि खलासीले पछाडी जानु भन्न नपाउदै ठेलमठेल गरेर पछाडी सर्यौ र सबैजना अटाइ छाड्यौ ।

गज्जबको कुरा त यो छ कि काठ्माडौंका सार्वजनिक बसमा यति धेरै ठाउँ छ कि जति जना छिरेपनि अटाउछन् । १९ जनाको टोली अटाउन धौ धौ भाको गाडीमा कति अटाए अटाए कुनै अत्तोपत्तो भएन । म ढोकाको मान्छे गाडीको लास्ट सिटमा बसेको मान्छको घुँडामा ठोक्किन पुगिसकेको थिए । धन्न त्यहाँ भन्दा पर जाने ठाउँ थिएन ।

भत्केको बाटो, उडेको धुलो, गाडीभित्रको ढिकिच्याउले साच्चिनै कतै नगइ घरमै सुतेर बस्न मन लाग्या थियो तर पनि यात्रा तय थियो जानुनै थियो । मनमा छुट्टै उत्साह भर्दै गए । बाटोघाटोको पिडालाई पाखा लगाएर म छुट्टै यात्रामा प्रवेश गरिसकेको थिए । यात्राका १८ जना सहयात्रीहरु सँग सगै यात्रा गरिरहँदा पनि म आफैभित्र एक्लै एक्लै रमाउँदै हराइरहेकी थिए ।

जावलाखेलदेखि लगनखेलसम्म सानो सानो समुह बनाई पैदल हिड्दाको त्यो पलमा हाँसो ठट्टा अनि रमाइला कुराकानीले साच्चीनै अर्कै संसारको यात्रामा छु जस्तो आभाष गरिरहेकी थिए । पानी साटासाट गरेर पिउँदाको मज्जा अनि खाली बोटल लिएर थाहा नपाउने गरि साथीको टाउकोमा हानेर अरुलाई दोष लाउँदाको मज्जा साँच्चिनै अविस्मरणीय बनेको छ ।

करिब २५ मिनेटको पैदल यात्रा तय गरेर लगनखेल पुगेको टोली खाली माइक्रोमा हुत्तिएको थियो । सिटभरि हामी छरिएपछि माइक्रो ड्राइभरले पनि गाडि हुत्ताइहाल्यो । बाटोमा धेरै यात्री चढे कोइ उभिए भने कोइ आप्mनै पोको पारेको बोरामाथि बसेर यात्रा गरे ।

म महिला सिटको छेउमा बसेको थिए । गर्मी मौसम भएपनि चिसो बतास चल्नेक्रम बाक्लिदै थियो । जति अगाडि गाडी बढ्दैथियो त्यतिनै घरहरु घट्दै थिए, हरिया जंगल परपर देखिन थालेका थिए । मन चंगाजस्तै उड्न थालेको थियो चिसो बतास सँगसँगै । प्रकृतिको आनन्द मैले चिसो बतासबाट लिन थालिसकेको थिए ।

पर पर देखिएको कालो बादलले झनै धेरै खुशी दिंदै थियो । पानी पर्यो भने साच्चीनै धेरै रमाइलो हुनेछ भनेर म दंग थिए । काठ्माडौं भन्दा ललितपुर मलाई धेरै नै मनपर्दै थियो, जसै जसै मैले सफा अनि खुला रोड देख्न थालेको थिए । मनमा एक तमासको आनन्दले डेरा जमाउँदै थियो ।

बीच बीचमा साथी भाइको ठट्यौलीले सुनमा सुगन्ध त्यतिनै थपेको थियो । कोइ गीत गाउने कोइ चाउचाउ बाढ्ने अनि साथीको चाउचाउ खोसेर खाने क्रियाकलापले अन्य यात्रु पनि हामीहरुलाई देखेर रमाइरहेका थिए ।

लगभग दिउँसोको १२ बजेर ३५ मिनेट भईसकेको थियो हाम्रो टोली गोदावारीको बस स्टेशनमा पुग्दा । करिब २५ मिनेटको पैदल यात्रा तय गरेपछि हामी १९ जना राष्ट्रिय वनस्पति उद्यान पुगेका थियौ ।

टिकेट लिएर मुल गेट प्रवेश गर्दाको त्यो क्षण आँखा चिम्म गरेर सोच्चा पनि स्वर्गमा पुगेको आभाष हुन्छ । मेरा हरेक इन्द्रेणीले त्यस बगैचाको आनन्द लिन सुरु गरिसकेका थिए । छालाले पारेको त्यो ऐश्वय आनन्दले मलाई चंगाजस्तो बनाएको थियो । म भुँइमा हिडेर पनि आकाशमा उडिरहेको आभाष गरिरहेको थिए ।

आँखाले देखेका ती रंगीबिरंगी फुलहरु सँगै हराभरा त्यो बगैचाले म नौलो संसारमा प्रवेश गर्दै थिए । चिरविर चराहरुको आवाजमा मैले आनन्दित संगित भेटिरहेकी थिए ।  साथीहरुको भिडबाट म बेलाबेला पछि हुन्थे भने प्रकृतिसँग त्यतिनै नजिक–नजिक हुँदै गएको थिए ।

धेरै थरीका फुलहरु साथै धेरै थरीका वनस्पतिले भरिएको बगैचामा हामी एकछिन बस्यौ । केही तस्विरहरु लियौ । प्राय सबैका गोडा गलेका थिए । म पनि व्यागसहित हरियो दुबोमा फालिए । भुँइमा बसिरहँदाको आनन्दले फेरि उठेर हिँडु जस्तो नै भएन् । तर पनि भ्रमणमा हिडेका हामी अवश्य पनि रोकिनु थिएन ।

म र केही साथी अघि लाग्यौ । हामीलाई पच्छ्याउदै अरु साथीहरु पनि आउन थाले । केही कलेजका साथीहरु सर्वेक्षणमा आएको मैले देखे । उहाँहरुले बोट बिरुवाहरुलाई गरेको सर्वेक्षणले मैले आफ्नै अड्कलबाजी लाउदै हिंडे । केही समुहहरु हामी जस्तै प्रकृतिमा रमाउदै हिडेका थिए ।

मलाई लागेको रोचक विषयवस्तु मध्ये एक हो काठले बनाएको ‘डस्टविन’ । मेरो आकर्षणको केन्द्रमध्ये एक त्यो  डस्टविन पनि बनेको थियो ।

बाटोमाथि तेर्सिएको ठुलो रुखले पनि हामी सबैलाई धेरै बेर रमाइलो गराउने माध्यम बनेको थियो । तेर्सिएको रुखमाथि उभिएर त्यस बोटलाई हल्लाएर रमाउँदाको त्यो डर पनि अलौकिक थियो । दुइ गोडामात्र अडाएर हावामा उडेको आभाषले जति मलाई आनन्द दिएको थियो त्यो आनन्द लिंदै म लड्छु कि भन्ने डर बोकेर टुलुटुलु मलाई हेरिहने साथीहरुको अनुहारले पनि डर साथै छुट्टै रमाइलो दिएको थियो ।

रुखबाट ओर्लिएर हामी अगाडी पट्टिको बगैचाको गेट तर्फ लम्कियौ जसको अगाडी पट्टि सानो खोलाजस्तै मानव निर्मित झरना थियो । पानी देख्नासाथ दौडिने हामी केही साथीले चिसो पानीको आनन्द लिंदै केही बेर पानी छ्याप्दै रमायौं । केही समय लिएर झरनाको रमाइलोपछि बगैचाँको गेटतर्फ लाग्यौ ।

गेटदेखि माथि क्याकटस हाउस सम्म पुग्दा हामीले धेरै नै किसिमका फुलको अवलोकन गरिसकेका थियौ । क्याकटस हाउसको प्रवेश गरेर निस्किने क्रममा सिउँडीको बोटसँगै बसेर फोटो खिच्दा सिँउडीको काँडाले घोच्दामात्र थाहा भयो त्यहाँ विषालु काँडा पनि हुँदा रहेछन । अनि साच्चिनै दुख्ने पनि रहेछ । त्यसपछि मात्र थाहा भयो त्यहाँ नोटिस बोर्ड पनि राखेको रहेछ कि त्यहाँ बिषालु सिउँडीहरु पनि रहेछन् ।

केही समयको बसाइँ पछि हामी त्यस अलौकिक संसारबाट टाढिने निधो गरेर निस्कियौ । जसै जसै मुल गेटतिर पाइला लम्केका थिए त्यसै त्यसै नै पाइलाले गति कम गर्दै थियो ।

एकचोटि आँखा चिम्लेर लामो साँस लिए । बतासमा उडेर कता कता पुगेजस्तै भयो । गेटबाट बाहिर निस्केपछि एकचोटी फर्केर हेर्दै सोचे फेरि कहिले आउछु होला? सँगै गएका साथीले कस्तो किसिमको अनुभव लिएर आए मैले त्यो अड्कल लगाउन नसकेपनि उनीहरुको अनुहारको उज्यालोले यति त थाहा पाएको थिए कि, ती थकित अनुहारले पनि धेरै यादहरु बोकेर फर्किएका थिए होला मैले जस्तै ।

३१ जेष्ठ २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको