प्रचन्डले नबुझेको माओबाद ।


माओवादी अध्यक्ष प्रचण्डले माओवादको भाष्य एवं माओवादी पार्टीको मूल्यलाई बुझेका छैनन् भनियो भने त्यो वालसुलभ प्रहसनजस्तो लाग्न सक्छ । जसले यतिका वर्ष माओवादीकै नाममा सशस्त्र एवं निशस्त्र संघर्ष गरेर देशलाई यहाँसम्म ल्यायो, उसैले माओवादको भाष्य बुझेको छैन कसरी भन्न सकिन्छ ? जो व्यक्ति दशकौंदेखि माओवादी पार्टीको अध्यक्ष पदमा आसीन छ, उसैले सो पार्टीको औचित्य बुझेन भन्दा मानिसहरुको हड्डी हाँस्न सक्छ ।

तर, ओशोले भनेका छन् कि ६० वर्षदेखि सेक्स गर्दै आएको व्यक्तिले समेत सेक्स बुझेको हुँदैन । मानिसले भन्न सक्छ कि मैले ६० वर्षदेखि यही काम गर्दै आएको छु, मैले कसरी बुझेको छैन ? तर, ओशो भन्छन्, ६० वर्षदेखि सेक्स गर्दै आएको मान्छेले पनि सेक्सलाई बुझेको छैन ।

प्रचण्डको मनोदशा पनि यस्तै देखिएको छ । उनले ४० वर्षदेखि जे-जे गर्दै आए, त्यसैलाई बुझेनन् । प्रचण्डले एमालेसँग पार्टी एकता गर्ने कुरा गरिरहँदा एमालेको वर्गधरातललाई त बुझेनन् नै, आफैंलाई र आफ्नो पार्टीलाई समेत बुझेनन् । आफैंले उठाएको आन्दोलनको मर्मलाई बुझेनन् ।

प्रचण्डले आफूलाई मात्रै अलिकति बुझेको भए ‘वाम तालमेल’ सम्म हुन सक्थ्यो, तर एमालेसँग पार्टी एकताकै प्रस्ताव चाहिँ उनको मुखबाट फुत्किने थिएन ।

प्रचण्डको नेतृत्वमा माओवादीले ०५२ सालमा जनयुद्धको घोषणा गर्दैगर्दा उसले एमालेलाई प्रतिक्रियावादोन्मूख शक्ति भनेको थियो । एमाले गणतन्त्र र संविधानसभामा नआएकाले मात्रै उसले त्यसो भनेको थिएन, एमालेले प्रतिनिधित्व गरिरहेको वर्गधरातललाई लिएर माओवादीले त्यस्तो निश्कर्ष निकालेको थियो ।

माओवादीले त्यसबेला राजालाई राष्ट्रवादी शक्ति भनेको थियो, जुन राष्ट्रवाद अहिले एमालेमा सरेको अवस्था छ । राजावादी र माओवादीवीच ‘अघोषित कार्यगत एकता’ सम्भव भयो तर, ‘एकता’ सम्भव भएन । यसैगरी एमालेसँग माओवादीको घोषित वा अघोषित कार्यगत एकता हुनु अचम्मको विषय हुँदैनथ्यो, तर पार्टी एकता आश्चर्यकै विषय हो ।

आखिर माओवादी जनयुद्ध केका लागि छेडिएको थियो ? के त्यो आतंक, हिंसा एवं जघन्य मानवीय अपराध थियो ? के त्यो भारतको इशारामा देशलाई कमजोर पार्नका लागि गरिएको थियो ? के प्रचण्ड खूनी, हत्यारा थिए ? के माओवादीहरु लुटेरा र अपराधी थिए ? अनि उनीहरुले अगाडि सारेको संघीयता, समावेशीता र जातीय पहिचानको मुद्दा अपराधकर्म थियो ? एमाले यी विविध प्रश्नहरुको समाधानकर्ता हो कि रचनाकार ? यी प्रश्नहरुमा छलफलै नगरी वाम एकताको कोरस गाउन थालियो, जसले माओवादीमा ‘विचारको अन्त्य’ लाई संकेत गरेको छ ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाको सहयोगीका रुपमा भूमिका खेले पनि एमालेले शान्तिपूर्ण अवधिमा माओवादी जनयुद्धलाई विद्रूपीकरण गर्ने र तिनका नेतालाई असफल पार्ने अनि राक्षसीकरण गर्ने अभियान चलाउँदै आइरहेको थियो । माओवादीलाई हेप्ने र खुइल्याउने यो अभियानको नेतृत्व केपी ओलीबाटै भइरहेको थियो । भीम रावल लगायतका नेताहरु यसका भाष्यकार थिए ।

माओवादी आन्दोलन र तिनका नेतालाई हेर्ने सवालमा अहिले पनि दुईवटा ‘स्कुल अफ थर्ट’ छँदैछन् । संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रको प्राप्तिमा माओवादी आन्दोलनले पुर्‍याएको योगदानलाई स्वीकार्न नसक्ने र माओवादीलाई रसातलमा पुर्‍याउन चाहनेको सूचीको अग्रपंक्तिमा एमाले थियो । तर, एकै रातमा एमाले यतिबेला माओवादीलाई सुम्सुम्याउने अवस्थामा आइपुगेको छ । यसको अन्तर्य यही नै हो कि एमालेको बाध्यता अनि प्रचण्डको राजनीतिक विसर्जन ।

एमाले मध्यम वर्ग एवं उच्च मध्यम वर्गको हितको प्रतिनिधित्व गर्ने पार्टी हो । उसले ‘समाजवाद’ भनेता पनि हिटलरको जस्तै समाजवादका नाममा फासिवादको अभ्यास गर्ने प्रयास एमालेले गर्दै आएको छ भन्ने आरोप माओवादीबाट लाग्दै आएको हिजोमात्रै हो ।

माओवादीले जानेर वा नजानेर विगतमा सुकूम्वासी, गरीव, दलित एवं पिछडिएका जाति र समुदायको पहिचानलाई स्थापित गर्न भूमिका खेलेकै हो । माओवादीलाई जातिवादीको आरोप लगाइयो, जुन आरोप अझै पखालिएको छैन र सोही आरोपको दायसहित ऊ एमालेसँग टाँसिन तयार भएको छ ।

शान्ति प्रक्रियामा आइसकेपछि माओवादी केन्द्र ठिम्बर बन्न पुग्यो । माओवादी न त मध्यम वर्गको पार्टी बन्यो, न त विपन्न वर्गको साथी । पार्टीका नेता कार्यकर्ताहरु आदर्श एवं मूल्यको राजनीतिभन्दा पनि पैसा र सत्ताका पछाडि दौडन थाले । तर, यसको अर्थ यो थिएन कि माओवादी जनयुद्ध त्यसैका लागि थालिएको थिएन । सैयौं नेपाली छोराछोरीले दिएको बलिदानी यतिका लागि थिएन । शायद अहिले. वाम एकताको बिन बजाउनेहरुले पक्कै स्वीकार गर्लान्- माओवादी आन्दोलन ‘भाँडाकुटी खेल’ थिएन । कुनै आतंकवाद वा अपराध थिएन ।

माओवादीलाई सौतेनी व्यवहार गर्दै आएका केपी ओली र उनको नेतृत्वको सरकारसँग सम्बन्धविच्छेद गरेर स्थानीय निर्वाचनमा होमिएपछि माओवादी पार्टीले विस्तारै समाजमा जरा गाड्न थालेको थियो । एमालेले माओवादीलाई भित्तामा पुर्‍याउन सकिने ठानेको थियो, तर २ नम्बर प्रदेशको निर्वाचनसम्म आइपुग्दा माओवादी पार्टी बलियो तेस्रो विकल्पमा रुपमा देखापरेकै हो । उसले ढलेको शीर उठाएकै हो ।

स्थानीय चुनावको नतिजाका आधारमा भन्नुपर्दा माओवादी पार्टीले आफूलाई प्रतिनिधिसभाको चुनावसम्म तेस्रो शक्तिका रुपमा उभ्याउन प्रयत्न गरेको भए उसले भविश्यमा एमाले र कांग्रेसको विकल्प दिन सक्ने सम्भावना रहन्थ्यो ।

तर, ठीक यहीबेला प्रचण्डले ‘एमालेसँग पार्टी एकता गर्ने’ घोषणा गरेर माओवादी आन्दोलनको औचित्यलाई विसर्जन गरिदिए । प्रचण्डको यो घोषणाका कारण अब माओवादी आन्दोलनको कुनै औचित्य छैन र कांग्रेस एमालेको स्कुल नै एकमात्र विकल्प हो भन्ने सन्देश प्रवाह भएको छ । देशलाई अब कांग्रेस र एमाले भए पुग्छ भन्ने सन्देश प्रचण्डले दिएका छन् । नयाँ शक्तिको अभियानमा लागेका बाबुराम पनि त्यही ‘डिस्कोर्ष’को साक्षी किनारामा बसेका छन्, जुन अर्को आश्चर्य हुन पुगेको छ नेपाली राजनीतिमा ।

एमाले र कांग्रेससँग त्यति लामो संघर्ष गरेर यहाँसम्म आइपुगेका प्रचण्डले देशमा तेस्रो विकल्पको आवश्यकता नदेख्नु आफैंले आफैंलाई नचिन्नु जस्तै हो । रजनीश ओशोले भनेजस्तै हो यो परिघटना ।

कस्तुरीले आफ्नै सुवासलाई ठम्याउन नसकेजस्तै प्रचण्डले एमालेलाई त चिनेनन् नै, आफैंलाई र आफ्नै पार्टी अनि आफ्नै पदचापलाई पनि चिनेनन् । उनले आफू र वामदेव गौतमका वीचमा के फरक छ भनेरसम्म छुट्याउन सकेनन् । र, स्थानीय चुनावबाट देशैभरि मौलाइसकेको माओवादी आन्दोलनलाई शहीदहरुको समेत मानमर्दन हुने गरी एमालेको बास्केटमा लगेर हाल्ने काम गरे । ‘समाजवाद’को नाममा ।

शायद कार्ल मारक्स पनि यो सुनेर मरीमरी हाँस्दा हुन् कि दीपक मनाङ्गे र पर्शुराम बस्नेतहरु ‘वाम एकता’ को रथ चढेर ‘समाजवाद’को तीर्थाटनमा निस्केका छन् ।

ढाँटको निम्तो

एमाले र माओवादीका नेताहरुले देशलाई सुशासन दिन्छन् र जनउत्तरदायी रामराज्य चलाउँछन् भन्ने ग्यारेन्टीचाहिँ किन गर्न सकिँदैन भने राजनीतिमा डनवाद र धनवाद भित्र्याउनमा यी दुई पार्टीहरुको पनि कम योगदान छैन । अहिले पनि दीपक मनाङ्गेहरु पार्टीमा भित्र्याउने काम धमाधम भइरहेको छ । पर्शुराम बस्नेतहरुले टिकट पाइरहेका छन् ।

स्थानीय तहमा सर्वदलीय भ्रष्टाचार गर्नेदेखि लिएर शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा राजनीतिकरण गर्ने कार्यमा एमाले-माओवादी लगायतका ‘समाजवादी पार्टी’हरुले आफूलाई कांग्रेसकै दर्जामा राख्दै आएको विगत धेरै टाढा छैन । त्यसैले ‘ढाँटको निम्तो खाएर पत्याउनु’ भन्ने अवस्था छ ।

माओवादीको म्याच फिक्सिङ

माओवादीले जुन समयमा आएर एमालेसँग पार्टी एकताको घोषणा गर्न पुग्यो, खेलको सिद्धान्तका आधारमा भन्ने हो भने एक प्रकारले यो उसको ‘म्याच फिक्सिङ’ हो । माओवादीले गरेको व्यवहारले उसको राजनीतिक इमानमाथिसमेत प्रश्न उठाएको छ । उसको कदमले आशन्न चुनावको भविश्यमाथि नै संकट निम्त्याएको छ ।

जस्तो कि- माओवादीले केपी ओलीको साथ छाडेर कांग्रेससँग सहकार्य गर्नेक्रममा जसरी हठात निर्णय गरेको थियो, यसपालि फेरि कांग्रेससँग उसैगरी साथ छाडेको छ ।

कांग्रेससँगको सहकार्य तोडिसकेपछि पनि माओवादीले सरकार छाड्ने निर्णय गरेको छैन, जुन संसदीय मूल्यको राजनीतिमा नैतिक कदम मान्न सकिँदैन । एउटा खेलाडीले दुईवटा टीममा मिसिएर खेल्न सक्दैन ।

सरकारमा पनि बसिरहने तर, प्रतिपक्षसँग गठबन्धन बनाउने माओवादीको राजनीतिक व्यवहार अनैतिक कार्य त हो नै उसको यो कदमले कांग्रेसलगायतका शक्तिलाई तर्साएर चुनावलाई पर धकेल्ने बाहना प्रदान गरेको छ ।

वाम एकतालाई सिद्धान्तः स्वाभाविक मान्न सकिएला, तर निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रंकाशित गरिसकेका बेला एउटै दलको चिन्हमा चुनाव लड्ने गरी गठबन्धन गरिनु पराजित मानसिकतामात्रै होइन कि एक प्रकारको ‘म्याच फिक्सिङ’ नै हो ।

अनलाइन खबरको अरुण बरालको लेखको आंशबाट

२०७४ आश्विन २७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको