काठमाडौं –एएएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा मंगलबार भएको खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् ।
यो खेलमा नेपाललाई हारबाट जोगाउन गोलरक्षक किरण चेमजोङको महत्वपूर्ण भूमिका खेले ।
म्यान अफ दि म्याच बनेका चेमजोङले यमनका खेलाडीको केही सुन्दर प्रहार बचाउ गरे । खेलपछिको पत्रकार सम्मेलनमा उनले आफ्नो खेलबाट खुशी रहेको बताए । उनले भने ‘मेरो खेलबाट खुशी छु । देशका लागि केही गर्ने मौका पाएँ । अझै योगदान दिन चाहन्छु ।’
भावुक रुपमा प्रस्तुत भएका चेमजोङले खेल जीवन सुरु गर्दा चोटग्रस्त भएको र त्यसबेला अब खेल्न सक्दिन कि भनेर रोएको कुरा उनले सुनाए । उनले भने ‘तर संघर्ष गरेर यहाँसम्म आएँ । यसमा सबैको साथले पनि काम गरेको छ ।’
चेमजोङ १८ वर्षको हुँदा दुर्घटनामा परेर घाइते भएका थिए । यस्तै त्यसको केही वर्षपछि फोक्सोमा इन्फेक्सन भएर उनी अस्पताल नै भर्ना भएका थिए । तर उनी सुधार भएर मैदान फर्किएका हुन् ।
यस्तै भारतसँगको मैत्रीपूर्ण खेलमा भन्दा यमनसँगको खेलमा आफूहरुको प्रदर्शन सुधार भएको उनले बताए उज्यालो अनलाईनमा खबर छ।
प्रतिक्रिया दिनुहोस