काठमाडौं । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएका राष्ट्रिय जनता पार्टीका नेता रेशम चौधरीलाई निर्वाचन आयोगले निर्वाचित प्रमाणपत्र दिन मानेको छैन ।
चौधरी टिकापुर घटनाका दोषी रहेको भन्दै आयोगले हाल उनलाई प्रमाणपत्र दिन आनाकानी गरेको छ ।
आयोगले चौधरीलाई प्रमाणपत्र नदिएपछि नेपाल आदिवासी जनजाति महासंघले प्रेस विज्ञप्ती निकाल्दै तत्काल उनलाई प्रमाणपत्र दिन आयोगसँग आग्रह गरेको छ । आप्mनो माग बेवास्ता गरिए जस्तोसुकै कदम पनि उठाइने महासंघले जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ‘प्रेस विज्ञप्ती’
सम्वत् २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कैलाली-१ बाट जनताको अमूल्य ३४ हजार ३४१ मत लिई प्रतिनिधिसभामा निर्वाचित हुनुभएका माननीय श्री रेशम चौधरीलाई जातीय/नश्लीय सत्ताको भान पार्ने गरी निर्वाचन आयोगले विजयको प्रमाणपत्र कानूनतः स्वतः दिनुपर्नेमा स्वेच्छाचारी ढंगले नदिएकोप्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आदिवासी थारु भएर न्यायिक थरुहट आन्दोलनमा सङ्लग्न भएकै आधारमा नृजातीय सर्वसत्तावादी राज्य सरकारले जनादेशलाई कुल्चिएर विजयको प्रमाणपत्र दिन आनकानी र जालसाजी गरेकोप्रति महासंघ घोर भत्र्सना गर्दछ ।
नेपालको हरेक राजनीतिक-सामाजिक-सांस्कृतिक-आर्थिक परिवर्तनमा नेपालका आदिवासी जनजातिहरूले रगत, पसिना बगाउँदै अमूल्य त्याग, बलिदान गरेको इतिहास छर्लङ्ग रहेको स्मरण गराउँदै लोकतन्त्रको महत्वपूर्ण प्रक्रिया निर्वाचनमा अभिव्यक्त मतलाई निर्वाचन आयोग र नेपाल सरकारले लोकतन्त्रकै खिल्ली उडाउने लज्जास्पद कार्य गरेकोमा महासंघ घोर निन्दा व्यक्त गर्दछ ।
लोकतन्त्रको स्थापित मूल्य, मान्यता र अभ्यासलाई सम्मान व्यक्त गर्दै निर्वाचन आयोगले विजयी माननीय श्री रेशम चौधरीलाई अबिलम्ब निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्न महासंघ विशेष आग्रह गर्दछ । नागरिकको नैसर्गिक राजनीतिक अधिकार बमोजिम माननीय चौधरीलाई बिना शर्त प्रमाण पत्र नदिएमा नेपालका ३७ प्रतिशत आदिवासी जनजातिहरूको साझा र आदिवासी जनजाति आन्दोलनको नेतृत्वदायी संगठन नेपाल आदिवासी जनजाति महासंघले जुनसुकै कदम उठाउन तथा मूल्य चुकाउन तयार रहेको र सोबाट उत्पन्न हुने परिस्थितीको सम्पूर्ण जिम्मेवार नेपाल सरकार र यसका संयन्त्रहरू स्वयम् हुने समेत जानकारी गराउँदछौं । साथै थारु भएर थरुहट र आदिवासी आन्दोलनमा सङ्लग्न भएकै आधारमा कथित जातिवादी/नश्लवादी राज्यसरकारको सुनियोजित षड्यन्त्रप्रति सम्पूर्ण आदिवासी जनजातिहरू सजग, सर्तक रहन र त्यसखाले विभेदपूर्ण कार्यका बिरुद्ध आ–आफ्नो ठाउँबाट सशक्त आवाज उठाउन सम्पूर्ण आदिवासी जनजातीय संस्था/संगठनहरू र आदिवासी जनताहरूलाई महासंघ विशेष आग्रह गर्दछ ।
धन्यवाद ।
जय आदिवासी जनजाति ।
मितिः २०७४-०९-२६
…………………….
जगतबहादुर बराम
प्रतिक्रिया दिनुहोस