चलचित्र “देन्बा माया” युएईमा प्रदर्शन हुने प्राप्त रकम मेरुदण्ड पीडित सुरेन्द्र बम्जनलाई सहयोग गरिने


अनिस तामाङ/ नोभेम्बर ११, युएई । तामाङ कथानक चलचित्र “देन्बा माया” को युएईमा पनि च्यारिटि शो प्रदर्शन हुने भएको छ। प्राप्त जानकारी अनुसार तामाङ सुपर स्टार मिडिया हाउसको दोस्रो प्रस्तुति एवं रोशी फिल्मस् प्रा.लिको एघारौं भेट चलचित्र “देन्बा माया” मेरुदण्ड पीडित सुरेन्द्रकुमार बम्जनको सहयोगार्थ च्यारिटी सो प्रदर्शन गरिने भएको छ ।
चलचित्रको निर्देशन अमिर दोङको रहेको छ । पटकथा रितुराज पाख्रिन, संगीत जोकलाल तामाङ र विशाल काल्तनले गरेका छन्। अमिर दोङ, सुश्मा मोक्तान, सिता लामा, अन्जुली लोप्चन, नोर्साङ दोङ लगायत ख्याती प्राप्त कलाकारहरुले अभिनय रहेको चलचित्र यही डिसेम्बर १५ तारिख युएईको विकसित शहर दुबई स्थित कार्लटन होटलमा ठिक दिनको १:३० बजे च्यारिटी शो गरीने चलचित्रको निर्देशक अमिर दोङले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
मेरुदण्ड पिडित सुरेन्द्र बम्जन तामाङको सहयोगार्थ प्रगतिशील कलाकार संघ युएईले आयोजना गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रमको साथ “देन्बा माया” को च्यारिटी शो कार्यक्रममा नेपालबाट उक्त चलचित्रको नायक एवं निर्देशक अमिर दोङ समेत आउने छन् । दोङले दुई दर्जन भन्दा पनि बढी चलचित्रहरुमा अभिनय साथै निर्देशन समेत गरिसकेका छन् । च्यारिटी शोमा चलचित्र “देन्बा माया” को अन्य कलाकारहरु अन्जुली लोप्चन, शुरध्वज तामाङ र स्थानिय कलाकारहरु प्रवेग दोङ, सरोज थापा, सन्ध्या सुस्केर, डिबी समर्पण, इन्द्र सेन्च्युरी, राजेश तामाङ, नबिन तामाङ, रोश्नी सुब्बा, मनिष सेन्च्युरी, अनिसा तामाङ लगायतका दर्जनौं कलाकारहरुको समेत बिजोड प्रस्तुति रहने छ ।
सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका वडा न-१ निवासी सुरेन्द्रकुमार बम्जन विगत ५ वर्ष पहिला सिन्धुली सदरमुकामबाट घर फर्किने क्रममा बाटोमा अचानक खुट्टा चिप्लिन गई लगभग १०० मि. जति तल झर्दा मेरुदण्ड भाँचेको र तत्कालै सिन्धुली जिल्ला अस्पताल हुँदै काठमाडौँ त्रीपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलमा अप्रेसन गर्दा पनि अहिले सम्म केही सुधार नभएकोले छाती भन्दा मुनिको भाग हलचल समेत गर्न नहुने हुँदा पुर्ण आपाङ्ग भएर बसेका छन् ।नव जवान उमेर मै दुई छोरा र जिवनसंगिनी साथमा अपाङ्ग जिवन बिताइरहेका बम्जनको सहयोगार्थ आयोजना गर्न लागीएको उक्त कार्यक्रमबाट प्राप्त रकम सबै बम्जनको उपचारको लागी खर्च गर्ने प्रगतिशील कलाकार संघको अध्यक्ष नबिन तामाङले जानकारी गर्नु भएको छ।
उपचारको लागि स्टेम सेल ( stem cell ) भन्ने औषधिको उत्पादन गरेको र उक्त औषधि हाल सम्म नेपालमा नआएको चीन, युरोप , अमेरिका र भारतको दिल्लीमा मात्र उपलब्ध रहेकोले उपचारको लागी रकम संकलन पश्चात चीन वा भारत मध्ये एक ठाउँमा लगेर उपचार गर्ने उदेश्यलेले युएई लगायत विभिन्न देशहरुमा अभियान संचालन गरीएको हो । डाक्टरसंग सल्लाह गर्दा कयौँ मेरुदण्ड भाँचेर १०/१५ वर्ष नहिडेका बिरामी यो औषधि प्रयोग गरेपछी सफल भएको जानकारी दिएकोले बम्जनले पनि सो औषधि प्रयोग गरी सफल जीवन जिउने अपेक्षा राखेका छन् ।तर डाक्टरले उपचारमा कति रकम लाग्छ भन्ने बारे भने यकिन गर्न नसके पनि कम्तीमा २५ लाख देखि ३० लाख नेपाली रुपैयाँ लाग्ने जानकारी प्राप्त भएकोले युएईमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उक्त कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल गराउनु हुन समेत आयोजकले आह्वान गरेका छन् ।

२०७४ कार्तिक २५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको