वाम एकता भित्रको रहस्य के हो ?


पृथीछक बुढा
वाम एकता वेला बखत चलिरहने गर्छ । यो हिजो पनि नचलेको होइन । आज पनि चलिरहेको छ । भोली पनि चलिरहने छ । खासगरी विशेष अबस्थाको लागि मात्रै चल्ने हो यो । यसमा वैचारिक कारण देखिंदैन । यदि यो वाम एकता हो भने हिजो बैकल्पिक शक्तिको नाममा वाम घटक देखि बाहिरिएका बाबुराम आज त्यही वाम सहकार्यमा किन देखिए ? त्यसैले यसलाई वाम सहकार्य भनिनहालौ कि ? कि भट्टराई फेरि कम्युनिस्ट वन्न आए ? प्रश्न जरुर उब्जिएको छ । यसलाई तत्काललाई यसरी बुझ्दा सजिलो होला कि यो तालमेल केवल आगामी चुनावको लागि मात्रै हो । साङ्गठानिक रुपमा एकीकरण होइन ।
यो सहकार्यमा सवैको आआफ्नै स्वार्थ त पक्कै छ । उहाँहरुले भनेको जस्तो समाजवादको लागि कम्युनिस्टहरुको एकीकरण चाहिँ पक्कै होइन भन्छु । एकीकरण त हिजो पनि आबस्यक्ता थियो । आज पनि छ र भोलि पनि हुनेछ । पहिलै किन एकीकरण हुन नसकेको हो ? किन चुनावको मुखमा मात्रै यो एकीकरण शब्दको बढी प्रयोग हुन्छ ? केही महिना अगाडी मात्रै माओवादी अध्यक्ष प्रचण्डले माओवादी काङ्ग्रेस सहकारी आगामी १० बर्षसम्म चलिरहन्छ भनेका थिए । महिना दिन नबित्दै माओवादी काङ्ग्रेसको सहकार्य धरापमा परेको छ र नेपाली राजनितिमा नयाँ कोर्ष शुरु भईसकेको छ । यता माओवादी र एमालेको वाम सहकार्य । उता प्रजातान्त्रिक शक्तिहरूको सहकार्य । सहकार्य र सहमती सुन्न थालेको पनि दशकौं भईसक्यो । निचोड दिन नसक्ने सहकार्यको जप पनि कति गरिरहनु ? फेरि चुनावकै मुखमा वाम घटकले एकता र एकिकरणको कुरा भट्याईरहंदा नेपाली राजनीतिमा कोलाहल नै मच्चिएको छ । भए त राम्रै हो तर मलाई त बिश्वास पटक्कै छैन ।
एकता र सहकार्यमा प्रचण्डको कुटिल चाल ।

गिरिजाप्रसाद कोइरालाको निधन पछि राजनिती खेलाडीको रुपमा चिनिएका प्रचण्ड नेपाली राजनितिलाई आफ्नै वरपर घुमाईरहन चाहन्छ । हिजो रक्तपात पुर्ण आन्दोलन पछि नेपालकै सर्वाधिक ठूलो दल रहेको वेलामा होस वा दोस्रो संविधान सभा पछि खुम्चिएको अहिलेको अबस्थामा नै किन नहोस, राजनिती उसैको वरपर घुमिरहेकै छ । यो कसैले नकार्नै सक्दैन ।
अहिले एमाले र माओवादीको विचमा चलिरहेको सहकार्यमा बढी फाइदा माओवादीलाई नै हुन्छ । स्थानिय निर्वाचनको मत परिणामले जनतामा आफ्नो स्थिती कस्तो छ भनेर आफुलाई राम्रोसङ्ग जांचेका माओवादी अध्यक्ष प्रचण्डले वडो कुटिल रणनीतिका साथ न्युनतम चुनावी तालमेल र बढीमा पार्टी एकताको कुरा अगाडी सारेका हुन् । यो उनको बडो चलाखीपूर्ण रणनीति हो ।
चुनावी तालमेलले मात्रै जनताको मत तान्न सकिन्न भनेर चतुर प्रचण्डले नबुझेको पक्कै होइन । जुन स्थानिय चुनावमा काङ्ग्रेससङ्गको चुनावी तालमेलले बताईसकेको छ । त्यस सहकार्यमा भरतपुर बाहेक अन्य ठाउँमा खासै अपेक्षित परिणाम आएन । त्यहाँ पनि सहकार्यले नभई ठुलो चलखेलले रेणु दाहालले जितेका हुन् भनिन्छ । त्यसैले चुनाव अघि पार्टी एकीकरणको हौवा फैलाएपछी एमाले जनको मत माओवादीको पोल्टामा आउने कुरामा प्रचण्ड ढुक्क छ । यदि पार्टी एकीकरणको हौवा नफैलाएर चुनावी तालमेलमा मात्रै जाने हो भने एमालेका कार्यकर्ताले माओवादीलाई भोट दिनु भन्दा काङ्ग्रेसको उम्मेदवारलाई जिताउने वेर लाग्दैन । त्यसैले अहिले भोट पाउनकै लागि पनि माओवादीले पार्टी एकताको प्रस्तावलाई प्राथमिकतामा राखेको हो । तर साच्चिकै पार्टी एकिकरणमा जाने हो भने एमाले र माओवादीको विचमा सैद्धान्तिक मतान्तर अबस्य छ ।
माओवादी जनयुद्ध र जनताको बहुदलीय जनवाद ।

हिजो मात्रै मशालका महामन्त्री मोहनबिक्रम सिंहले अभिब्यक्ती दिए, `नेपालमा दुईवटा एमाले आबस्यक छैन ।´ उनले माओवादी र एमालेलाई एउटै तराजुमा तौले । तर पार्टीहरुका आआफ्नै मूल्य र मान्यताहरु हुन्छन् । दुई फरक धर्मावलम्बीहरु जसको जन्म, मृत्यु र जिवनमा फरक फरक मूल्य र मान्यतामा बाधिएका हुन्छन् । कसैले गाईको पुजा गर्ला । कसैले त्यही गाईलाई भोजन बनाउला । कसैले सुङ्गुर खाला । कसैले त्यसलाई देखि नसहला । ती फरक फरक मूल्य र मान्यताका मान्छेहरुलाई एउटै छाना भित्र राख्न एउटा नयाँ सस्कृतिलाई जन्माउनु जति आबस्यक हुन्छ, त्यही अनुपातमा माओवादी र एमाले विचमा पनि लागु हुन्छ । एउटा माओको सिद्धान्तमा आधारित जनयुद्ध लडेर आएको छ । उसलाई जनयुद्ध प्रती गर्व छ । जसलाई एमालेले कथित जनयुद्ध भन्दै आईरहेको छ । माओवादीले यसलाई सजिलै त्याग्न पक्कै सक्ने छैन । उसले जनयुद्धलाई आफ्नो बिरासत मान्छ ।
उता एमालेले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवादलाई आफ्नो मन्त्र मान्छ । कम्युनिस्टहरु आफुलाई अशल प्रजातान्त्रिक भन्ठाने पनि उसले चाहेको कुरा जनवादी केन्द्रीयता र सर्वहारा अधिनायकवाद नै हो । माओवादीले यस बहुदलिय जनवादलाई सर्वहारा अधिनायकवादको बिरोधी मान्छ । माक्र्सवादी बिरोधी मान्छ । त्यसैले यी दुई पार्टी एकतामा आउने हो भने नयाँ शिरावाट सिद्धान्त स्पष्ट रुपमा खुल्नु अत्यावश्यक छ । केन्द्र देखि तल्लो निकायसम्म एकताको प्रस्तावलाई घनिभुत रुपमा बहसमा लैजानुपर्छ । तर अहिले माओवादी र एमाले भनिरहेको एकताको कुरा एक्कासी अनपेक्षित रुपमा चल्यो र अहिले चुनावी तालमेलसम्म आएको छ । तर ढुक्क भए हुन्छ, लक्षण देख्दा एकता हुने जस्तो छाँट छैन ।

 

यदि एकता भईहाले अध्यक्षमा वाजी कस्ले मार्ला ?

लगातार दुई दशक भन्दा बढी समय पार्टी अध्यक्ष रहेका प्रचण्ड बिना सोच विचार पक्कै एमालेसँग पार्टी एकतामा जाने कुरा गरेका होइनन् । आफ्नो दल कम्जोर रहेको अबस्थामा पनि यदि भित्रै आत्मा देखि नै पार्टी एकता गर्नै चाहेकै हुन् भने उसले पहिलै सोचिसकेको हुनुपर्छ । यसको लागि प्रचण्डलाई हौस्याउने एउटा मुख्य कारण एमाले भित्र मौलाएको गुटबन्दी हो ।
राजनितिक खेलाडी प्रचण्डलाई केपि गुट र माधव बामदेव विचको छ्यालब्याल अन्तरविरोधको बारेमा थाहा नहुने कुरै भएन । पदको लोभी वामदेव र माधव नेपाललाई हातमा लिएर खेल्न सके भने एमालेसङ्गको एकतापछी पनि पार्टी भित्र प्रचण्डकै पकड बलियो हुने स्थिती छ ।
इतिहासलाई केल्याएर हेरियो भने वामदेव प्रचण्डसँग निकटको सम्बन्ध राख्दै आएको छ । माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनितिक मैदानमा अवतरण गर्दाको भुमिका देखि लिएर प्रचण्ड सरकारको पालामा गृहमन्त्रालय सम्हाल्दासम्मको इतिहासले यहि वताउछ ।  केही बर्ष पहिला वामदेवले माओवादीसङ्ग पार्टी एकता गर्नुपर्छ भनेर खुवै लागे । यसो हेर्दा केपि ओलि भन्दा प्रचण्ड प्रती उदार देखिन्छन् वामदेव । त्यसैले पार्टी एकीकरण पछि वामदेव, माधव नेपाल र प्रचण्डको एउटा गुट वन्ने देखिन्छ । यसले केवि अल्पमतमा पर्न सक्छ । एकता पछी पक्कै एकताको महाधिवेशन हुनेछ । केपी ओली, माधवकुमार र वामदेवलाई सरकारको नेतृत्व देखि लिएर कुनै न कुनै प्रलोभन देखाएर प्रचण्ड आफुलाई एकता पछिको ठुलो पार्टीको अध्यक्ष बनाउने महत्वाकांक्षा लिएको सजिलै बुझ्न सकिन्छ ।

२०७४ आश्विन २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको