काठमाडौं । बुटवल उपमहानगरपालिका १० को कालिका माध्यमिक विद्यालयका शिक्षकले चक डष्टर छोडेको त धेरै भइसकेको छ । उनीहरूले ह्वाइट बोर्डमा लेख्ने मार्करको प्रयोग पनि भरसक कम गर्न थालेका छन् । अहिले चक, डष्टर र मार्करको स्थान पेनड्राइभ र स्मार्टबोर्डले लिन थालेको छ ।
विगतमा शिक्षक डायरीमा पाठ योजना बनाउने गरेका शिक्षकहरूको दैनिकी अहिले फेरिएको छ । उनीहरू पाठ योजना पनि कम्प्युटरमा र पाठ्यसामग्री पनि कम्प्युटरबाटै बनाउन अभ्यस्त भइसकेका छन् ।
‘पावर प्वाइण्टमा पाठ तयार गरेपछि बुझाउन पनि सजिलो र पढाउन पनि सजिलो,’ एक शिक्षकले भने । विद्यालयमा स्मार्ट टच बोर्डको प्रयोग गर्न हुन थालेपछि त शिक्षकलाई बारम्बार माउसमा क्लिक गर्ने बाध्यतासमेत हटेको छ ।
यस्तो प्रविधि पक्कै पनि निजी विद्यालयले गरिरहेको होला भनेर अनुमान गर्नेहरूलाई गलत सावित गर्दै बुटवलको सार्वजनिक विद्यालय कालिका माविले स्मार्टबोर्ड र मल्टिमिडियाको प्रयोग गरी ४ हजारभन्दा विद्यार्थीलाई प्रविधिमार्फत शिक्षा दिइरहेको छ । विद्यालयले परम्परागत सोचबाट माथि उठेर शिक्षकलाई बढी सक्रिय बनाएर विद्यार्थीलाई स्मार्टबोर्डमार्फत अध्यापन गर्दै आएको छ ।
शिशु कक्षादेखि १२ कक्षासम्म ४ हजार ३ सय ९७ विद्यार्थी अध्ययनरत रहेको कालिका माध्यमिक विद्यालयले विद्यार्थीको रचनात्मक सहभागिता जुटाउन र शिक्षकलाई बढी सक्रिय बनाउन स्मार्टबोर्डको माध्यमबाट कक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक घनश्याम पाठकले बताए । विद्यार्थीलाई समयसापेक्ष सिकाइ उपलब्धि हासिल गर्न यस्तो प्रविधिमा जोड दिइएको उनको भनाइ छ ।
भौतिक पूर्वाधारयुक्त यो विद्यालयले शिशु कक्षाहरूमा करीब डेढ लाखबराबरको एलईडी टीभीको प्रयोग गरेर प्रविधिमय कक्षा सञ्चालन गर्दै आएको छ । शिशु कक्षाबाहेकका अरू विद्यार्थीका लागि एउटा हलमा विषयगत पालैपालो स्मार्टबोर्डमा शिक्षकले पढाउने गर्छन् । विद्यालयले भौतिक पूर्वाधारको साथै प्रविधियुक्त आधुनिक शैक्षिक प्रविधिको प्रयोग गरेकाले विद्यार्थीको चापसमेत बढ्दै गएको विद्यालयको दाबी छ । प्रधानाध्यापक पाठकका अनुसार चालू शैक्षिक सत्रमा भर्नाका लागि २ हजार ६ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिएका थिए । ‘तर हामीले ७ सयलाई मात्र भर्ना गर्यौं,’ उनले भने ।
सो विद्यालयका छात्र राजु खत्रीले भने, ‘देशको हरेक विद्यालयमा अब प्रविधियुक्त शिक्षाको व्यवस्था हुनुपर्छ ।’ बुटवल बजारको कालिकानगरमा रहेका निजी शैक्षिक संस्थाको तुलनामा यो सामुदायिक विद्यालय अग्रस्थानमा रहन सफल भएको छ । विद्यालय दुई पटकसम्म राष्ट्रियस्तरमा उत्कृष्ट हुन भइसकेको छ । विद्यालयमा १ सय ८३ जना शिक्षक कार्यरत छन् । उनीहरू आधुनिक प्रविधिमैत्री शिक्षा अपनाउन थालेका छन् ।
विद्यार्थीलाई किताब पढेर र कापीमा लेखेर सिक्ने परम्परागत पद्धतिले मात्र पूर्ण बनाउन नसक्ने भएको छ । अहिले विद्यालयहरूले प्रयोग गरेका नयाँ प्रविधिहरूमा स्मार्ट क्लास, ई–क्लासका साथै इण्टरयाक्टिभ डिजिटल बोर्ड, ट्याब्लेटलगायत छन् । इण्टरयाक्टिभ डिजिटल बोर्डमा हातले स्याउको आकार कोर्दा रातो स्याउको तस्वीर आउँछ । यसरी पाठ्यपुस्तकको हरेक विषयलाई डिजिटल माध्यमबाट सिकाउँदा विद्यार्थीले छिटो र राम्रोसँग सिक्ने स्कूल सञ्चालकहरूको बुझाइ छ । सोहीअनुसार उनीहरूले जतिसक्दो ‘अपडेटेड’ प्रविधिको प्रयोगमा जोड दिइरहेका छन् । डिजिटल तथा प्रविधिको माध्यबाट नै विश्व एउटा सानो गाउँ भएको कुरा सत्य हो । विद्यार्थीले किताब पढेर वा सुनेरभन्दा भिज्युअल हेरेर सजिलो गरी बुझ्न सक्छन् ।
संस्थागत विद्यालयले अहिले न्यूनतम होइन, जतिसक्दो बढी डिजिटल माध्यमबाट पठनपाठन गराउन जोड दिइरहेका छन् । केही विद्यालयले विद्यार्थीलाई गृहकार्यसमेत अनलाइनमै दिन थालेका छन् । प्रविधिमा आएको परिवर्तनलाई शिक्षाक्षेत्रले आत्मसात् गर्नु निश्चय पनि सकारात्मक पक्ष हो तर प्रविधिलाई नै सबैथोक मानेर हिँड्ने हो भने यसले कालान्तरमा नकारात्मक असर देखाउने खतराप्रति पनि ध्यान पु¥याउनुपर्ने देखिन्छ । त्यसैले, यसतर्फ समयमै सजग हुन आवश्यक छ ।
सरकारले त्यसका लागि केही प्रयत्न र लगानी गर्न थालेको छ । सामुदायिक विद्यालयमा न्यूनतम प्रविधि पु¥याउने योजनासमेत सरकारले बनाएकोे छ । प्रत्येक विद्यालयका लागि पाँचओटा कम्प्युटर, इण्टरनेट, प्रिण्टर र ल्याबको व्यवस्था गरिएको बताइएको छ । उक्त योजनाअनुसार काम भएमा देशभरका ३० हजार भन्दा बढी सामुदायिक विद्यालयमा प्रविधि पुर्याउन अझै १० वर्ष लाग्छ । त्यस्तै, विकटका केही विद्यालयले मोबाइलको प्रयोगबाट विद्यार्थीलाई कखरा सिकाइरहेको पनि पाइएको छ । कम्प्युटर र डिजिटल बोर्डको पहुँच पुग्न नसकेको ठाउँमा यसलाई विकल्पका रूपमा अघि सारिएको छ ।
ममता थापा/अर्थ अभियान
प्रतिक्रिया दिनुहोस