पत्करको पहाड


– पुरुषोत्तम लम्साल

दैलो उघार्दा देखें
आँगनीमा फलेछ एक थान पूर्ण चन्द्रमा
गर्नुपर्ने त पूजा हो – आरती हो
तर म गर्दिन
अर्को छिमलमा
ग्रहण देखाइरहेछ भित्तेपात्रो
औंशी बन्छ यही चन्द्रमा
र, मलाइ औंशी मन पर्दैन।

तिहारको छेकोमा
फूलेकै हो सप्तरंगी फूल
र, इन्द्रेणी सपनाहरु
लिनपर्ने हो वासना – लठ्ठनपर्ने हो सुगन्धमा
तर कोल्टे फेर्छु म
विभ्रम र मृगतृष्णाहरुसँग डराएर
मलार्इ मृगतृष्णाहरु मन पर्दैन।

अंगुलीमालहरु
भन्ते हुँदैमा बुद्ध हुँदैनन्
मन्त्रोच्चारण गर्दैमा
वाल्मिकी हुँदैनन् रत्नाकरहरु
अनर्थ होइन
दुर्योधन र शकुनीको आलिंगन
लाक्षागृह हो भने यो
जल्नुपर्छ पुरोचनहरु नै त्यसभित्र
मलाइ लाक्षागृह मनपर्दैन।

भुईं झरेपछि
कहाँ रहन्छ फूलको पवित्रता ?
पतझड ओडेर
कुन छ खुसी हुने देवता ?
पत्करका पहाडहरु
मधुवन हुनैसक्दैनन्
आत्मदाह गर्न पंक्तिवद्ध
मन पर्दैन माहुरीहरु मलाई।

सुन फल्ने त
पत्थरको पहाडमा हो
अक्सर छिचिमिराहरु
पत्करको पहाड मन पराउँछन्।
भ्यागुत्ता र सरिसृपहरु निस्कने
को मन पराउँछ पत्करको पहाड ?

नहून् – नभैदिउन्
यी एकताहरु
भोलीका औंशी जस्ता
मृगतृष्णाहरु जस्ता
र, तिनीहरुको समाजवाद
पत्करका पहाडहरुजस्ता।

२१ आश्विन २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको