पोष्टपाटी/रोल्पा भाद्र २२, २०७४
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन नमानेको भन्दै थबाङका कम्युनिस्ट कार्यकर्तामाथि ‘अनुशासनको कारबाही’ गरेको छ । गत स्थानीय तहको चुनावमा भाग लिएर पार्टीको नीतिविपरीत कार्य गरेको निष्कर्षसहित क्रियाशील कार्यकर्तामाथि नै कारबाही गरेको हो ।
हालै चिवतनमा बसेको उक्त पार्टीको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिएका दर्जन कार्यकर्तालाई पार्टी अनुशासन तोडेकोमा निलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन सकिएलगत्तै राजधानीमा भएको बैठकमा समेत उक्त विषयमा व्यापक छलफल भएको पार्टी स्रोतले जनाएको छ । कारबाहीमा परेकामा थबाङ घर भएका उक्त पार्टीका पोलिटब्युरो सदस्य एवं प्रभावशाली नेता सन्तोष बुढामगरसमेत छन् । उनलाई निर्वाचनमा भाग लिनबाट रोक्न नसकेको आरोप लगाइएको छ ।
यस्तै क्षेत्रीय ब्युरो सदस्य जयप्रकाश रोका र युवा नेता अमित घर्तीमगर पनि कारबाहीमा परेका छन् । प्रतापमाथि निर्वाचन अभियानलाई प्रत्यक्ष सघाएकोमा र अमितलाई उम्मेदवार बनेकोमा कारबाही गरिएको हो । स्रोतका अनुसार उनीहरूमध्ये केहीलाई लिखित स्पष्टीकरण मागिएको छ भने केहीलाई पार्टीको सदस्यबाटै निलम्बन गरिएको छ । पार्टी स्रोतका अनुसार निर्वाचनको सशक्त बहिष्कार गर्दै निर्वाचन खारेजी अभियानमा पार्टीको सम्पूर्ण शक्ति लागेकै बेला थबाङका नेता–कार्यकर्ताले भने उक्त निर्वाचनलाई स्वीकार गरेका थिए । उक्त विषयलाई लिएर पार्टीभित्र लामो बहस हुँदै आएको थियो । ‘निर्वाचन बहिष्कार गर्ने पार्टीको नीतिविरुद्ध थबाङका नेता कार्यकर्ताले निर्वाचनमा भाग लिएकाले उनीहरूमाथि पार्टीले कारबाही गरेको हो,’ पार्टीभित्रको पुनर्निर्माण विभागका सदस्य सुन्दर वलीले भने, ‘पार्टी नीतिविपरीत लाग्ने जो कोहीमाथि पार्टीले अनुशासनको कारबाही गर्छ । थबाङको केस सोहीअनुसारको हो ।’ युवा नेता घर्तीले पार्टीले गरेको कारबाहीलाई स्वाभाविकै रूपमा लिएको बताए । घर्तीको नेतृत्वमा थबाङ गाउँपालिकाको निर्वाचनमा भाग लिने कार्यकर्तालाई पार्टीले साधारण सदस्यबाटै निलम्बन गरेको हो । क्षेत्रीय ब्युरो सदस्य रोकालाई समेत पार्टीले निलम्बन गरेको
छ । उनी पोलिट्ब्युरो सदस्य बुढाका अति निकट मानिन्छन् । उनले अन्तिम समयसम्मै पार्टीले निर्वाचनमा भाग लिनु ‘स्थानीय आवश्यकता र जायज’ भएको बताउँदै आएका थिए । थबाङ गाउँपालिकामा नेकपाका स्वतन्त्रका तर्फबाट एक वडाध्यक्षसहितको प्यानल विजयी भएको थियो ।
काशिराम डाँगी रोल्पा/कान्तिपुर समाचार बाट साभार
प्रतिक्रिया दिनुहोस