काठमाडौं, भदौ २० – एएफसी एसिया कप फुटबल २०१९ को छनौटमा नेपालले ताजकिस्तानसँग खेलिरहेको छ । एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा भइरहेको खेलमा प्रतियोगितामा छनौटको सम्भावना राख्न जित्नु पर्ने दबाब छ ।
नेपालको तर्फबाट सुरुवाती ११ मा किरण चेमजोङ, बिराज महर्जन, कमल श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, बिशाल राई, अञ्जन बिष्ट, रोहित चन्द, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् । नेपाल ४–४–२ को फर्मेसनमा खेलिरहेको छ ।
नेपालले अहिलेसम्म एक अंक जोडेको छ भने ताजकिस्तानले अंक जोड्न सकेको छैन । फिलिपिन्स ६ अंकसहित शीर्ष स्थानमा छ ।
https://youtu.be/KKRwl9qYe4U
नेपाली टोलीले सन् २०१६ को नोभेम्बर यता कुनै पनि खेल जितेको छैन । नेपालले पछिल्लो पटक सन् २०१६ को नोभेम्बर १५ मा एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराएको थियो । त्यसपछि नेपाली टोलीले जित निकाल्न सकेको छैन ।
मुख्य प्रशिक्षक ग्योतुकी कोजीले जापानमा तयारी गरेकाले मंगलबारको खेल प्रभावकारी हुने बताएका छन् । सकेसम्म जित निकाल्दै तीन अंक र त्यो नसके बराबरी गर्दै कम्तिमा एक अंक जोड्ने लक्ष्य रहेको उनले बताए ।
फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । छनौट चरणको समूह ‘ई’ मा रहेको नेपालले अहिलेसम्म दुई खेलबाट एक अंक जोडेको छ । नेपालसँग खेल्न लागेको ताजकिस्तानले यसअघिका दुई खेल हारेको छ । यो समूहबाट फिलिपिन्सले ६ तथा यमनले ४ अंक जोडेका छन् । यी दुई बिचको खेल पनि मंगलबार नै फिलिपिन्समा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस