पोष्टपाटी/पृथीछक बुढा
सालिक सुवेदी युएईको नौलो नाम हुँदै होइन । समाजसेवामा हरहमेशा अग्रस्थानमा हुने सालिकलाई गैरआवासीय नेपाली संघको अध्यक्षमा पाउनु युएईका चार लाख नेपालीहरुको लागि सौभाग्यको कुरा हो ।
एनआरएनको चुनाव नजिकिदै गर्दा यहाँ धेरै राजनीतिहरु भईरहेको देखिन्छ । नेपाली जहाँ पुग्छ उसले राजनिती बाहेक केही गर्न जानेको हुँदैन । चाहे नेपाली समाजको चुनाव होस, चाहे एन आर एनको चुनाव होस, चाहे सिंहदरवारको चुनाव होस, चाहे स्ववियु, पत्रकार वा ट्रेड युनियनहरुका चुनाव होउन । जहाँ पनि राजनिती । राजनिती भनेको बर्ग स्वार्थ हो । हामीहरु जे जति यहाँ श्रम गर्न आएका छौँ, हामीहरु सवैको बर्ग एउटै हो । यहि बर्गको हितमा काम गर्न सक्नेले नेतृत्व लिनुपर्छ । न कि कुनै दलको एजेन्डा बोकेको कुनै राजनितीज्ञ ।
सवैलाई थाहा भएको कुरा हो, नेपालको यो हविगत कसरी यस्तो भयो ? जनताहरुलाई सोध्ने हो भने राजनितिक दलहरुलाई नै दोष जान्छ । पक्कै जान्छ । सत्य कुरा पनि यहि हो । फोहर राजनिती भित्रका फोहरी चण्डालहरुको प्रशिक्षण पाएका मान्छेहरु समाजसेवाको नाममा यहाँ नेता वन्न खोजे । देशमा डामाडोल बनाएका जन्तुहरुको शिष्यहरु युएईको समाजहरु पनि डामाडोल वनाउन खोजे ।
यस्तो लाग्छ, नेपालीले मिलेर काम गर्नै जान्दैन । जहाँ पनि खुट्टा तान्ने प्रवृत्ति । सक्षम होस वा नहोस, आफ्नै मान्छे घुसाउने । आफुले रोजेको दलको मान्छेको लागि सिफारिस गरिहाल्ने । यति भएन भने अराजक तरिकाले कार्यक्रम बिथोल्न खोज्ने ।
नेपालमा खोलानाला वेची खाएर पल्केका, सरकारी बजेट वा बिदेशी अनुदानमा राल चुहाई लुछाचुडी गर्नेहरुको केही डि. एन. ए. मिस्कट भएर हो कि यहाँ पनि समाजका अध्यक्ष टिप्काउन राजनितिक दलका भातृसङ्गठन लुछाचुडि गरेको ।
एक हप्ता पहिले नेपाल गएर फर्किएको थिएँ, अन्तरास्ट्रिय बिमानस्थल देखि मेरो घरको चुलोसम्म राजनितिको गन्ध । प्याजको भाउ । टमाटरको भाउ । चामलको भाउ । तेलको भाउ । मेरो छोरी नर्सरीमा पढछ । हुँदा हुँदै उसले लेख्ने सिसाकलममा पनि राजनितिको गन्ध । गन्धै गन्धले वाक्क भएर फर्किएँ । युएई आएर मनोदशा ठिक हुन्छ होला भन्ने सोचेको थिएँ तर दु:खको कुरा यहाँ पनि गन्ध छ । के हो यो गन्ध ? थुतुनो उचालेर वरदुवई वरपर घुमेको के थिएँ, थाहा पाएँ, एन. आर. एनको चुनाव नजिकै आउँदै रहेछ । जहाँ पनि राजनिती ।
अरे, दाजुभाइ ! नेपाली समाजलाई एकपटक स्वच्छ सास त फेर्न देउ । जनताले तिमिहरुलाई यति घृणा गर्छ कि तिमिहरुको राजनितिको `र´ समेत उच्चारण गर्न चाहदैन । सम्भब भए त देवनागरीवाटै `र´ अक्षर हटाउने थिए । यस्तै राजनितिको अचानो शालिक सुवेदीलाई बनाईदै रहेछ । यो त बडो हास्यास्पद कुरा भयो ।
शालिक सुबेदीलाई नेपाली जनप्रगतिशिल मोर्चाको मान्छे भनेर राजनितिमा मुछ्न खोजिदै रहेछ । यसकारण कि, एन. आर. एन. युएईको अध्यक्षमा शालिक सुबेदीले उम्मेदवारी दिनवाट बन्चित होस । यस्ता बकम्फुसे गफाडीहरुलाई के भनौं ? २०१२ मा नेपाली जनप्रगतिशिल मोर्चाको तेस्रो अधिबेसनमा प्रमुख अतिथिको रुपमा अहिलेका नेकपा महासचिव युएई आएका थिए । त्यही अधिबेशनमा अतिथिको रुपमा निम्त्याईएको थियो शालिक सुवेदी । त्यतिखेर खिचेको तस्विरलाई आधार बनाएर कतिपय राजनिति गर्न रुचाउने मान्यवरले शालिक बिप्लव माओवादी हो भनेर प्रचार गर्न भ्याए । २०१२ देखि यताका अभिलेख पल्टाउन पनि तयार छु जहाँ शालिक सुवेदी मोर्चाको कुनै तहमा बसेर काम गरेको नगरेको हेर्न ।
मेरो बुझाईमा, मोर्चाले गैर आवासिय नेपाली संघ कुनै सम्बन्ध राख्दैन । यसको सदस्यता लिनु उसको बिधान बिपरित छ । यदि शालिक सुवेदी मोर्चाको कुनै सदस्य भईदिएको भए उसले एन. आर. एन.को सदस्यता नै लिन पाउने थिएन ।
शालिक सुबेदीलाई जुनसुकै कार्यक्रममा पनि निमन्त्रणा दिईन्छ । चाहे त्यो बिप्लवको कार्यक्रम होस, चाहे त्यो हिसिला यमीको कार्यक्रममा होस, चाहे त्यो अशोक राईको कार्यक्रममा होस, चाहे त्यो प्रचण्डको कार्यक्रममा होस । सवैसङ्ग हात मिलाएर फोटो खिचिएको छ । फोटो खिच्दैमा फलानो पार्टिको मान्छे भन्ने हो भने मान्यवर हो, शालिक माओवादी पनि हो, नयाँ शक्ति पनि हो, काङ्ग्रेस पनि हो । फोरम पनि हो । एमाले पनि हो । अब सुबेदीलाई मल्टि पार्टी भन्दिनुस न । कुरै खतम ।
२००७ तिरको कुरा फरक हो । त्यतिखेर भने सालिक होमिएकै थिए । इराक र अफ्गानिस्तानमा अबैध रुपमा कामदार पठाउने र चेलीबेटी बेचबिखन गर्ने दलालहरुको एउटा ठूलो गिरोहलाई पक्राउ गरि दुतावास बुझाउने वेला नेतृत्व गरेका थिए । त्यतिखेर दलाली र तस्करीहरुको लागि मुटुको किला पनि भने । तर कालान्तरमा उ व्यावसायिक भयो । सवैको साझा बने ।
प्रतिक्रिया दिनुहोस