पोष्टपाटी!
राष्ट्रिय राजनीतिमा सर्वाधिक चर्चा बनेको भरतपुर महानगरपालिका चुनावको आज अन्त्य भएको छ। भरतपुरको चुनाव अन्त्य संगै देशले ईतिहासकै प्रथम महिला मेयर पद पाएको छ। इतिहासकै पहिलो महिला मेयर बन्ने भाग्यमानी नारी माओबादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भएकी छिन ।
रेणु दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी हुन भने नेकपा एमालेका मेयर पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका हुन । अत्यन्त रोचक प्रतिस्पर्धाको बिचमा दाहालले ज्ञवाली उपर २ सय ३ मतकाे अन्तरले हराउदै चितवन भरतपुरका लागि मेयरको बाजी मारेकी हुन ।
देशकै प्रभावशाली नेता मानिने माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री हुन् रेणु दाहाल । २०३४ सालमा जन्मिएकी रेणु २०४६ सालदेखि नै राजनीतिमा सक्रिय हुन् । २०६२ सालताका रेणु जनयुद्दको उद्गमस्थल रोल्पा गएर केही समय सहइञ्चार्जको भूमिका निर्वाह गरेकि थिइन । २०६३ मा माओवादी खुला राजनीतिमा आएपछि उनि काठमाडौं जिल्ला कमिटीको सह–सचिव भएकी हुन् ।
रेणु दाहाल अहिले माओवादी महिला संगठकी महासचिवको जिम्मेवारीमा पनि छिन । उनको राजनीतिक इतिहास हेर्दा १२ वर्षको उमेरदेखि राजनीतिमा लागेको भेटिन्छ ।
पहिलो संविधानसभामा २०६४ सालमा समानुपातिकबाट सभासद भएकी दाहाल २०५२ सालमा चितवनस्थित मामाघरमा बसेर उनले कक्षा १० सम्मको स्कूले शिक्षा पूरा गरेकी छिन ।
दोस्रो संविधानसभाको चुनावमा भने उहाँले प्रत्यक्षबाटै लड्ने निधो गर्नुभयो, त्यो पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट । तर कांग्रेसका प्रकाशमान सिंहसँग उहाँ पराजित भएकी हुन् ।
भरतपुरको उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छिन । उनले ४७ हजार १९७ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेकी थिइन् ।
भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच ताल मेल भएको थियो । जस अनुसार माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर पद विभाजन गरिएको थियो । भरतपुर महानगरपालिकाका २९ वडामध्ये १४ वटा वडामा एमाले, १२ वटा वडामा कांग्रेस र ३ वटा वडामा माअोवादी बिजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस