काकी भोट यसमा है !


भवानी लिम्बु

‘आ:छुमे भोट कम्मो रो’ वाक्यको अर्थ हुन्छ ‘काकी भोट यसमा है’ सुदुर पुर्बीका लिम्बु बस्तीहरुमा जब चुनाबको मौसम सुरु हुन्छ । यस्तो धेरै अनुरोध आउछन । साइनो अनुसारले सम्बोधन गर्दै, राजनैतिक दलका स्थानीय तहका कार्यकर्ताहरु घर दैलो कार्यक्रम गर्छन । समयको गतिसंगै दलीय प्रतिनिधिहरु चुन्ने तिनै ‘आ:छुमे’ हरु प्रतिनिधि पात्र हुन । यस्ता पात्र ‘आ:छुमे’ हरुलाई राजनीतिक दल के हो ? दलहरुले के काम गर्छन ? दलको काम कर्तब्य के हो ? दलको प्रतिनिधि निर्वाचित भए पछी जनता प्रतिको जिम्मेवारी के हो ?

दलहरुले भाषणमा प्रयोग गर्ने बाद को अर्थ र महत्व के छ ? दलका नेताहरुले बिश्व समुदायसंग जोडेर गर्ने भाषणले के अर्थ दिन्छ ? दलहरुले स्थानीय तहका कार्यकर्ताहरुलाई किन घर दैलो कार्यक्रम गर्न पठाउछन ? यसरि आफ्नो काम छोडेर दलको उम्मेद्वारलाई सहयोग गर्दा के मिल्छ ? उनीहरुको दैनिक गुजारा कसरि चल्छ ? भन्ने बिषयमा ‘आ:छुमे’ हरुलाई कति ज्ञान छ ? सरकार कसरि बन्छ ? यस बारे गहन अध्यन र बहसको बिषय बन्नु पर्छ ।

जब सम्म ‘आ:छुमे’ हरुलाई उल्लेखित बिषय बस्तुमा ज्ञान हुदैन तब सम्म राज्य सत्ता के हो ? राज्य सत्ताको जनता प्रतिको उत्तर दायित्व के हुन्छ र हुनु पर्दछ ? अहिले सम्म हामीले सदुपयोग गरेको मताधिकारको सम्मान गरिएको छ कि छैन ? भन्ने कुराको ज्ञान हुँदैन । यस्ता बिषयमा जब सम्म मतदाताले जानकारी पाउदैनन र बुझ्नु चाहँदैनन तब सम्म राज्य सत्ता केहि सिमित व्यक्तिहरुको कमाई खाने बाटो हुन्छ । उनिहरुले यस्ता कुराबाट फाइदा उठाएर राज्यको सम्पत्तीलाई बिभिन्न माध्यमबाट तहस नहस गरि रहेको हुन्छन ।

हाम्रा गाउ बस्तिका ‘आ:छुमे’ हरु यति ईमान्दार हुनु हुन्छ । असार मासको एकोहोरे मकै, भदौको कोदो रोपाईं र मंगसिरको अन्न थन्क्याउने महत्वपूर्ण कामलाई थाती राखेर दलका प्रतिनिधिहरुलाई भोट दिनु बिहानबाट आफ्नो पालो नआउन्जेल सम्म पंक्तिमा खडा भएर जन प्रतिनिधिको नाम दलका नेताहरुको चुलो बाल्ने काम गर्छन । यस्ता ईमान्दार ‘आ:छुमे’ हरुलाई आफ्नो दलमा भोट दिनुको लागि स्थानीय तहका कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उनीहरुले समय र मतदाताको समस्या र पारिवारिक सम्बन्ध हुदै, प्रलोभनहरु देखाएर मतदान हुने अघिल्लो रात देखि भोलि मतदान सम्पन्न नगरुन्जेल रेख देख गर्ने काम गर्ने गर्दै आएका छन् । गाउँघरका ईमान्दार ‘आ:छुमे’ हरुले मत पेटिकामा मत खसाई सके पछि आफ्नो कर्तब्य पुरा भएको कुरा स्थानीय तहका कार्यकर्ता ब्यबहारले सम्मान स्वरुप ब्यक्त गर्छन ।

यस्ता ‘आ:छुमे’ हरुलाई राज्यबाट नागरिकले पाउने अधिकार, नागरिक प्रतिको राज्यको कर्तब्य आदि नीतिगत कुराको सहि जानकारी दिलाउनु वा बुझाउनु दलको प्रतिनिधिलाई भोट माग्ने स्थानीय तहका कार्यकर्ताहरुको महत्वपूर्ण जिम्मेवारी हुन्छ/ हुनु पर्दछ । अहिले सम्म स्थानीय तहका कार्यकर्ताहरुको काम कर्तब्य भनेको दलको उम्मेद्वारबाट चिया खर्च लिने, दलको पर्चाहरु बाड्ने, चुनाबी सभाहरुमा जमात भेला गर्ने, दलको झन्डा फहराउने, चुनाबी प्रचार प्रसार गर्ने, जसरि हुन्छ आफ्नो पक्षमा मतदान गराउने बाहेक मुख्य नीतिगत कुराहरुलाई भने ‘आ:छुमे’ हरु विच प्रस्ट रुपले प्रस्तुत गरेको देखिंदैन । जे जति काम हुन्छन दलीय हैसियतमा मात्र हुन्छन ।

दलका जिल्ला स्तरका नेताहरुले स्थानीय तहमा खुलेर आफ्नो कार्यकर्ता माफर्त तत्कालिन कार्यनीति, भाबी योजना र चुनौतीको बारेमा जनजागरण, बहस र जानकारी गराउदैनन ।त्यस माथि स्थानीय तहको हित र विकासको लागि आवस्यक राज्य संचालन तथा कार्यनीति सम्बन्धित शिक्षाको अभाब ‘आ:छुमे’हरुले महसुस गर्न नसक्नु र स्थानीय तहको आवस्यकता अनुसार राज्य संचालनमा कार्यनीति नबन्नुले नेपालको राजनीति अहिले सम्म प्रयोगात्मक हुन सकेन/ सकेको छैन । पुरानै सैदान्तिक ज्ञानको प्रयोगले भए पनि आवस्यक समस्याहरु पहिचान गरि त्यसको आधारमा कार्यनीति निर्माण गरेर भाबी योजनाहरु प्रस्तुत गरि मतदाताहरुको मन जित्नुको साटो बिपक्षी उम्मेद्वारको खण्डन गर्ने र जनमत आफ्नो नियन्त्रमा लिने मूल नीति लिएका छन । यस्तो नीतिले गर्दा उनीहरुले कहिले आफ्नो कार्यकर्ताहरुलाई राजनीनितिक प्रशिक्षण गरेको हुदैन जे जसरि भए पनि साम, दाम, दण्ड र बेदको सदुपयोग गरेर जीत आफ्नोलागि सुरक्षित राख्ने नीति लागु गरिएको पाईन्छ।

जिल्ला नेताहरुको मुख्य उद्देश्य बिकाश भन्दा केन्द्र र ग्रामिण तहको साघुको भूमिका गर्ने र आफ्नो दिनचार्य गुजारा गर्ने भन्दा माथि उठ्न सकेको अवस्था छैन । अर्को तर्फ जिल्ला नेताहरुले चुनाबमा धेरै सम्पति खर्च गर्ने चुनाबी खर्चको बहानामा पार्टीलाई चन्दादेखि तल्लो तहका कार्यकर्तालाई खर्च व्यवस्थापन तथा मत खरिद्ने काम सम्म गरिएको हुन्छ । यस्तो खर्चको श्रोत भनेको स्थानीय ब्यबसायी, बैदेशिक रोजगारमा हुने आफन्त नै मुख्य स्रोत हुन । जब चुनाब जित्छन उनीहरुले आफ्नो खर्च ब्यबस्थापन गर्नुको लागि बिभिन्न जुक्तिहरु निकाल्ने गर्दछन । यस्तो जुक्तिमा मतदाताहरु मारमा परेको हुन्छन किन भने उनीहरुले मतदातासंग प्रतक्ष सरोकार राखेको हुन्न, जुन स्थानीय तहका कार्यकर्तालाइ चिया खर्चबापत आफ्नो कर्तब्य पुरा गरेका हुन्छन । जिल्ला स्तरका नेताहरुको स्वार्थले गर्दा ग्रामिण बिकाशमा अहिले सम्म उलेख्य सुधार हुनु सकेको छैन ।

राजनीतिक दलको केन्द्रिय संरचना भनेको, नाताबाद, कृपाबाद, परिवारबाद, माफियाबाद र भ्रस्टहरुको झुण्डले घेरिएको एक फोहोरी तलाउ जस्तो देखिन्छ । केन्द्रले जन प्रतिनिधि छनोट गर्दा, स्थानीय तहका इमान्दार र जिल्ला स्तरका दुरदर्शी, बिकाश मुखी नेता भन्दा पहुचको भरमा प्रतिनिधि छान्ने काम गर्छ । जसले गर्दा बिकाश भन्दा पनि झुण्ड र स्वार्थको राजनीति सुरु हुन्छ भने स्थानीय तहमा योगदानको कदर नभएर दलिय स्थानान्तरको काम हुन्छ । जुन कुराले संचार माध्यमको सहयोगमा हल्लाको राजनीति सृजना गर्दछ । जहाँ विचार त सुन्य हुन्छ नै दू:ख लाग्दो कुरा बिचारको ठाउँमा स्वार्थ हाबी भएको हुन्छ ।

यस्तो अबस्थामा हामीले कस्तो दल र उम्मेद्वार चुन्ने भन्ने कुरामा जोड दिनु सकिएन भने राज्य सत्ता एक आयोग व्यक्तिहरु झुण्डको हातमा पुग्छ । हामीले यी बिबिध कुरालाई चिन्तन मनन गरेर, स्थानीय तहबाट नै मत सहि सदुपयोग गर्न सक्नु पर्छ । हाम्रा ‘आ:छुमे’ हरुलाई सहि तरिकाले नीतिगत कुरा प्रस्ट गराउनु सक्ने स्थानीय तहका कार्यकर्ताहरु पहिचान गर्न सक्नु पर्छ । हामीले गरेको १ मिनेटको गल्तीले हाम्रो भाबी सन्तानहरु अध्याँरोमा बस्नु बाध्य हुने छन् ।सत्ता प्राप्तिको नीति लिएका दलहरुलाई स्थानीय तहका जनताले हाम्रोलाई होइन राम्रोलाई जिताउने प्रयत्न गर्नु पर्छ ।तमाम ‘आ:छुमे’ हरुले सोचेर निर्णय लिने दिन आएको छ । बिचार चोगे ।

२०७४ कार्तिक १७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको