काठमाडौं । राष्ट्रिय जनता पार्टी, राजपा अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् । आफूलाई ‘स्वतन्त्र राजनीतिक समूह’ भन्दै उनीहरु एमालेको सूर्य चिह्नबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् ।
सूर्य चिह्नबाट चुनाव लड्ने भएपनि एमाले भने प्रवेश गरि नसकेको दावी गरिएको छ । एमालेले निकालेको प्रेस विज्ञप्तिमा पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको उल्लेख गरिएको छ ।
सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल र समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गर्नुभएको छ ।
पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वरदयालको कपिलवस्तु तथा पशुपतिदयाल र शुक्लाको बाँकेमा पर्दछ । ६ वटा मधेशकेन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सह–अध्यक्ष त्रिपाठी असन्तुष्ट रहँदै आएका थिए ।
”स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्”, जारी विज्ञप्तिमा भनिएको छ, “ तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ।” news24 nepalबाट साभार ।
प्रतिक्रिया दिनुहोस