पोष्टपाटी/पृथीछक बुढा मगर, १७ भाद्र
कहिलेकाही सोच्छु, नेपाली समाजको मगजमा बिकृत छ अथवा मेरो मगजै गतिलो छैन । मैले बिचार गर्छु, समाजमा विद्यमान पाँच प्रधान अन्तरविरोधहरुमा जगडिएको छ । जस्तै : जात, धर्म, राष्ट्रियता, बर्ग र लैङ्गिक असमानता । यी पाँचै अन्तरबिरोधहरु मानव सभ्यताको लागि सबैभन्दा हानिकारक बिषको रुपमा मान्छु । यि त बन्धन हुन् । यसले सत्य र असत्य छुट्टाउन सक्दैनन् ।
यस मध्ये जातिय समस्या नेपालको परिपाटीमा झन यो ठूलो समस्याको रुपमा खडा भएको छ । नेपालको तर्फबाट अन्तरास्ट्रिय स्तरमा विभिन्न प्रतिभा र समाजसेवीहरुले भाग लिए । चाहे त्यो सि एन एन हिरो अनुराधा कोइराला र पुष्पा बस्नेतको कुरा होस । चाहे त्यो प्रसान्त तामाङको इन्डियन आइडलको कुरा होस, चाहे त्यो टेरिया फौजा मगरको डान्स इन्डिया डान्सकै कुरा होस । चाहे, अहिले चर्चामा आएको नेपाल आइडलको प्रसङ्ग नै किन नहोस ।
त्यहाँ कुनै न कुनै रुपमा राष्ट्रियता र जातिय लेप लागेकै छ । यसले प्रतिभालाई भुत्ते बनाईदिन्छ । नेपाली जनता राष्ट्रियताको मामिलामा वडो गम्भीर छ । त्यो सत्य कुरा हो कि, यदि नेपाली जनले भोटिङ नगरेको भए मैले माथी भनिएका प्रतिस्पर्धीहरुले सजिलै जित हासिल गर्न सक्दैनथे । मैले यो भनेको बिलकुलै होइन कि जो जतिले जिते तिनिहरुको प्रतिभा नै छैन ।
जात र राष्ट्रियता विचमा नआईदिएको भए पनि जित्न सक्थे अथवा नजित्न पनि सक्थे ।
सभ्य मुकुकहरुमा यस्ता जात र राष्ट्रियताका सवालहरुमा खासै ध्यान दिईदैन । ध्यान दिइन्छ त केवल प्रतिभालाई । भारतिय नागरिक प्रशान्त तामाङलाई नेपाली जनले अभियानै चलाएर भोट गरे । यसकारण कि उ नेपाली भाषी थियो । यो कुरा नकार्न सम्भब थिएन कि उ भन्दा अब्बल गायकहरु त्यस प्रतिस्पर्धीहरु थिए । तर प्रशान्तले जिते । यसकारण कि उसलाई नेपाली जनको पुराका पूरा साथ थियो । यो कुरा होइन कि उसमा प्रतिभा नै थिएन । थियो ।
यति मात्रै भनिरहेको छु कि, यदि प्रशान्त तामाङ नेपाली भाषी नहुँदो हो त ! जित्न पनि सक्थे । नजित्न पनि सक्थे । नेपालीले भोट दिन पनि सक्थे । नदिन पनि सक्थे । तर यति चाहिँ भन्न सकिन्छ कि उ यदि कुनै बिदेशी भाषी भईदिएको भए उसलाई जिताउनको लागी नेपाली जनले अभियानै चाहिँ चलाउने थिएन । यो पक्का हो ।
टेरिया फौजा मगर, लिटिल डान्स इन्डिया डान्समा प्रतियोगिता जिते । उसलाई पनि नेपाली जनको पूरा साथ थियो । यसकारण कि उ प्रतिभाशाली पनि थिई र राष्ट्रियताको मामिलामा उ नेपाली चेली थिई । टेरिया फौजाको हाराहारीमा अरु पनि त थिए तर अधिकाश नेपाली जनले भोट दिने भनेको टेरियालाई नै थियो । यसमा पनि राष्ट्रियताले काम गरेको थियो ।
आजभोली नेपालमा नेपाल आइडलको सिजन चलिरहेको छ । केही जजहरु बिबादमा पनि मुछिए । आफै मुछिने काम गरे, अथवा अरुले मुछे? कुनै न कुनै रुपमा त्यहाँ जातीयताको गन्ध देखिन्छ ।
अचेल सामाजिक संजालमा यहि प्रचारको माहोल छ, कोहि लामाको पक्षमा, कोहि आले मगरको पक्षमा, कोहि भट्टराईको पक्षमा, कोहि दासको पक्षमा । नेताले जसरी भोट माग्छ, उस्तै तरिकाले प्रचार भईरहेको छ । सामाजिक संजालमा हरेक जसो यस्ता अनुरोध गरिएका म्यासेजहरुले इनबक्स भरिएका हुन्छन् जसमा कुनै न कुनै आइडोललाई भोट गर्नुस भनेर भनिएको हुन्छ ।
यदि बुद्ध लामालाई भोट गर्न कसैले अनुरोध गरेको छ भने या त त्यो लामा, सेर्पा वा तामाङ नै हुन्छ । यदि सागर आलेलाई भोट गर्न भनिएको छ भने त्यो मगर समुदायको मान्छे नै हुन्छ । यदि निशान भट्टराईलाई भोट गर्न भनिएको छ भने त्यो जरुर बाहुन वा क्षेत्री नै हुन्छ । जातिय चस्माले हेरियो भने प्रतिभा मर्छ । अन्याय हुन्छ । यदि जातिय भावनावाट माथी उठियो भने त्यो जरुरत छैन कि मगरले सागर आलेलाई भोट गरुन । त्यो जरुरत हुनेछैन कि बुद्ध लामालाई कुनै लामा, तामाङ वा सेर्पा समुदायले भोट गरुन । त्यो पनि जरुरत हुने छैन कि कुनै बाहुन वा क्षेत्रीय समुदायले निशान भट्टराईलाई भोट गरून् ।
हामी सधैं न्याय र अन्यायको कुरामा बहस गर्छौं । न्यायकै पक्षमा बकालत गर्नुछ भने जातिवाद भन्दा माथी उठ्नै पर्छ । न्यायकै जित होस भन्ने चाहन्छौं भने जातिय धरातल भन्दा माथी उठ्नै पर्छ । नत्र नेपाल आइडलको बिजेता आम नेपालीको आइडल वन्न सक्दैन । बन्छ त केवल जातिय आइडल । यस बिषयमा बुझ्न आबस्यक छ कि जात भन्दा हामी माथि उठनै पर्छ र प्रतिभालाई सम्मान गर्नैपर्छ । तब नेपाल आइडलको सार्थक रहन्छ ।
प्रतिक्रिया दिनुहोस