पोष्टपाटी/युएई
यसपाली घर फिर्ने समय नजिक आउदै छ, युएईको सरकारले डोरी लाहुरे बन्न नपाइने नीति ल्यायो, र युएईबाट आफ्नो घर फिर्ने परदेशीले अब उप्रान्त आफ्नो लगेजमा डोरी कसेर फिर्न मनाही छ, त्यसैले यो दशैँमा म फिर्दा लगेजमा ताला पनि नझुण्ड्याएर केवल चकलेटको पोको बोकेर आउदै छु, चाहा भए खोलेर खानु मेरो कुनै गुनासो हुनेछैन। म यो खबर बिमानस्थलमा परदेशीको झोला कोपर्ने तिनै भिखारीहरुलाई सुनाउदै छु।
सक्नेले पैसा तिरेर एरपोर्टबाट लगेजमा रेडिमेड र्यापिंग गराउने छन्, नसक्नेले केवल युएईको अढाई रुप्पेको ताला लगेजमा झुण्ड्याएर आउने छन् । तिनीहरुको झोला कोपर्ने चेष्टा चाहि नगर्नु, मेरो झोला भने खुल्ला हुनेछ जे गर्न मन लाग्छ त्यहि गर्नु।
किन कि हिजोको जस्तो ‘लगेजको ताल्चा काटेर, चकलेटको पोको फुटाएर बारम्बार आफुलाई भिखारी सिद्द नगर्नु बिन्ति छ ! अर्थात मेरो नामको ट्याग झुण्डिएको लगेज फुटाएर चकलेट खाएको भिखारी इतिहास म हेर्न चाहान्न प्लिज। तसर्थ ताला बिहिन लगेज ल्याएर आउने छु, त्यसमा चकलेट हुनेछ, निकालेर खानु परदेशीको कोशेली स्वरूप हुनेछ!
म बाचा गर्छु, कुनै र्यापिंग नगरी ताला समेत नझुण्ड्याएर चकलेटको पोको बोकेर यो दशैँमा आउदै छु, आफ्नो औकात देखाएर खानु । तर मलाई तिमीहरुले आफ्नो धरातल नाप्ने हैसियत भने दिनु पर्छ, त्यो भनेको यदि मेरो चकलेट सकुसल भयो भने सम्झने छु भिखारीहरु एरपोर्टबाट लोप भै सकेछन, यदि चकलेट कत्ल्याम भयो भने सम्झने छु अझै भिखारीहरू ज्युदै रहेछन्।’
तर यसमा तिमीहरु प्रति मेरो कुनै गुनासो भने हुनेछैन, गुनासो हुनेछ त केवल गणतन्त्रको आगनमा हुर्किएको मेरो देशको कानुन प्रति गुनासो हुनेछ किनकि यो दुनियाँलाई थाहा छ, यो देशको फितलो कानुनको आडमा एरपोर्टमा तिमी जस्ता भिखारीहरू युग देखि युग सम्म बाँची रहेका छौ र म जस्ता बेचिएका मानवको निरीहता बोकेको झोला कोपरी रहन्छौ, र्दोष तिनै झोलाहरु बेपत्ता बनाइ रहन्छौ।
उसो त बेचिएको मान्छे घर फर्कदा उसको झोला कोपरेर चकलेटसमेत नछाड्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका भन्सारवाला कर्मचारीहरु आफुलाई भिखारी भएको धेरै पटक सिद्द गरिसकेका छन्। त्यसैले पनि मैले दुखका साथ् भिखारी भन्नै पर्छ।
नैतिकताको तराजुमा इमान र बेइमानलाई नापेर हेर्ने शक्ति गुमाएको हिजै देखि हो, अब यहाँ तराजुमा इमानको भ्यालु जोख्नुको अर्थ के नै रह्यो र, जुन इमानको भारीभर्कम त्यही परदेशीको सानो चकलेटको पोको फुट्दा संगै फुटेर छताछुल्ल भयो । एउटा परदेशीको सामान्य चकलेटको पोकोसमेत बाँकी नराखेर खाइहाल्ने एयरपोर्टका भन्सारवालाहरुलाई भिखारीको नै हुन् । यसका साँछी परदेशीका झोलाहरु हुन्, स्वयम उनीहरुका कठोर ढुङ्गाका हृदयहरु हुन्। त्यसैले एर्पोटको मगन्ते ड्युटीबाट घर पुगे पछी एक पटक आफ्नो अनुहार ऐनामा हेर्नु।
घरपरिवार छोडेर सीमापारि वर्षौं कटाएर, मुहारमा अलिकति उज्यालो बोकेर घर फिर्न खोज्दा तिमि भिखारीहरुका कारण निर्दोष परदेशीहरु निधारमा अँध्यारो जिवितै राखेर फिर्नु पर्ने बाध्यकारी अबस्था देशको फितलो न्याय प्रणालीको उपज हो ! अब अरु कसलाई दोष दिनु ।
दुई पैसा कमाएर आफ्ना लालाबालाहरुको मन बुझाउन बोकेर ल्याएको एउटा चकलेटको पोको समेत बेपत्ता हुन्छ भने, अरु के के चिज बेपत्ता भएनन् होलान छातीमा हात राखेर फेरी एक पटक आफै सोच्नु ! परदेशीलाई हिजो डोरीलाउरे बनाउने तिमि एरपोर्टका भिखारीहरू हौ। आज कर्म भुमिको युएई राज्यले डोरी लाउरेबाट फुकुवागरि घर पठाउदै छ। हुन त तिम्रो कारण डोरी लाउरे बन्दा पो चकलेटको पोको जीवित रहेन भने डोरी लाउरेबाट मुक्त हुँदा पनि कुनै दुखेसो छैन।
बरु परदेशीको इतिहासमा डोरी लाउरेको मेरो एउटा यात्रा अन्त्य भएको छ, शायद एरपोर्ट तिम्रो भिखारीपनको यस्तै बिगबिगी रहिरह्यो भने, परदेशीहरुले आफ्नो झोलाको सुरक्षार्थ पक्कै आफ्नो बिकल्प खोज्नेछन र डोरीलाउरे भनेर चिन्निने परदेशी अरु कुनै फलानो लाहुरेको नाममाबाट पुनः उपहास भैरहेको हुनेछ।
देशबाट बिबिध कारण बाहिरिएकाहरु घरभित्र पस्नै लाग्दा सुरक्षित महसुस् गर्नुपर्ने हो तर पराइ भुमि छोडेर आफ्नै जन्म भुमि पस्दै गर्दा धेरै असुरक्षित ठान्छन किन ? घर फिर्ने यात्रा थाले देखि स्वयम यात्रीलाई भन्दा घरका परिवारजनलाई इन्तु न चिन्तुले आफन्तलाइ पोल्ने गर्छ किन ?
यो सब तिम्रो कारण हो, तिम्रो भिखारी पनले गर्दा हो! खासमा तिमीहरुले नै त्रिभुवन विमानस्थललाइ एक अजीवको लुटघाट बनायौ, जहाँ उपस्थित हुँदा चिसो मुटु बनाई दिन्छौ, एक पल्ट झोला खोलेर हेर्ने बनाउछौ, आफ्नै खल्ती छाम्ने बनाउछौ। रुँदै परदेश पस्नेहरु पुनः मुटु चिस्याउदै त्यहि लुटघाटको नाका हुँदै फिर्नु पर्नेछ, जसको प्रत्यक नाकामा दैत्यराजहरु दिलमा काँडा उमारेर हृदयहीन ठिङ्ग उभिएका छन्।
त्यही एयरपोर्टबाट दैनिक रुँदै परदेश पस्दा देख्ने दैत्यराजका चिसा आँखाहरु, त्यही परदेशी फर्किँदा लुट्ने हृदयहीन फुस्रा आँखा बनेर ढुकेर बसिरहेका हुन्छन् । र, नुनदेखि सुनसम्म चोर्न कुनै कसुर बाँकी राखेनौ ।
सोच्दा पनि अजीव लाग्छ, मानवताको पहिचान के होला ? सभ्यताको अर्थ कस्तो हुन्छ होला ? नैतिकता भन्ने चिज कहाँ भेटिन्छ होला ? यस्तै यस्तै…. ।
गणतन्त्र फुलिरहेको आगनमा जव यो परदेशीको पाइलो पर्छ, तव नीति नियम बिनाको आदिम युगको चपेटामा आफु उभिएको भान हुन्छ, सम्भवतः यो मलाई मात्र हुदैन। त्यो तिम्रो कर्तुत भिखारी हर्कतले बनाएको हो।
खैर, एयरपोर्ट भन्सारका तिमि भिखारीहरुको कर्तुतबारे बयान गरी साध्य छैन । त्रिभुवन विमानस्थलको जति वयान गर्यो, त्यति आफू नाङ्गो भैरहेको अनुभूति हुन्छ । बरु परदेशी हुनुको नाताले मुटुमाथि ढुङ्गा राखी यति भन्छु- त्रिभुवन एयरपोर्टका भिखारीहरुलाई एउटा चक्लेटको पोको सित्तैमा लगेर जानुहोला ।
हुनत भोको पेटको चाखे थापेर पेट भर्ने भिखारी बनेकाहरु प्रति जति भन्यो उति नै आफ्नै मुखभरी हिलो छ्यापिन्छ । खासगरि देशको सबै भन्दा ठुलो भिखारी सिहदरबार भित्र बसेका छन्। तिनै भिखारीहरुले बनाएको कानुन हात्तिको दाँत हो भन्ने कुरा बुझेर एरपोर्टका भिखारीहरुले आफ्नो लुटको घाट नै बनाए। कारण देखाउने हात्तिको दात हो त्यसले टोक्न जान्दैन, अर्थात देशको कानुन गोर्खे लौरी चलाउन होइन केवल यिनीहरुलाइ देखाउन बनाइएको हो।
दलाली राज्य यसरि नै चल्छ नत्र चल्नै सक्दैन, किन कि सिहदरबारका भिखारीहरूले श्रम शक्ति खर्चिने हैसियत गुमाई सकेका छन् र केवल मागेर देश चलाउने हैसियत बनाई सकेका छन्। देश भित्र नै युवाहरुको श्रम र शक्ति खपत गर्न नसक्नेहरुको अन्तिम राज्य संचालनको बिकल्प नै दलाली संयन्त्र हो। जुन संयन्त्रले श्रमिक युवाहरु र निर्दोष नागरिकहरुलाई रुवाबासी पारेर देश चलाउने हो। बरु कानुनलाई नै गोलि मार्ने हो।
–केबी गुरुङ युएईबाट
प्रतिक्रिया दिनुहोस