काठमाडौं/पोष्टपाटी
एमाले अध्यक्ष केपी शर्मा ओलीले रोल्पा-रुकुममा अहिलेसम्म लोकतन्त्र नै नआएको टिप्पणी गर्नुभएको छ।
काठमाडौं जिल्लाका महानगरपालिका र नगरपालिकाका निर्वाचित मेयर–उपमेयर र कार्यपालिका सदस्यलाई प्रशिक्षण दिँदै ओलीले भन्नुभयो, ‘रोल्पामा एउटा गाउँपालिका जित्यौं, माओवादीले घोषणा नै गर्न दिएन। त्यहाँ अहिलेसम्म लोकतन्त्र नै आएको छैन। आतंकको छाया पनि कस्तो छ भने एमालेले जित्यो तर जितेको घोषणा गर्न पाइँदैन भन्छन्।’
एक–दुईवटा गणना सुरु नहुँदै सञ्चारमाध्यममा एमालेले धक्का खाएको भनेर प्रकाशित समाचारप्रति ओलीले असन्तुष्टि पोख्नुभयो। ‘हिजो अनलाइन हेर्नुभयो होला, दुईवटा वडाको मतगणना गर्न पाएको छैन, पहिलो रुझान एमालेलाई धक्का भनेर आयो’, उहाँले भन्नुभयो, ‘कति हतार छ हेर्नुस् त ! दुइटा वडा गन्या छैन झापामा ओली कमजोर भनेर लेखिसके।
दमकमा एउटा वडा जित्न लाग्दा नारा–जुलुस भो, उत्पात भो। आजसम्म गणना स्थगित छ। एमाले अरूलाई आतंक भएको छ।’ राष्ट्रियता, लोकतन्त्रको संरक्षण र सम्बद्र्धन गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन जनप्रतिनिधिहरू जिम्मेवार बन्नुपर्ने ओलीले बताउनुभयो। ‘हामीले संविधान बनाउन भूमिका खेल्यौं।
राष्ट्रियताको रक्षा र संविधान कार्यान्वयनका लागि सरकार कस्तो चल्नुपर्छ, त्यो कुरा सरकारको नेतृत्व गर्दा देखायौं’, उहाँले भन्नुभयो। ओलीले राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित सम्बद्र्धन गर्न जनप्रतिनिधिलाई सुझाउनुभयो। अहिले गठजोडवाला, अपवित्र, कृत्रिम सरकारले राज्य हाँकिरहेको र सरकार देश हितलाई गम्भीर रूपमा नोक्सान पार्न प्रतिबद्ध रहेको दाबी उहाँले गर्नुभयो। पहाड र तराई छुट्याएरै छोड्ने आपराधिक योजनामा सरकार रहेको आरोप ओलीले लगाउनुभयो अन्नपूर्ण पोष्टमा खबर छ।
प्रतिक्रिया दिनुहोस