क्यान्सर के हो ?
सामान्यतः अनुशासनमा बस्ने शरीरका कोषहरु (cells) ले आफ्नो कर्तव्य बिर्सिन्छन् र एकाएक हतार हतार बढ्न थाल्छन् , बाँडिन थाल्छन् र त्यसले गर्दा शरीरमा समस्या आउँछ । यही क्यान्सर हो । क्यान्सरको अर्को नराम्रो बानी एउटा ठाउँबाट अर्को ठाउँमा सर्ने हो । एउटा अंगमा उम्रेको क्यान्सर छेउकै अंग अथवा टाढाको अंगमा फैलियो भने त्यसलाई मेटास्टासिस भएको भनिन्छ । (Metastasis)
क्यान्सर कुन कुन अंगमा हुन सक्छ ?
क्यान्सर कुनै पनि अंगमा हुन सक्छ । पुरुषहरूमा फोक्सोको क्यान्सर , मुखको क्यान्सर धेरै भेटिन्छन् भने महिलाहरूमा पाठेघरको मुख (cervix) र स्तनको क्यान्सर ।
क्यान्सर किन हुन्छ ?
क्यान्सर किन हुन्छ को उत्तर त्यति सोझो छैन । केही क्यान्सर वंशाणुगत हुन्छन् भने फोक्सो, मुख आदीको क्यान्सरको धेरै जसो कारण चुरोट र खैनी हो ।
हामीले हेर्ने यस्ता क्यान्सरका बिरामी मध्ये ८० प्रतिशत भन्दा धेरैले चुरोट वा खैनी खाएका हुन्छन् । मैले क्यान्सर मात्र हेर्न थालेको ५ बर्षमा चुरोट/खैनी नखाएर पनि फोक्सो र मुखको क्यान्सर भएका बिरामीहरू निकै कम भेटेको छु । सोझै भन्नु पर्दा चुरोट वा खैनी नखाने मान्छेलाई फोक्सो वा मुखको क्यान्सर हुने संभावना निकै कम हुन्छ । अन्य जोखिमहरूमा मोटो शरीर, वातावरणको प्रदूषण, खानामा प्रयोग हुने केमिकल र कीटनाशकहरू पर्छन् ।
क्यान्सरको उपचार
अपरेसन:
काटेर फ्याल्न मिल्ने छ भने क्यान्सरको अपरेसन गरिन्छ । जहाँ रोग छ, त्यो भाग काटेर हटाउनु नै क्यान्सरको अपरेसन हो । तर धेरै पटक काटेर निकाल्नै नसकिने अवस्थामा क्यान्सर भेटिन्छ । टाउको र घाँटी, रगत वा अरु निकाल्नै नमिल्ने अंगमा क्यान्सर भएको छ भने पनि अपरेसन सम्भव नहुन सक्छ ।
किमोथेरापी:
क्यान्सरका औषधीलाई किमोथेरापी भनिन्छ । आजकल सयौं प्रकारका किमोथेरापी बनेका छन् । केही क्यान्सर किमोथेरापीसँग सजिलै निको हुन्छन् भने केहीलाई किमोथेरापीले छुँदैन । हरेक किमोथेरापीका आ-आफ्नै राम्रा र नराम्रा असरहरु हुन्छन् । सामान्यतया ‘कपाल झर्छ’, ‘वाक्वाक् हुन्छ’ भनेर सोचिए पनि सबै किमोथेरापीले त्यस्तो गराउँदैनन् ।
रेडियोथेरापी:
रेडियोथेरापी भनेको रेडियसनको प्रयोगले क्यान्सरको उपचार गरिने प्रविधिलाई भनिन्छ । नेपालीमा रेडियसनलाई विकिरण भनिन्छ, सामान्य भाषामा भन्नु पर्दा, अलि बढि ताकतका एक्स-रे भनेर बुझ्दा पनि हुन्छ । रेडियोथेरापी गर्ने विभिन्न मेसिनहरु हुन्छन् र उपचार केही मिनेट प्रति दिन, हप्तामा ५ दिन गरेर, ६ हप्ता जति हुन्छ । खोई किन हो, रेडियोथेरापी लाई हाम्रा बिरामीहरूले ‘सेकाई गर्ने’ भन्नुहुन्छ। यो शब्द आफैंमा गलत छ, किन भने रेडियोथेरापी गर्दा पोल्दैन, न त दुख्छ, बिरामीले केही थाह पाउनुहुन्न । रेडियोथेरापी सुरु गरेको २-४ हप्तामा कसै कसैको छाला अलि कालो हुन सक्छ । अरु प्रतिकूल असर के हुन्छन् भन्ने कुरा रेडियोथेरापी कुन अंगमा गरिँदैछ मा भर पर्छ । धेरै जसो बिरामीहरूले रेडियोथेरापी सजिलै लिनुभएको मैले पाएको छु ।
नेपालमा क्यान्सरको उपचार
नेपालमा क्यान्सरको अपरेसन धेरै वटा अस्पतालमा हुन्छन् र किमोथेरापी पनि धेरै वटा अस्पतालमा लगाउन मिल्ने भएको छ । क्यान्सरको उपचारमा आजकल निकै प्रगति भएको क्षेत्र रेडियोथेरापी हो । नेपालमा नपुग्दो हुने गरि थोरै भएको पनि रेडियोथेरापी नै हो ! रेडियोथेरापी हुने नेपालमा जम्मा ४ वटा अस्पताल छन् । सबै भन्दा पुरानो, बीर अस्पताल हो, त्यस पछि भक्तपुर क्यान्सर अस्पताल । भरतपुर स्थित क्यान्सर अस्पताल र मणिपाल कलेज पोखरामा पनि यो सेवा उपलब्ध छ ।
यो बाहेक भक्तपुरमा निजी लगानीमा काठमाडौं क्यान्सर सेन्टर खुलेको छ जसमा नयाँ प्रविधिको रेडियोथेरापी र किमोथेरापी गरिन्छ । हरिसिद्धिमा पनि नेपाल क्यान्सर अस्पताल खुलेको छ जसमा क्यान्सरको सबै उपचार सम्भव छन् । मैले काम गर्ने ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले पनि क्यान्सरमा लगानी गर्ने बाटोमा अघि बढेको छ, अपरेसन र किमोथेरापी सेवा दिइरहेको यो अस्पतालमा रेडियोथेरापी पनि थपियो भने हामी पनि साच्चिकै क्यान्सरको उपचार गर्न सक्षम अस्पताल हुनेछौं ।
भविष्य ?
क्यान्सरको उपचारको क्षेत्रमा हरेक दिन केही न केही नयाँ आइरहेका हुन्छन् । केही दशक अघि पार पाउन नसकिने भनिएको क्यान्सर बेलामै भेटिए निको हुन थालेको छ । विश्वास के गर्न सकिन्छ भने बर्षहरु बित्दै जाँदा, नयाँ औषधि, नयाँ प्रविधि आउनेछन् जसले गर्दा क्यान्सर पनि सजिलै निको हुने रोग हुनेछ र समाजमा रहेका नकारात्मक कुराहरू कम हुँदै जान्छन् ।
माथि उल्लेखित बाहेक नेपालमा अन्य नयाँ क्यान्सर अस्पताल खुल्ने तरखरमा छन् । टिचिङ अस्पतालले धेरै वर्ष भयो कोसिस गरिरहेको । निजामती अस्पतालमा पनि खुल्ने रे भनेको सुनिन थालेको छ । निजामती अस्पताल मै नेपालमा पहिलो पटक बोन-म्यारो प्रत्यारोपण गरेर रक्तक्यान्सरको सफल उपचार पनि सुरु भएको छ । यसरी नै नयाँ सुविधा सम्पन्न क्यान्सर अस्पतालहरू नेपालका विभिन्न भागमा खुल्न थाले भने नेपालमै सजिलै उपचार सम्भव होला क्यान्सरको ।
अन्त्यमा :
१. रेडियोथेरापी भनेको सेकाई होइन ।
२. जब सम्म हाम्रो देश र हामी क्यान्सरको उपचार सजिलै गर्न सक्ने गरी धनी हुँदैनौ, चुरोट नखाएकै बेस ।
क्यान्सर बिशेषज्ञ, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी, काठमाडौं ।
प्रतिक्रिया दिनुहोस