काडमाडौं । सरकारले आइतबार नेपाल प्रहरीको प्रमुखमा डीआईजी जयबहादुर चन्दलाई नियुक्ति गर्ने निर्णय गरेलगत्तै अर्का डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरे । त्यसअघि नै अधिवक्ता कपिलदेव ढकालले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा सरकारले वरिष्ठताक्रम मिच्न लागेको भन्दै सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै आइतबार सर्वोच्चले चन्दको नियुक्ति रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको अर्को आदेश नहुन्जेलसम्म कार्यवाहक प्रहरी प्रमुखको जिम्मेवारी प्राविधिकतर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेलले पाएका छन् ।
स्रोतका अनुसार डीआईजीद्वय सिलवाल र चन्दको विवाद अदालत पुगेपछि महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एआईजी पोखरेललाई अगाडि बढाएका हुन् । पोखरेल हाल प्रहरी अस्पतालमा प्रमुखको रूपमा कार्यरत छन् ।
आइतबार बिहानै सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । तर, केही घन्टामै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।
प्रतिक्रिया दिनुहोस