साञ्चेजले गरे हातले गोल, आर्सनल विजयी


काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले अन्तिम समय १० खेलाडीमा सिमित हल सिटीलाई पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राती भएको खेलमा आर्सनलले रेलिगेसन जोनमा रहेको हल सिटीलाई २–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन एलेक्स साञ्चेजले दुवै गोल गरे । साञ्चेजले गरेको पहिलो गोल भने निकै विवादित बन्यो ।

पहिलो हाफको ३४ औं मिनेटमा साञ्चेजले गोल गर्दै आर्सनललाई सुरुआाती अग्रता दिलाए । तर, साञ्चेजको पहिलो गोल विवादित रह्यो । उक्त गोल पोष्टमा छिर्नुअघि बल साञ्चेजको हातमा लागेको थियो । तर त्यसलाई रेफ्रीले देखेन र गोलको मान्यता दिएपछि आर्सनलले फाइदा उठायो । साञ्चेजको प्रहार हल सिटीका किपरले रोक्दा रिबाउन्ड भएर आएको बल साञ्चेजको दाहिने हातमा लागेर पोष्टमा छिरेको थियो ।

पहिलो हाफमा १–० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको इन्जुरी समयमा पेनाल्टीबाट साञ्चेजले गोल गर्दै आर्सनल लाई सहज जित दिलाए । साञ्चेजले उपलब्ध गराएको क्रसमा गिब्सको हेड बललाई हल सिटीका साम क्लुकासले हातले रोकेपछि आर्सनलले पेनाल्टी पाएको थियो ।

साम क्लुकासले बल हातले रोकेको कारण रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि अन्तिम केहि समय हल सिटी १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै आर्सनल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आर्सनलले २५ खेलबाट ५० अंक जोडेको छ । तर, आर्सनल शीर्ष स्थानको चेल्सीभन्दा ९ अंकले पछि छ । एक खेल कम खेलेको चेल्सीको ५९ अंक छ । पराजित हलको २० अंक छ ।

८ भाद्र २०७१, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको