काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविकको बिजेता बार्सिलोनाले फराकिलो जित निकालेको छ । लिग अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले डिपोर्टोभो अल्भासमाथि ६–० को फराकिलो जित निकालेको हो ।
कोपा डेल रे फुटबलको फाइनलमा भिड्नु अघिको लिग खेलमा बार्सिलोनालाई फराकिलो जित दिलाउन लुइस स्वारेजले दुई तथा लियोनल मेस्सी, नेयमार र इभान राकिटिकले एक एक गोल गरे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । बार्सिलोना र अल्भासले आगामी बुधबार कोपा डेल रे फुटबलको उपाधिका प्रतिस्पर्धा गर्दैछन् ।
अल्भासको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३७ औं मिनेटमा स्वारेजको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा नेयमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । दोस्रो हाफमा बार्सिलोनाले थप चार गोल गर्यो ।
दोस्रो हाफको ५९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । ६३ औं मिनेटमा अल्भासका एलेक्सिसले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता ४–० को रह्यो । त्यसपछि खेलको ६५ औं मिनेटमा राकिटिकले एक तथा ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ६–० को फराकिलो जित निकाल्न सफल भयो ।
जितसँगै दोस्रो स्थानको बार्सिलोनाले २० खेलबाट ४८ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा एक अंकले मात्र पछि छ । लिगमा दुई खेल खेलेको रियलको ४९ अंक छ । पराजित अल्भास २७ अंक जोडेर लिगको १२ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस