एक शिक्षकको भ्रमण डाइरी: सिद्दार्थ स्कुलले बुद्धलाई भेट्दा !

वाईवि जिएम । जिन्दगीका हजारौ अनुभव र अनुभुतीबाट नै जीवनका लागि आवश्यक पर्ने दुर्लभ ज्ञान र मनोरञ्जनका अवसरहरू प्राप्त गर्न सकिन्छ । हरेक मानिसका जीवनक्रममा साक्षात्कार भएका र स्मृतिपटलमा विद्यमान रहेका कैयौँ अविस्मरणीय पलहरु, स्थानहरू, परिघटना र परिसन्दर्भहरू, प्राकृतिक, सांस्कृतिक र सामाजिक विषयहरू मानव जीवनको मार्ग दर्शन हुन् ।

अनुभूतिहरूले मानिसको जिन्दगीलाई एक पट्क निकै पर पुर्याउछ, जो कालान्तरमा मानिसले आफुलाई केवल स्मृतिका परिदृश्यमा मात्र उभ्याउछ र एक टक उभिन्छ, अनि सोच्दछ जिन्दगी कस्तो थियो ?

जिन्दगीका घुम्तीहरुमा मानिस एउटा बटुवा जस्तै घुमिरहन्छ । क्षितिज भन्दा पनि निकै पर दुर बस्तिहरुमा अनवरत आफ्ना संघर्षका पाइला चलिरहन्छ । जीवनका घुम्ती चड्दै गर्दा कयौ घुम्ती र गोरेटोहरु छिचोलियो होला तर डायरीका पानामा कहिलै कोरिएन । एक मित्रको अनुरोधमा पहिलो पटक यात्रा स्मरण कोर्ने जमर्को गर्दैछु ।

संस्मरण यात्रा सुरु गर्दैगर्दा, एकटक ल्यापट्पले म तिर नियालेको भान भयो । शुन्य जीवन, उदेकलाग्दो बाताबरण, चिसा र लामालामा रातहरु, तिनै रातहरुले प्रबाह गर्ने चिसो सिरेटोको स्पर्श, हर प्रहर उदासीनता वर्षाद, घरको याद, मुटु चस्स पार्ने उस्को यादले मेरा औलाहरु किबोर्डमा अढिरहे ।

जसरि एउटा बाटो बिराएको बटुवा जस्तै…! तर पनि सकि-नसकी स्मृतिको मानस पटलमा चर्खा जस्तै फनफनी घुमिरहेका पलहरुलाई लिपिबद्ध गर्ने जमर्को गरे ।

भन्निछ सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर मात्र सिकिन्छ । त्यस्तै सिकाई प्रक्रियाको एक अंग हो शैक्षिक भ्रमण । जीवनमा आँफैले देखेर बुझेको कुरा पढेको भन्दा कयौ गुना चिरस्थायी र अजर अमर हुन्छ ।

यतिखेर जिबनलाई शिक्षण मार्गमा डोर्याई रहेको छु । उसो त म शिक्षक हुँला भन्ने चेष्टा समेत गरेको थिन । भावनायुक्त पलहरु बोकेर आउने जिन्दगीले कठोर संघर्षहरु झेल्दा बाला उमेरमा सायरीहरु फ़ुर्थे, अनि सोच्दथे सायद म सानोतिनो सायर पो बन्छु होला ।

तर आज म एक शिक्षक बनेको छु । जसलाई जिन्दगीले दिएको उपहार स्वरुप ग्रहण गरेको छु । शिक्षण पेशामा आबद्द हुँदा एउटा शैक्षिक भ्रमणको अबसर जुर्यो । उक्त अवसर सिद्दार्थ नमुना माविले जुरायो ।

आजका विद्यार्थीलाई केवल कितावका कोरा ज्ञानमा मात्र सिमित नगरी युग सापेक्ष प्रबिधि मुलक र ब्यबहारिक बनाउन शैक्षिक भ्रमणको तयारि भयो । हाम्रा ऐतिहासिक स्थलहरुको अबलोकन र धार्मिक सांस्कृतिक अध्यनका लागि सिद्धार्थ नमुना माध्यमिक बिद्यालयबाट शिक्षक, अभिभाबक र बिद्यार्थीहरुको जम्बो टोलिले शैक्षिक भ्रमणको यात्रा कार्तिक २६ गते देखि सुरु भयो ।

शैक्षिक भ्रमणमा ३६ जना छात्राहरु, २७ जना छात्रहरु, १२ जना शिक्षक स्टापहरु र ६ जना अभिभावक सहित ८१ जनाको भ्रमण टिमलाई बिब्यस अध्यक्ष तिलक वलि, सि.अ.संघ अध्यक्ष रेसम केसि र सामाजिक अभियान्ता तथा नमुना बिद्यालय संयोजक प्रेम बहादुर वलिले २०७६ कात्तिक २६ गते साझ ७ बजे बिद्यालयको प्राङ्ग बिदाई गर्नु भयो । उहाँहरुले अभिभावकीय दाइत्व निर्बाह गर्दै बाटो खर्च गर्नु भन्दै केहि आर्थिक सहयोग पनि थम्माई दिनु भयो ।

भ्रमण टोलिको दुईवटा गाडी आफ्नो रफ्तारमा दौडिए । गन्तब्य जो भेटाउनु थियो, जसरी नदि बग्दछन समुन्द्र भेटाउन । सल्यान सारदा नदिको रफ्तारलाई छिचोल्न हतार थियौ । सारदाको चिसो हावाको स्पर्शले मनमा एउटा कम्पन नै पैदा गरिदियो । आखिर मन न हो, बर्षौ पहिले मेरो प्रेमिकाको मायालु स्पर्शले कम्पन ल्याइदिएको थियो, त्यस्तै भान भयो ।

प्रेम गर्नेहरु भन्ने गर्छन, आफूसंग कसैको न्यानो मायारुपी साथ छ भने जिन्दगीका सफरहरु लामा हुदैनन, बरु छोटा लाग्छन । यस्तै थियो हाम्रो यात्रा ! जहाँ शिक्षक, अभिभाबक र बिद्यार्थीहरु बिच सदभाब सहितको आत्मीयता र सप्रेम थियो । लुहाम सम्म सारदा संगै गयौं, त्यसपछि उसलाई पनि बिदाई गर्दै कपुरकोटको भञ्ज्याङ्ग काटेर मधेश (दाङ) प्रवेश गर्यौ ।

रातभरको अनबरत यात्रा बीच भोलि पल्ट अंशुको किरणसंग गौतम बुद्धको जन्म भुमि लुम्बिनीमा पुग्यौ ।

सिद्दार्थ स्कुलले सिद्दार्थ गौतम बुद्धलाई भेट्दा

भ्रमणको पहिलो दिन कार्तिक २७ गते जब बुद्ध भुमिमा पुग्यौं, यस्तो लाग्यो सबैको मन बुद्ध भए, सायद फरक संसार हुन्थ्यो तर संसारका ६ अरब मानिसको मन एकै कसरी हुन्थ्यो र ? सानैबाट कितावमा पढ्दै आएको लुम्बिनी आज आफ्नै अगाडि देख्दा अनौठो अनि गर्व अनुभुती भयो ।

रुपन्देही जिल्लामा पर्ने लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । यहि ठाउँ हो, जहाँ पवित्र बगैंचामा माता मायादेवीको कोखबाट शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो । आज संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ ।

सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरु तथा अध्ययनकर्ताहरु लुम्बिनीको भ्रमण गर्छन् ।

लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजार गर्दछन् । सम्राट अशोकले इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे । जस्लाइ असोक स्तम्भ भनिन्छ । यहि प्रमाण हो बुद्ध नेपालमा जन्मिएका हुन भन्ने बलियो आधार ।

हामीले मायादेबी मन्दिर, जन्मस्मारक, मायादेवी मूर्ति, पवित्र पोखरी, असोक स्तम्भको अवलोकन गर्यौ । जीवनमा मैले कसैको प्रतिमा अगाडि झुकिन तर बुद्धको प्रतिमाको अगाडि मेरो सिर निहुरियो र प्रतिमालाई ढोके । पबित्र पोखरि छेउमा सामुहिक फोटो सेसन गरेपछि माथिका तथ्य हरेकलाई डाएरीमा टिपोट गर्न लगाए । त्यसपछि अन्य देशले निर्माण गरेका विभिन्न भवनको अवलोकन गरियो ।

खाना खाएर हामी भैरहवा हुदा बुटवल स्थित नेपालकै चर्चित कालिका मानवज्ञान तिर प्रस्थान गर्यौ ।

तर भ्रमण टोलिले यात्रा बढाउनु अघि मनन गर्यो, शान्ति भुमि बुद्धस्थललाई भारतले हाम्रो भूमि हो भन्थ्यो, तर लुम्बिनीका एतिहासिक आधारहरुले हाम्रा बिद्यार्थी, शिक्षक र अभिभाबकहरुलाई बिश्वस्त तुल्यायो कि हाम्रो भुमिपुत्र बुद्ध हुन्, बुद्दभुमि नेपाल हो ।

कालिका मानवज्ञानले दिएको शैक्षिक ज्ञान

शैक्षिक ब्यापारीकरणले धरासायी बनेका सरकारी सामुदायिक बिद्यालय सामु आफुलाई बलबान साबित गर्दै आएको कालिका मानवज्ञान बिद्यालय नचिन्ने कमै होलान । सोहि बिद्यालयमा हाम्रा बिद्यार्थी भाइबहिनीहरुको यसपाली भ्रमणको अबसर जुर्यो ।

२०१८ सालमा स्थापना भएको कालिका मानवज्ञान मावि आज देशकै नमुना भएर उभिएको छ । क्रमश २०७१, ०७२, ०७३ सालमा लगातार ४ वटा राष्ट्रिय ध्वजा प्राप्तगरि प्रथम स्थान हासिल गरेको थियो, फलस्वरूप शिक्षा मन्त्रालयबाट सम्मानित भएको थियो । त्यसैगरि २०७४, ०७५ को एसईईमा देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भयो । उक्त बिद्यालयसंग अन्तरक्रिया तथा अनुभूति साट्न सौभाग्य जुराइदिनु हुने सिद्दार्थ नमुना माविका अभियान संयोजक प्रेम बहादुर ओलीप्रति कृतज्ञ भयौ ।

कालिका पुगेको भ्रमण टोलि

जब हामी स्कुलको मूल गेटमा पुग्यौ, मैदानमा कोहि थिएन तर जहाँ करिब ७ हजारको हाराहारीमा बिद्यार्थी अध्यनरत अध्यनरत छ्न । हाम्रो भ्रमण टोलिलाई देखेपछि कालिकाका आदरणीय प्रअ घनश्याम पाठक स्वागत गर्न आउनु भयो । उहाँको आग्रह र गाइडलाइनमा बिद्यालयका भवन र विभिन्न प्रयोगशाला अवलोकन गर्यौ । आजको युग सुहाउदो शिक्षा आर्जन गर्न प्रबिधियुक्त स्कुलमा हाम्रा बिद्यार्थी भाइबहिनिहरु प्रवेश गर्दा दंग थिए । अभिभावक र शिक्षक वर्गमा एउटा उर्जा पलाएको थियो ! हिजोको सिद्दार्थ माविले पनि आज नमुनाको ट्याग पाएको छ । अब यसको भरपुर सदुपयोगगरि आफ्नो बिद्यालयलाई प्रबिधि युक्त् नमुना बिद्यालय बनाउने उर्जा मिल्यो ।

अबलोकन पछि बिद्यालयको सभाहलमा पुग्यौ र प्रअ पाठकसंग करिब ३ घन्टा अन्तरक्रियात्मक भला-कुसारी गर्यौ । कालिकाले यति ठुलो सफलता प्राप्त गर्नुको कारण खोतल्यौ । कुसल नेतृत्व, बिद्यार्थीको अनुसासन, परिश्रम, सचेत अभिभावक, सहयोगि टिम, पेसा प्रती बफादार कर्मचारी आदिको कारण कालिकाले यो स्थान प्राप्त गरेको घनश्याम पाठकले स-बिस्तार गर्नु भयो ।

कालिकाले अबलम्बन गरेका असल अभ्यासहरु यस्ता छन्

छात्राछात्रकै सहभागितामा आचारसंहिता निर्माण र कार्यन्वयन, ICT, Teaching Materials अनिवार्य प्रयोग, शिक्षक कक्षा कोठामा प्रबेस गर्दा मुस्कान सहित प्रबेस,नैतिक र ब्यबहारिक अभ्यासमा जोड, Theory of 3C (Control, Command, Communication) को ब्यबहारिक प्रयोग, Class Monitor of Training & Responsibility हस्तान्तरण, हरेक बर्ष ९ कक्षाका विद्यार्थीलाई ब्रिद्दाश्रम र अपांग श्रममा गएर सामुहिक सेवा र सहयोग गर्ने, प्रत्यक कक्षा शिक्षकबाट बिद्यार्थीको Profile तयारपारि इन्चार्ज र प्रअलाई बुझाउनु पर्ने, उत्कृष्ट बर्ष शिक्षकको घोषण, Soft Skill पुर्ण रुपमा कार्यन्वयन आदि अभ्यासहरु रहेका छन् ।

कालिका अबलोकनले शिक्षक अभिभाबक र बिद्यार्थी बिचको त्रिपक्षीय सम्बन्ध, आचरण र ब्यबहारको सिकाई लिएर भ्रमण टोलि बिदा भयो । हाम्रो यात्रा पाल्पा तिर मोडियौ । पाल्पा जाँदै गर्दा एकपछि अर्को आउने घुम्ती मोडहरु संग मितेरी गाँस्दै अघि बढ्यौ । तिनै मोडहरुले स्मरण गरायो, यदि जिन्दगीमा पनि हजारौ घुम्ति नहुदाउन त कस्तो सहज हुँदो हो ? गोधुली साझमा गाडीभित्र सुमधुर गित बजिरहेको थियो । करिब साँझको ७ बजे तिर पाल्पाको तानसेन पुग्यौ र भ्रमणको यात्रालाई यहि विश्राम दियौ ।

राम्दिपुल, कालीगण्डकी

कार्तिक २८ बिहान तानसेनबाट यात्रा आरम्भ भयो । केही समयको दौडाहा पछि कालीगण्डकी राम्दीपुलमा आएर रोकियौ । जब राम्दी पुलमा आयौ एउटा लोक गित स्मरण भयो “राम्दी पुल तर्ने बित्तिकै बाँचे भेट मरे त यत्तिकै” !

धेरै नेपालीहरुको मन छुन्छ यो गितले । मैले सयौ पट्क सुने होला यो गित । नेपालमा ब्याप्त बेरोजगारीको कारन जब एउटा कसैको छोरा कसैको प्रेमी घर छोडेर परदेस हिडछ र भन्छ बाँचे भेट मरे त यत्तीकै ।

कारुनिकता बोकेको राम्दीपुल लाखौ युबाको छातिमा छ, जहाँ सपनाको जहाजमा चढी दिनमा हजारौ युवा खाडी पुग्छ्न ।

कालीगण्डकीको दृश्य नियाले एउटा प्रेमिल सायरी पनि फुरी हाल्यो ! सायद बस्तुले चेतनालाई प्रभाव पारेको हुनुपर्छ । प्रेम गर्ने जोडीहरुका लागि राम्दिपुल यस्तै सम्झिने बहाना बन्यो । आखिर सिंगल युवक न हुँ, मिङ्गल हुँन बाँकी छ, त्यसैले घरिघरि प्रेमिल सायरी फुत्त निक्ली हाल्छन । तिमी पनि यहि कालीगण्डकी नदि जस्तै रहेछौ, जो मेरो जीवनबाट निक्लिन हतार गर्यौ, मेरो जीवनबाट बगेर गयौ र म त्यही किनार भए तिमिलाइ हर-प्रहर टोलाई रहे  । राम्दी पुलको छेउमा उभिदा गण्डकीको चिसो सिरेटोले स्पर्श गर्यो, लाग्यो त्यो स्पर्श गण्डकीको होइन, केवल तिम्रो हो । निशब्द नियाली रहे उहीँ नदि, उहीँ बिगत जहाँ तिमी र म राप्ती नदिमा घन्टौ उभिएका थियौ । गाडिको हर्न बजे पछि भरी भएको मन र खुट्टा लर्बराउदै गाडी तिर पुगे बसे मनमा एउटा अधुरो गजलको सायरी मोबाइलमा यसरि टाइप गरि सेभ गरे, जो तिम्रा लागि थियो ।

आज बर्शौ पछि यो मनले बहुत हर्ष गर्यो
किनकि तिम्रो याद बोकेको हावाले स्पर्श गर्यो

केही याद आँखा भरी आउदा आउदै कयौ पट्क चिम्लिएर निदाउन खोजे तर जीवनका यादहरु कहाँ सजिलै निस्तेज पार्न सकिन्छ र ? गहिरो यादमा डुब्दा डुब्दै पोखरा पुगिएछ गाडीको ब्रेकले झसङ्ग बनायो ।

त्यहाँ स्विसकि डेभी हराउदा जन्मिएको ‘डेभिज फल्स’को एतिहासिक कथा भेटे ! यस्तो थियो त्यो डेभिज फल्सको कथा ।

कास्की जिल्लाको पोखरामा अवस्थित छ ‘डेभिज फल्स’ । डेभी नाम गरेकी एक स्विस पर्यटक त्यो झरनाबाट खसेर बेपत्ता भईन । उनि कहिलै नआउने गरि हराईन । त्यसपछि उक्त झरनाको नाम ‘डेभिज फल्स’ रहन गयो ।

एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ । यहाँ आन्तरिक तथा बाह्य पर्यटको घुइचो देखियो । आहा मेरो नेपाल प्राकृतिक हिसाबले कति धनी छ हगी ?

सामुहिक फोटो सेसन र यसको बारेमा विद्यार्थीलाई टिपोट गर्न लगाइयो र बाहिरीदै गर्दा देशको प्राकृतिक सुन्दरतामा हराएकी स्विसकि डेभीलाई सम्झीए । डेभि हराउदा उनको प्रेमिलाई कस्तो भयो होला ? उनको प्रेमिकाको प्रेम पिडा नबुझिकनै अधुरै छोडेर गुप्तेश्वर गुफा तिर हान्नियौ ।

गुप्तेश्वर गुफा

जमीनबाट करिव १५० मीटर तल अवस्थित रहेछ ‘गुप्तेश्वर गुफा’ । यस गुफाबाट पाताले छाँगोबाट खसेको झरना हेर्न सकिन्छ। दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूलो खुला ठाउँ पनि रहेका छन्। २५/३० मिनेट भित्र बस्दा पसिनाले लुथुर्कै भिजिएछ ।

फेवातालको प्रतिबिम्ब

फेवाताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित तालले लगभग ५.२३ बर्ग किमी क्षेत्रफल ओगटेको छ | यस तालको औषत गहिराइ ८.६ मिटर रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यो तालबाट माछापुच्छ्रे ,अन्नपूर्णा र धवलागीरी तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बको लागि पनि प्रसिद्ध छ। जहाँ बीचमा ताल बारही मन्दिर छ । हामी निकै बेर दृश्य अवलोकन गर्यौ, डुङ्गामा शयरगरि फर्कियौ ।

बिन्ध्यबासिनी मन्दिर

यो मन्दिरलाई पोखराका प्रख्यात पर्यटकिय स्थलमध्ये एक प्रमुख स्थलको रूपमा मानिन्छ। यहाँबाट अन्नपुर्ण हिमश्रृङ्खलाको राम्रो दृश्यावलोकन गर्न
सकिने यस मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको छ। यहाँ दर्शनका लागि नेपालबाट मात्र नभई भारत तथा अरु विभिन्न देशबाट भक्तजन आउने गर्दछन्। जो मन्दिर पोखराबाट सराङ्कोट जाने बाटोमा अवस्थित छ।

महेन्द्र गुफा

पोखरा रहेको यो गुफा प्रसिद्ध गुफा हो । आन्तरिक तथा बाहृय पर्यटकको पहिलो गन्तव्यस्थल हो । पोखरा र सेरोफेरो मात्रै घुम्ने पर्यटकहरु पहिला महेन्द्र गुफा घुमेपछि अन्य गन्तव्य तर्फपाइला चाल्छन् । पोखरा उपम १६ बाटुलेचौरमा अवस्थित गुफाको लम्बाई १ सय २५ मिटर लामो छ । गुफा २०१७ सालमा विधिवत उदघाटन भएको थियो। राजा महेन्द्रले उदघाटन गरेपछि गुफाको नाम महेन्द्र रहन गयो । प्रवेशद्वारबाट १ सय २५ मिटर भित्र पुगेपछि गणेशको थान, शिवलिङ छ ।

मनकामना मन्दिर गोर्खा

कार्तिक २९ गते बिहान ९ बजे तीर मनकामना पुग्यौ । मनकामना मन्दिर, गोर्खा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर
पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित रहेछ । समुद्री सतह देखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमाल का चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य देख्न सकिने रहेछ । यसरी यहाँको ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थलबाट बिद्यार्थीले केही ब्यबहारिक ज्ञान र सीप लिएर मनकामना केवलकार चढेर फर्कियौ।

मनकामना केबलकार नेपाल विसं २०५५ मंसिर ८ गतेदेखि सञ्चालन भएको पहिलो केबलकार हो । प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवनको कुरिनटारबाट केबलकार चद्गेर गोरखाको मनकामना पुग्ने गर्दछन । मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको हो ।

कुल २० वटा टावर प्रयोग गरियाको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड छ । ६ व्यक्ति प्रति डब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६ सय यात्रु ओसारपसार गर्न सक्छ ।

यसरि ८१ जनाको टिम फरक फरक डिब्बामा कुरिनटार पुग्यौ । कुरिनटारमा भ्रमणको समिक्षा पछि हामी चितवनको सौराहा पुग्यौ ।

सौराहा चितवन

सौराहा नेपालको नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ हो । सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन्। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ।हामी करिब ४ बजे त्यहा पुगेको कारणले निकुञ्ज भित्र सफारी गर्न अबसर मिलेन । तर बन्यजन्तु आखेटोपहार प्रद्र्सनि र सुचना केन्द्र भित्र अवलोकन गरियो र विभिन्न हात्तीहरु प्रत्यक्ष अवलोकन भयो ।

चितवन सौराहाबाट हामी ७ बजे सुपादेउलि अर्घाखाँची तिर यात्रा गर्यौ । नारायणघाटको १ घन्टाको जाममा बिद्यार्थी बिच चलेको दोहोरिले निकै मनोरञ्जन दिलायो । सरहरु र केही विद्यार्थी गाडिमै नाच्दा रौनक झन थपियो । रातको यात्रा मिठा गित सङ्गीत सङै बिहान करिब हामी ५ बजे कठिन बाटो पार गर्दै सुपादेउराली पुग्यौ ।

सुपादेउराली अर्घाखाँची

कार्तिक ३० गते बिहानै सुपामा पुगेपछि निकै चिसो हावाले स्वागत गर्यो । थुरथुर काप्दै मुख धोएर फ्रेस हुने काम भयो । मिठा भजन को आवाज ले मन मुग्ध पर्यो करिब ६ बजे मिर्मिरे उज्यालो सगै भक्त जनको लाइन लाग्यो त्यो दृश्य मैले नियालि रहे । करिब ७ बजे पुजा आराधान सकेर टिम सामुहिक फोटो सेसनमा लाग्यो अनि लाहुरे टासिएको ठाउँ पनि हेर्ने अबसर मिल्यो । त्यसपछि हामी भ्रमणलाई यहि बिदा गर्दै कपिलवस्तु दाङ सल्यान हुँदै रोल्पा करिब ७ बजे सकुसल आइ पुग्यौ ।

अब भने सुपादेउराली माईलाई सांछी राखेर, एक शिक्षकको भ्रमण डाईरीको अन्तिम पानामा आइपुगेछौ ।

भ्रमणले बिद्यार्थीलाई केवल कितावी किरो हुनबाट पक्कै उकासेको छ । ब्यबहारिक अवलोकनले सिकाईलाई मदत पुर्याएको छ । कसैको निजि जिन्दगीका प्रेमिल क्षेणहरुलाई एकपटक स्मरण गराएको हुनुपर्छ । यद्यपि यो प्रेमीहरुको भ्रमण थिएन, शिक्षा प्रेमीहरुको भ्रमण थियो ।

(लेखक वाईवि जिएम सिद्दार्थ नमुना मावि घोप्टेओढार रोल्पाका शिक्षक हुन )

प्रतिक्रिया दिनुहोस