मंसिर १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी प्रकरणमा देशले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रियाक्सन’ नभइ ‘एक्सन’को प्रतीक्षा गरेको बताएका छन्।
भारतले नेपाली भूमि लिपुलेक, कालापानी लिम्पियाधुर लगायतको भूभाग आफ्नो नक्सामा राखेर सार्वजनिक गरेपछि त्यसको चौतर्फि विरोध हुँदै आएको छ ।
प्रवक्ता शर्माले सरकारले सीमा अतिक्रमणका विषयमा एक्सन लिनुपर्नेमा रियाक्सन मात्रै दिएर बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
भारतको नाकाबन्दीबाट राष्ट्रवादी प्रधानमन्त्रीको छवि बनाएका प्रधानमन्त्री ओलीलाई उनले राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्ने बताएका छन्।
सम्माननिय @PM_Nepal देश सरकारसंग कालापानी प्रकरणमा `रियाक्सन´ होइन `एक्सन´ प्रतीक्षा गरिरहेको छ !
१,दिल्लिसंग तत्काल उच्चस्तरीय संवाद l
२,नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रस्टता l
३,भारतीय सुरक्षा बल फिर्ता lदोहोर्याउंछु – रास्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 17, 2019
उनले सामाजिक सञ्जालबाटै प्रधानमन्त्री ओलीले तत्काल गर्नुपर्ने तीन कार्य समेत सुझाएका छन्। उनले दिल्लीसँग तत्काल उच्चस्तरीय संवाद थाल्न, नेपालको आफ्नो नक्सा जारी गरेर अडान लिन र भारतीय सुरक्षाबललाई फिर्ता पठाउन सुझाब दिएका छन्।
भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेपछि कांग्रेसले निरन्तर रुपमा विरोध गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस