जन्मदिन मनाउने खर्च असहायलाई

आरपी सहयात्री/भदौ ३१, झापा । झापाको दुर्गापुरस्थित भृकुटी सेकेन्डरी स्कुलमा कक्षा ७ मा अध्ययनरत सफल दुलालले आफ्नो जन्मदिनको अवसरमा अनावश्यक खर्च नगरी असहाय बालबालिकाहरुको शिक्षाको लागि ६ हजार रुपैयाँ सहयोग गरेका छन् ।

भदौ ३१ गते पर्ने सफलको १२ औ जन्मदिनको अवसरमा आफ्नो खाजा खर्चबाट केही रकम बचाएर र त्यसमा परिवारका अग्रजले थपथाप गरेर उक्त रकम सहयोग गरेको उनकी आमा चन्द्रकला रिजाल (तारा)ले बताइन् ।

झापाली समाज युएईको असहाय बालबालिकाहरुमा समर्पित अक्षयकोषमा झापाली समाज युएई अलएन क्षेत्रीय समितिमा कार्यरत रिजालका छोरा सफलले आफ्नो जन्मदिनको अवसरमा उक्त रकम जम्मा गरेर उदाहरणीय र अनुकरणीय काम गरेको झापाली समाज युएईका नेपाल सम्पर्क समितिका उपाध्यक्ष दुर्गेस सापकोटाले प्रतिक्रिया दिएका छन् ।

जन्मदिनको उत्सव मनाउने आआफ्नै रहर, शैली र योजना हुन्छन् । अस्ठचिरञ्जीवीको पुजा लाउनेदेखि केक काटेर होटलमा पार्टी पनि आयोजना गरेर जन्मदिन मनाइन्छ । जन्मदिन कसरी मनाउन भन्ने हरेकको आआफ्नो रुचि, रहर र अवस्थाको कुरा हुन्छ । जसले जसरी मनाए पनि जन्मदिनलाई अलिकति भए पनि आफुभन्दा कमजोर अवस्थामा रहेकाहरुप्रती समर्पित गर्न सके त्यसले समुदायमा सकारात्मक सन्देश जाने र त्यसको दरिलो उदाहरण सफलको सहयोग भएको झापाली समाज युएईका परिकल्पनाकार तथा प्रवक्ता रामप्रसाद ढुंगेलले बताएका छन् ।

समाजका महत्त्वपूर्ण गतिविधिहरुमा सक्रिय रिजाल आफ्नो सामाजिक सक्रियतालाई मितेरी समाज, एनआरएनएलगायत अन्य सामाजिक संस्थामा आबद्ध भएर निरन्तरता दिइरहेकी छन् ।

उदाहरणीय र अनुकरणीय काम गरेकोमा अक्षयकोष संकलन समितिका संयोजक पारस लामाले दाता परिवारलाई आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको