ट्रेन्डिङ

  • को बन्ला त्यो पहिलो भाग्यशाली लोकस्टार ?

    असोज २९, काठमाडौं । एपी वान एच डी टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो नेपाल लोकस्टारको फाइनल कात्तिक ८ गते हुने भएको छ। गत असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट प्रत्यक्ष प्रशारण हुँदै समापन हुँदैछ।

    नेपालको लोक संस्कृतिको प्रचारप्रसार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो। नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमै अहिलेसम्मकै धेरै पुरस्कार राशि भएको सांगीतिक कार्यक्रम हो।

    कात्तिक ८ गते भृकृटिमण्डपमा हुने कार्यक्रम मार्फत नेपालले पहिलो लोकस्टार प्राप्त गर्नेछ। चाहना मिडिया प्रालिका कार्यकारी निर्देशक सहदेव कोइरालाका अनुसार फाइनल कार्यक्रम एपी वान एचडी मार्फत प्रत्यक्ष प्रशारण गरिनेछ। कार्यक्रममा पुरस्कार स्वरुप विजेताले ५० लाख, दोस्रो हुनेले २५ लाख, तेस्रो हुनेले १० लाख र सान्त्वना स्थान प्राप्त गर्नेले ५ लाख रुपैयाँ पाउनेछन्।

    लोक संगीतको क्षेत्रमा बहुप्रतिभाशाली व्यक्तित्वको खोजी गर्दे जाँदा उत्कृष्ट ४ मा रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे पुगेका छन्।कार्यक्रमको निर्णायकमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँड छन्।

    रामकुमार नेपाली

    रामेछाप मन्थलीका रैथाने हुन् रामकुमार नेपाली। काठमाडौं अडिसनमा गोल्डेन माइक जितेर उनले लोकस्टारमा सानदार प्रवेश पाएका थिए। २०६१ सालदेखि उनी लोकसंगीतमा लागी परेका हुन्। ललितकला क्याम्पस भोटाहिटीमा उनले डिप्लोमा इन म्युजिक विषयमा ४ वर्ष औपचारिक अध्ययन गरे। रामेछापदेखि काठमाडौंसम्मको यात्रा उनको सहज भने पक्कै थिएन। कलाकार बन्ने रहरले उनलाई कहिले घर बनाउने मिस्त्री बनायो त कहिले मजदुर। तर पनि लोक गीत गाउने हुटहुटीले छोडेन।

    उनका बुवाआमाले लुगा सिलाउने पुख्र्यौली पेसा गर्दै आएका छन्। चामलको भात खान दसैं पर्खनुपथ्र्यो। तर पनि बुवाले धानेको पुख्र्यौली पेसा अपनाउन उनलाई मन लागेन। गीत गाउन छाडेनन्। भन्छन्, ‘मेरो शरीरमै लोकगीत बगिरहन्छ त म अरू पेसा खोज्न कहाँ जाउँ ?’

    उनका मेरी आमा, चौबन्दीको फुर्का, दुई रुपैयाँको बिँढी लगायत डेढ दर्जन एल्बमै बजारमा छन्। करिब तीन सय लोकगीतमा स्वर दिइसकेका छन्। तर उनका गीतले खासै चर्चा पाउन सकेको थिएनन्। घरबाट खासै सहयोग पाउँदैनथे। २०६६ सालमा रामेछाप लोकतारामा पहिलो स्थान जितेपछि उनको बाबाको मन फेरियो। एल्बम निकाल्न सकेको आर्थिक सहयोग गर्न थाले।

    बन्द कोठामा मादल र किबोर्ड चलाउँदै रियाज गरिरहने रामकुमार सानो साथी सर्कलमा मात्रै सीमित थिए। उनी हुर्केको समाजमा सालैजो, टप्पा, कौडा, देउडा, हाक्पारे सबै खालका भाका गाइन्छ। उनलाई लोकगीतका सबै भाका प्यारो लाग्छ। किन त ? भन्छन्, ‘लोक भनेकै माटोको गीत। चाहे सुदूरको गीत होस् या मधेसको ताल होस्। लोकगीत आमाको माया जस्तो लाग्छ। लोकगीतमा आफू हुर्केको माटोको गन्ध आउँछ। नेपालीपनको मिठास आँउछ।’

    चेतन गोतामे

    स्याङ्जा सिर्सेकोटका चेतन गोतामे लोकस्टारका एक रकिङ स्टार हुन्। २०६६ सालदेखि उनी लोकगीतमै छन्। उनी राजु परियार, विमाकुमारी दुरा, भगवान भण्डारी, पुरुषोत्तम न्यौपानेका गीत सुनेर हुर्किएका हुन्। उनको बाबा, दिदी र दाइहरू पनि मौलिक गीत गाउँछन्। भन्छन्, ‘निकै मिठो ठेट भाका गुञ्जिन्थ्यो हाम्रो घरमा। कति गीत त अझैसम्म पनि रेकर्ड भाएका छैनन्। ठूलो परिवारमा जन्मेका गोतामे पेट पाल्न कहिले मुम्बई त कहिले दिल्लीमा समेत मजदुरी गर्न पुगे।

    २०६६ सालमा एल्बम निकाल्न भनेर उनी काठमाडांै आए। रिल वाला क्यासेटमा विश्वास लाछैन बोलको गीत बजारमा ल्याए। भिडियो बनाउन भनेर कम्पनीलाई ३० हजार बुझाए तर कम्पनीले पैसा खाइदियो। गीतले पनि खासै चर्चा पाएन। उनी भन्छन्, ‘संगीतमा पलाउन लागेको कोपिला कम्पनीले निमोठिहियो।

    कलाकार बनेर पैसासँगै चर्चा कमाउन सहर छिरेका गोतामे घर न घाटका भए। गाउँ जाउ त ऋण तिर्न सकिएको छैन। सहर बसुँ खाने बस्ने ठेगान छैन। सोह्रखुटेमा फर्निचरको काम पाए। काम गर्दै संगीत साधना गर्दै रहे। केही समयपछि दोहोरी साँझमा गीत गाउँदै एल्बम निकाल्दै गए।

    उनले स्याङजालीको छोरो, विश्वास लाछैन, तिम्रो एउटा झुटलेलगायत दर्जनभन्दा बढी एल्बम निकालेका छन् भने एक सयभन्दा बढी लोकगीतमा स्वर भरेका छन्। भन्छन्, ‘माटोको गीत, स्थानीय संस्कृतिको धुन भरिएको गीत नै हरायो। संसारको कुनै पनि संगीतमा नभएको मिठास पाइन्छ लोकगीतमा। अचेलका लोकगीतमा खास मिठास भेटिँदैन।’

    विनोद दनुवार

    उदयपुर कटारीका हुन् विनोद दनुवार। उनी गीत गाउने रहर पूरा गर्न काठमाडौं आए। काठमाडांैमा कोही आफ्ना थिएनन्। एक्लै बस्न बुवाले दिएनन्। पनौतीमा आफन्तकोमा बसे। कर्मस जिषय लिएर पढ्न थाले।

    उनको सांगीतिक लगाव भने बच्चैदेखिको हो। स्कुलको कार्यक्रममा होस् या गोठालो जाँदा होस् बनपाखामा गीत गाएरै बाल्यकाल बित्यो। यम बराल, रामचन्द्र काफ्ले, दीप श्रेष्ठका गीत सुनेर हुर्किएका विनोद लोकसंगीतमै केही खास गर्न चाहन्छन्।

    पनौतीमै सुरेन्द्रकुमार श्रेष्ठसँग केही समय शास्त्रीय संगीत सिके। स्कुल कलेजमा स्टेज कार्यक्रममा गीत गाउँथे। गायक बन्न काठमाडौं छिरेका दनुवारले निर्दोष नामक एल्बम पनि निकाले। एल्बमले खासै चर्चा पाएन। लगानी डुब्यो। पैसा कमाउनु पर्छ भन्ने लाग्यो। पैसा कमाउन चार वर्षअघि विदेश गए।

    बर्मा गए कर्म सँगै भनेजस्तै एजेन्टको फन्दामा परेर खासै पैसा कमाउन सकेनन्। संगीतमै केही गर्छु भनेर नेपाल फर्किए। आरआर कलेजमा संगीत विषय लिएर पुनः पढ्न थाले। कलेजले आयोजना गरेको आरआर आइडलमा विजेता भए। लोकस्टारमा आएपछि मात्रै उनले आफ्नो क्षमता चिने। संगीतका हस्तीसँग भेट्ने मौका पाए।

    शनी विश्वकर्मा

    रोल्पाली ठिटो शनी विश्वकर्माले लोकस्टारमा ‘सुमधुर स्वरका धनी’ टाइटल नै प्राप्त गरेका छन्। उनी माउन्ट इङलिस बोर्डिङ स्कुल दाङमा प्लस टु अध्ययन गर्दैछन्। गीत गाउनु उनको बच्चैदेखिको सपना हो। उनको ठूलोबुवा पनि गीत गाउँछन्। उनकै संगतले गर्दा पनि शनीमा गीतको धुन गढ्यो।

    गाउँमा गोठाला जाँदा होस् या मेला पात गर्दा होस् गाउँ शनीकै आवाजले थर्किन्थ्यो। संगीतमै लाग्छु भन्ने थियो उनलाई, अग्रजले पनि यही सुझाउँथे। यसका लागि कक्षा ८ पढ्न रोल्पा सदरमुकाम गए। त्यहाँ दुई वर्ष पढे। एस एलसी सकाएर अलि ठूलो ठाउँ दाङ झरे र प्लस टु पढे। दाङमा महोत्सव लागेको थियो। राष्ट्रिय स्तरका कलाकारसँग गीत गाउने मौका पाए।

    यसपछि उनको स्वरको चर्चा हुन थाल्यो। सांगीतिक कार्यक्रममा निम्तिन थाले। उनी खुब गीत सुन्थे, तर गायक, संगीतकार कोही चिन्दैनथे। बुटवल अडिसनमा उनले तिरिरी मुरली बज्यो बोलको गीत गाएर जजको मन जिते। १८ वर्षे शनी गोल्डेन माइक विजेता हुन्। यसले उनलाई थप जिम्मेवार बनायो। गोल्डेन माइकको इज्जत राख्न पनि उनले संगीत सिक्नै पर्ने भयो। उनी काठमाडांै आएर गुरु नरहरि प्रेमीसँग एक महिने संगीत कक्षा लिए।

    अजवी पौड्याल/अन्नपुर्ण पोष्ट 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको