पुथा उत्तरगंगाका वडाध्यक्ष सतसिङ बुढाको पहिलो प्राथामिकतामा ‘शिक्षा’

भदौ ३०, पुर्बीरुकुम । पुथा उत्तरगंगा वडा नं २ का अध्यक्ष सतसिङ बुढासँग कर्मसही घर्तिले वडाका समसामयिक विषयमा गरिएको कुराकानीको संक्षेप यहाँ प्रस्तुत गरिएको छ –

आफ्नो कार्यकालको पाँच वर्षको अवधिमा के चाहिँ गर्छु जस्तो लाग्छ ?

सतसिङ बुढा- मेरो पाँच वर्षे अवधिमा प्रथमतः शिक्षा र दोस्रो कृषि यी दुई कुराको विशेष प्राथमिकताको आधारमा काम गरिनेछ । यो ठाउँ सबैभन्दा विकट र छरिएर रहेकोले यहाँका विद्यार्थीको लागि स्कुल जानू निकै चुनाैंतीको कुरा हुन्छ । आगामी दिनमा हाम्रो बजेट विद्यालयमा अलि बेसी लगानी गरिनेछ । यहाँका गरिब जनताका छोराछोरीलाई सहज रूपमा शिक्षाको प्रत्याभूति होओस् भनेर यो कदम चाल्न वडा कार्यालयले विशेष जोड दिनेछ ।

अर्को कुरा कृषिमा पनि जोड दिइनेछ । उत्पादन भएका स्याउको निर्यातमा पहल गरिनेछ । यसले कृषकहरूमा एउटा आशा, उत्साह र उर्जा थपियोस् भन्ने हाम्रो हेतू रहेको छ ।

शिक्षामा के चाहिँ गर्दा गुणस्तरीयपना आउँछ होला ?

सतसिङ बुढा- प्रथमतः शिक्षाप्रतिको सही लगानी हुनु आवश्यक छ । दोस्रो योग्य शिक्षण हुनु अनिवार्य छ । त्यसमा पनि बाहिर पढ्न जाने विद्यार्थीलाई रोक्न अँग्रेजी माध्यमको पढाइ गाउँघरमै सर्बसुलभ होओस् भन्ने चाहना हामी सबैको रहिआएको छ । यसकारण आगामी वर्ष शिक्षाप्रतिको हाम्रो लगानीले पहिलेको भन्दा गुणस्तरीयता प्रदान गर्ने कुरामा म आशावादी छु ।

अँग्रेजी माध्यमको पढाइ पेल्मामा मात्र हो कि सबै गाउँ गाउँमा हो ?

सतसिङ बुढा- शुरुवात पेल्माबाट हुन्छ । यसको नतिजाले र आवश्यकताले अन्य ठाउँमा पनि बनाउनु पर्ने हुन सक्छ ।

२ नं वडा त कृषिको पनि पकेट क्षेत्र हो । कुन कुन कृषिजन्य चीजको पकेट क्षेत्र हुन सक्ने सम्भावना छ ?

सतसिङ बुढा- यस वडामा मात्र १४ वटा कृषि समुहहरू रहँदै आएका छन् । यिनीहरूमा बढी स्याउ समूहकै बाहुल्यता रहेको छ । अहिलेको परिप्रेक्ष्यमा स्याउ पकेट हो भन्दा अन्यथा नहोला । यसका अलावा यश वडालाई ओखरजोन र टिम्मुरको पकेट क्षेत्र पनि बनाउन सकिन्छ ।

स्याउको भाउ पोहोर परारको भन्दा निकै कम गर्नु भएको रहेछ । प्रति किलो ३० रुपैयाँ । यति सस्तोमा बिक्रीवितरण गर्न स्याउ समूह राजी होलान् त ?

सतसिङ बुढा- यसले कृषकलाई निरास हैन प्रोत्साहन भएको छ । यसपाली स्याउ अत्यधिक रूपमा फलेको हुँदा कृषकहरूकै रोहबरमा स्याउको बिक्रीवितरण सहज होओस् भन्नाका खातिर नै स्याउको भाउ प्रति किलो ३० रुपैयाँ टोकिएको हो । यसले सस्तोमा छिमेकी वडाका जनसमुदायले स्याउको निर्यातमा चासो देखाउनेछन् भन्ने मलाई लागेको छ । यसमा स्याउ समुहहरू राजी नै हुनुहुन्छ ।

स्याउको बिक्रीवितरण वितरणका लागि गाउँपालिका र प्रदेशबाट केही सहयोग मिल्न सक्ने वातावरण छ कि छैन होला ?

सतसिङ बुढा- ढुवानीको लागि हामीले गाउँपालिका र प्रदेशको ध्यानाकर्षण गरेका छाैं । अहिले नै यतिउति भन्ने त छैन । जे होस् सहयोग गराैंला भन्नेसम्मको कुरा छ । गाउँपालिकाको कार्यपालिका बैठकमा पनि हामी आवाज उठाएका छाैं । हेराैं गाउँपालिका र प्रदेशको तर्फबाट सहयोगको हामीले बेलैमा अपेक्षा लिनु अन्यथा नहोला ।

कृषिको उर्वर भूमि २ नं वडामा आलुको भाउ प्रति धार्नी ६० रुपैयाँ कायम गर्दा महंगो भएन र ?

सतसिङ बुढा- यसपाली माैसमले आलुको खेति राम्रो भएन । यसैले गर्दा निकै कम आलु उत्पादन हुने सम्भावना भएको हुँदा आलुको भाउ महंगो हुन गएको हो । उत्पादन अनुसार खपतमा कहिले सस्तो र कहिले महंगो हुने गर्दछ ।

पसल कर कतिको लिनु भएको छ ?

सतसिङ बुढा- यो दर्ता प्रकृया जारी नै छ । भएका केहीले दर्ता गर्नु भएको छ । केहीको विधिवत रूपमा दर्ता हुनेवाला छन् ।

एउटै छानामुनि फेन्सी, किराना, गल्ला, कस्मेटिक र मेडिकल राखेको पाइयो । यिनीहरूको कर निर्धारण कसरी गर्नु भएको छ ?

सतसिङ बुढा- गाउँपालिकाको कार्यालयमा कार्यपालिकाले निर्णय गरे अनुसार छुट्टाछुट्टै पसल हुनु पर्छ । तर पनि हाम्रा गाउँ ठाउँहरू अझै पनि विकट रहेको हुँदा कतिपय गाउँमा सबै एकै छानामुनि पसल राख्न पसलेहरू पनि बाध्य छन् । हामीले पनि परिस्थितिनुसार केही सहज वातावरण मिलाएका छाैं ।

साहु आसामीको ऋण लिने र दिने मामिलामा ठेकी ब्याजको मापदण्ड के कस्तो बनाउनु भएको छ ?

सतसिङ बुढा- नेपाल सरकारको कानुनसँग त मेल नखाला । तर पुस्ताैंदेखि चल्दै आएको साहु आसामी बीचको लिने र दिने ठेकीब्याज निकै महंगो छ । जस्तै पहिले तीन महिनामा सयकडा १०% विद्यमान रहि आएकोमा हामीले चार महिनाको सयकडा १०% निर्धारण गरेका छाैं । यसले कमसेकम आसामीलाई तीनमहिने ब्याज भन्दा केही सस्तो भै राहत दिनेछ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको