रोल्पाका खत्रीको किबी खेती प्रदेश ५ मै उत्कृष्ट (फोटो फिचर)

खकेन्द्र केसी/कत्तिक २७, सल्यान । रोल्पा गंगादेव गाउँपालिका –३ जिनाबाङ चामीका इन्द्रबहादुर खत्रीले आफ्नो सबै बारीभरी किबीका बिरुवा रोपेका छन् । केहि किबीका बोटबाट उत्पादन सुरु भैसकेको छ भने केहि बिरुवा भर्खरका छन् ।

३ बिघाह जमिनमा किबी खेति गरेका उनका अहिले एक हजार वटा बोट रहेका छन् । ३० वर्षअघि भारतका एक कृषि प्राविधिक यहाँ आएर किबी खेति गर्न सुझाव दिएका थिए । पछि उनै प्राविधिकले १० वटा बिरुवा भारतबाट पठाइदिएको किसान खत्रीले बताए ।

उनले भने, ‘सुरुमा परिक्षणको रुपमा दशवटा लगाइएको हुँ । अहिले त व्यवसायीक बन्दै गइयो ।’ सुरुमा प्राविधिक ज्ञान नलिएर रोपेको खेति उनले घरमै खानको लागी गरेको बताए । तर पछिल्लो ५/७ वर्ष यता उनले व्यवसायीक रुपमै खेति गरेका छन् ।

लगानी धेरै, तर अनुदान छैन्

किबी लगाउन त्यति सजिलो छैन् । किबी हुर्काउनको लागी लामोसमय टिक्नलाई फलामको पोल र तार प्रयोग गर्नुपर्छ । दुईवटा बिरुवा बराबर एकवटा फलामको पोल प्रयोग गर्न सकिन्छ ।

एउटा फलामलाई मात्रै २२ सय पर्ने किसान खत्रीले बताए । त्यसैगरी बिरुवालाई १ सय ५० पर्ने उनको भनाई छ । आफ्ले अहिलेसम्म ३० लाखसम्म लगानी गरेको किसान खत्रीको भनाई छ । खेती गर्नलाई आफुले अहिलेसम्म कतैबाट अनुदान नपाएको उनले बताए ।

प्रदेश ५ मै उत्कृष्ट खेती

एक हजार किबीका विरुवा लगाएर प्रदेश नम्बर ५ मै उनले आफ्नो किबी खेतिलाई पहिलो नम्बरमा राखेका छन भने देशको चौथो नम्बरमा ।

अहिलेसम्म उनको किबी खेति अवलोकन गर्ने प्रदेशका कृषि प्रमुख, जिल्ला कृषि विकासका प्रमुखहरु गरी ३ सयभन्दा धेरै व्यक्तीहरु गाउँ बाहिरबाट आएका छन् । सिँचाईको लागी उनले घरको आगनमै पानी जम्मा गर्ने ठुलो ट्याङ्की निर्माण गरेका छन् ।

पहिले रायाे, आलु, स्याउ, मकै खेति गर्ने गरेकाे तर अहिले केवी लगाउदा धेरै राम्राे हुँदै गएकाे इन्द्रबहादुरकी श्रीमती ओकी खत्रीले बताइन् ।

प्रतिकेजी ३५० भन्दा माथीको मुल्य

प्रतिकेजी ३ सय ५० भन्दा माथीको मुल्यमा घरबाटै बिक्रिहुने गरेको उनले बताए । तर नेपालमै यसकाे बजार मुल्य ८ सयसम्म बिक्री हुने गरेकाे छ । गतवर्षबाट फल्न सुरु गरेको उनको किबी ३ कुइन्टोल भएको थियो । यो वर्ष भने १० कुइन्टोल फल्ने अपेक्षा भएको किसान खत्रीको भनाई छ ।

एउटा बोटमा राम्रो फलेमा ५० देखि ७० केजीसम्म हुने किसान इन्द्रबहादुर खत्रीले बताए । उनको भनाई अनुसार अबको ५ वर्ष पछि उनको सबै बोटबाट ५ सय कुइन्टल भन्दा धेरै उत्पादन हुने देखिन्छ । जसबाट अहिलेको बजार मुल्य अनुसार एक करोड बढीको वार्षिक आम्दानी हुन्छ ।

बाहिर पठाउन उत्पादन थोरै भयो

उनलाई किबीको बजारिकरणको लागी थुप्रै व्यावारीहरुले सम्पर्क गर्ने गरेको बताए । तर अहिले उत्पादन थोरै भएकोले व्यापारीहरु आउन नसकेको उनको भनाई छ ।

अब उत्पादन धेरै गरेपछि बाहिरी देशमा किबी निर्यात गर्ने लक्ष्य भएको उनले बताए । किबी टिपेपछि प्याकिङ गरेर ६ महिनासम्म राख्दा पनि केहि नहुने उनको भनाई छ । चैतमा फुल्न सुरु गरेको किबी मंसिर अन्तिम सातादेखि भित्र्याउन सुरु गरिन्छ ।

बिरुवाको नर्सरी पनि

किसान खत्रीले अहिले किबी खेति सँगै बिरुवा उत्पादनको लागी नर्सरी पनि बनाएका छन् । अब आफैले बिरुवा उत्पादन गरेर गाउँमै किबीको पकेट क्षेत्र बनाउने लक्ष्य भएको उनले बताए ।

अहिले उनले ५ हजार बिरुवा उमारेको बताए । विउ रोपेको दुईपर्ष पछि बारीमा लगेर बिरुवा रोप्नलाई तयार हुने उनको भनाई छ । ‘किबी फालफुल नर्सरी फर्म’ नाकम निजी कृषि फर्म खोलेर उनले खेति गरिरहेका छन् ।

किबीलाई कस्तो हावापानी

किबी खेतिको लागी विषेशगरि १२ सय देखि २४ सय मिटर उचाईको हावापानी र माटो चाहिन्छ । तर १६/१७ सय मिटरको उचाईमा किबी अति राम्रो हुने किसान खत्रीले बताए । उनको जमिन पनि १६ सय मिटरकै उचाईमा छ ।

गर्मीको समयमा ३५ डिग्री सेल्सियस भन्दा तापक्रम बढी नभएको र शरद (असोज, कार्तिक) र बसन्त (चैत, बैशाख) मा बाक्लो तुषारो नपर्ने वातावरणमा किवि राम्रो फस्टाउँछ । हिउँदमा पात झर्ने भएकोले हिउँ पर्दा खासै असर नगर्ने यस विरुवालाई असिनाले भने असर गर्दछ र यसबाट बचाउन हिउँदमा जाली ओढाउन सकिन्छ ।

चिस्यान खालको माटो र घाम लाग्ने जमिन खोज्ने किबीलाई सिचाँई प्रयाप्त चाहिन्छ । बिरुवा बढ्दै जाँदा अडिनको लागी अरुको साहायता खोज्ने किबीलाई सिमेन्ट, फलाम र काठका खम्बाहरु प्रयोग गर्न सकिन्छ । काठ दुईतीन वर्षमै कुहिदा परिवर्तन गर्नुपर्ने भएकोले सिमेन्ट र फलाम अति उपयुक्त हुन्छ ।

किबी लगाउने विधि

यसलाइ २ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्नु पर्छ । त्यसपछि नयाँ पालुवा आउन अघिको विरुवालाइ रोप्नुपर्छ । पानीकाे राम्राे व्यवस्थापन गरेर यसलाइ हिउँदकाे समयमा राम्रो संग लगाउन सकिन्छ ।

स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको याे बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । लगाएकाे सातौँ बर्ष देखि किविले राम्रो उत्पादन दिने गर्दछ ।

किबी खानुकाे फाइदा

किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ ।

यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो । किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु छन् ।

‘फलहरुको राजा’ र ‘द सुप्रिम फ्रुट’ को उपाधि पाएको यो फल नेपालको लागि निकै नयाँ र आयमुलक फल हो । यो फल ताजा फलफुल मध्ये विश्वकै नयाँ र महँगो फल पनि हो । ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, केक, बिस्कुट र अरु धेरै परिकार बनाइ यसलाई सेवन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको