जो इन्द्रजात्रामा रमेका छैनन्, उनीहरू काठमाडौंमा जमेका छैनन्

पद्मसुन्दर जोशी । काठमाडौं उपत्यकाका चाडपर्वले संसारका उच्चकोटीका संस्कृतिलाई चुनौती दिन्छन्। रोम र इटालीका सडक समारोहदेखि ब्राजिलका कार्निभल र जापानका हाकाता पर्वहरू हाम्रा इन्द्रजात्रा र बिस्केट जात्रासामु फिक्का छन्। हाम्रा यी पर्वले यहाँका कलाकौशल मात्र पस्कँदैनन्, त्यसभित्रका जीवन दर्शन पनि प्रतिविम्बित गर्छन्।

हामीले यो लेख सेतोपाटी अनलाइनबाट लिएका हौ । काठमाडौं उपत्यकामा मनाइने थुप्रै जात्रा र चाडपर्वमध्ये इन्द्रजात्राको विशिष्ट स्थान छ। तपाईं काठमाडौंबासी भइसक्नुभयो र इन्द्रजात्रामा रम्नुभएको छैन भने काठमाडौंमा अझै जम्नुभएको छैन।

इन्द्रजात्रा भन्नेबित्तिकै धेरैका मनमा कुमारी, भैरव र गणेशका रथ, आकाश भैरवको मुकुन्डो, नेवारी परिकारले सजिएका समयःबजीको थुप्रो, लाखे र पुलुकिसीका चर्तिकला, सोभा भकु र महाकाली देवीगणका नाच चित्रित हुन्छन्। टोल–टोलका खाँबामा बाँधिएका इन्द्र, उनको सम्मानमा बालिएका दियो र बीचबाटोमा हाथाद्योको घ्याम्पोबाट निस्कने जाँडको मजा यस जात्राका अन्य विशेषता हुन्।

काठमाडौंका कहिले साँघुरिने र कहिले फुक्ने गल्लीहरूबाट गुड्ने रथ, लाखे र झ्यालिँचाका जोसिला हर्कतले यो पर्वलाई महोत्सवको रूप दिँदै आएको छ। प्रत्येक चोक र गल्लीका डबली र वर्षभरी ‘वास्ता नगरेर फालिएका’ देवताहरू पनि यस बेला ब्युँझेका हुन्छन्।

यी रमाइला उत्सवभित्र स्थानीय समुदायलाई कसरी बुनिएको छ भनी बुझ्न समुदायभित्रै पसेर अलिक खुट्टा तन्काएर हेर्नुपर्छ।

नेवार संस्कृतिको एउटा विशेषता निरन्तरताको क्रमभंगता र लगातारको न्यास्रोपन हटाउने दृश्य परिवर्तन हो।

तपाईं मखनबाट हनुमानढोका दरबार क्षेत्र छिर्दै हुनुहुन्छ भने अगाडि ठिंग उभिन आउने विशाल तलेजु मन्दिरले नतमस्तक बनाइदिनेछ। त्यो भीमकाय मन्दिर नाघ्दा-ननाघ्दै दायाँपट्टिको पशुपति मन्दिरले तपाईंको ध्यान खिच्छ।

अझ अगाडि बढ्नुस्, दायाँका साना–ठूला मन्दिर सामुन्ने उभिन आउँछन्। ती मन्दिर कुन देवी-देवताका हुन् भन्ने सोच्न नभ्याउँदै अगाडि भित्तामा रौद्र रूपमा उभिएको काल भैरवको कालजन्य रूपले तपाईंलाई सतर्क बनाउनेछ। त्यसको प्रभावले कतिपयलाई दायाँको उदेकलाग्दो प्रहरी कार्यालय नाघेको पनि पत्तो हुँदैन।

अगाडि बढेपछि तपाईंको ध्यान विशाल नगराले तान्नेछ। बायाँपट्टि हनुमानढोकाको बाटो र इन्द्रजात्रामा मात्र खोलिने श्वेतभैरवको भीमकाय मुहारबाट पनि तपाईं नजर हटाउन सक्नुहुन्न। ठूलो घन्टा काट्न नपाउँदै तपाईं आफूलाई खुड्किलाहरूको लस्करमाथि उभिएका मन्दिर र डबलीले घेरिएको चौबाटोमा ठिंग उभिएको पाउनु हुनेछ।

यहाँबाट जब पाइला मरुतिर बढ्छन्, २०७२ को भुइँचालोले पाताल बनेको काष्ठमण्डपले तपाईंको स्वागत गर्नेछ। यो क्रमको निरन्तरता तपाईं आफ्नो गन्तव्य नपुगेसम्म पाउनुहुनेछ।

यसको मतलब, काठमाडौंको वास्तुकलाले तपाईंका प्रत्येक पाइलामा कौतुहल पस्किरहेको छ। त्यसैले हुनुपर्छ, पेरिसका एकनासे अजंग बुलोभार्डहरूभन्दा काठमाडौंका गल्लीमा हिँडदा जीवन्त अनुभव हुन्छ।

आजका सिधा र चौडा यान्त्रिक बाटाका योजनाकारले यी जीवन्त नेवार बस्तीको विज्ञान बुझ्न खोजे शिक्षाप्रद पाठशाला हो, नत्र ‘एब्सट्रयाक्ट आर्ट’।

यी जीवन्त कथाका कथाकार यहाँका मठ–मन्दिर र भवनजस्ता मूर्त सम्पदा मात्र होइनन्। यहाँका वास्तुकला र सहरको भौतिक निर्माणसँग बुनिएका अमूर्त संस्कृति पनि हुन्। कुनै सफल उपन्यासकारले लेखेको उपन्यासमा जस्तै यहाँका चाडपर्व, भजन र मानिसका दैनिकीले काठमाडौं कथामा व्यंग्य र ठट्यौली थपेर ‘मसलादार’ बनाइदिएका छन्।

इन्द्रजात्रा त्यसैको एउटा उदाहरण हो।

इन्द्रजात्राको लामो रथयात्राबाट फर्केर आउने सहभागीलाई हेर्नुस्, उसको अनुहार लामो हिँडाइले थकित तर रोक्न नसकेको उल्लासले पुलकित देखिनेछ। खुसीले झुम्दै भन्नेछ, ‘रथ तानेर आएको।’

‘अनि?’

तपाईंको प्रश्न झर्न नपाउँदै उसले विस्तार लगाउनेछ, ‘पुलुकिसीले झन्डै किचेको तर कुमारीको दर्शन गर्न पाइयो।’

‘रमाइलो भो?’

सायद यो प्रश्न सही होइन। तै पनि उत्साहित हुँदै उसले जवाफ दिनेछ, ‘त्यो सोभा भकुको नाच, अनि लाखेको जंगली तर तालमय चर्तिकला, ती धिमे र भुस्याः बजाउने ठिटाठिटीको जोसिलो बजाई, थाम्न नसकेर बीच–बीचमा अलिक उत्साहले, अलिक मातले उफ्रँदै नाच्ने अधवैंशेहरू, खड्ग बोकेका दैत्यगण र त्यसलाई छोप्न लालायित देवीका मुकुटधारी जिउँदा भगवान।’

‘यी सबै लस्करमा आउँछन्?’

‘कहाँ लस्करमा? कुन बेला कुन टुप्लुकिन्छ के थाहा?’

उही निरन्तरतामा क्रमभंगता।

‘समग्रमा रमाइलो भो,’ धन्यभावमा उसले जवाफ दिनेछ।

इन्द्रजात्रामा कुमारी दर्शन गर्न पाइएन भने गृहिणीहरू आफूलाई अभागी ठान्छन्। जात्राको रौनक टोलमा आउँदा आफू टाढा हुनुपर्यो भने घर फर्कंदा बाटो हराएको चराजस्तै बन्छन्।

‘फलानो खै त देखिन नि?’ कसैको यस्तो प्रश्नमा जवाफ दिँदा दिँदा परिवार थकित हुन्छन्। अझ आफ्नो टोलको ब्यानर बोकेर बाजा ठोक्दै नगर परिक्रमामा उपस्थिति जनाउनु स्थानीयबासीको अनिवार्य गर्व बन्दै आएको छ।

सहरीकरणले अलिक पर बसाइ सरेकाहरूका लागि त झन् यो आफ्नो थातथलो फर्कने र बाल्यकालको विगत ताजा पार्ने एउटा अनिवार्य अवसर बनेको छ।

जात्राको अर्को रौनक धिमे बाजा हो। पहिले पुरुषहरूले मात्र बजाउने गरेका धिमे (ढोलक), भुस्याः (झ्याली) र मायली (बाँसुरी) अचेल महिलाले पनि बजाउन थालेका छन्। खुसीको कुरा के भने, समाजमा आएको यो परिवर्तनका लागि कुनै लैंगिक समानताका गोरा विशेषज्ञको आवश्यकता परेन। न कुनै सामाजिक अभियन्ताको खाँचो।

आफ्नो टोलको पहिचानसहित टिसर्टमा गर्वसाथ जोड र जोसले बाजा बजाइरहेका समूहले जात्राको भित्री उद्देश्य पनि बताइरहेको हुन्छ। त्यो हो, टोलको पहिचान।

कुन टोलको बाजा कति जोसिलो रह्यो र सहभागीहरू कति धेरै आए भन्ने कुनै निर्णायकविना नै स्थापित हुने अवसर हो जात्रा। त्यसैले, भर्खरका ठिटाठिटी बडो उत्सुकतासाथ आफ्नो पाटो पूरा गरिरहेका हुन्छन्। समानताभित्रको प्रतियोगिता राम्ररी झल्किन्छ यी प्रस्तुतीकरणमा।

बाहिरबाट हेर्दा सामान्य प्रस्तुतिका रूपमा बुझिने यी बाजालगायत प्रदर्शनका केही व्यक्तित्वजन्य र केही समाजजन्य महत्व बुझ्न सकिन्छ। महिनौंको अभ्यास र तयारीपछि नयाँ युवाहरू यी अवसरमा देखा पर्छन्।

परम्परागत बाजा सिक्नुका साथै व्यक्तिवादी बन्दै गएको आजको समाजमा युवाहरूलाई सँगसँगै ल्याउने, आफूलाई अरूका अगाडि प्रस्तुत गर्ने र पाच्य बनाउने कला सिक्ने अवसरका रूपमा यो तयारी र प्रस्तुतिलाई लिन सकिन्छ। यसले व्यक्तिको व्यक्तित्व र समाजको पहिचान बनाउन मद्दत गर्छ।

प्रतियोगिताको कथा यति मात्र छैन। यो टोल–टोलबीच चल्ने नजाँनिदो प्रतियोगिता पनि हो। आफ्नो टोलमा पुगेपछि कसरी जात्रालाई बढी समय अल्झाउने र अरूको टोलमा कसरी छिटो सक्काउनेजस्ता नदेखिने तानातानले जात्रामा तरंग पैदा गर्छ। यस्ता अवसरमा बाध्यतावश पनि आफ्ना छरछिमेकका सानातिना मनमुटाव त्यागेर टोलबासीहरू एकजुट हुन्छन्।

देशभरका मानिस र आफ्ना नाता–कुटुम्ब आउँदा ‘छि’ भन्ने अवस्था नआओस् भनेर टोलको सरसफाइ र मर्मतसम्भारमा टोलबासीहरू हप्तौंदेखि सहभागी हुन्छन्। समय परिवर्तनसँगै यस्ता जात्रामा जाँडरक्सी सेवन विस्तारै व्यवस्थित र संयमित हुँदै गएको छ। ‘मेरो रमाइलोका लागि अरूलाई अप्ठेरो पार्न हुँदैन’ भन्ने मानसिकता विस्तार हुनु पक्कै सभ्यताको द्योतक हो।

तितो सत्य यो पनि हो, यी जात्राहरू विस्तारै संकटबाट गुज्रिरहेका छन्। यसका दुई मुख्य कारण छन्।

पहिलो त यी अमूर्त सम्पदाका सर्जक एकपछि अर्को आफ्ना टोलबस्ती छाड्दै वरपर र कति त समुन्द्रपार बसाइ सरिसकेका छन्। यसले यहाँका चाडपर्व विस्तारै साँघुरिन थालेका छन्। अर्कातिर, यी व्यापारिक केन्द्रमा डेरावाला र घरवाला बन्दै फरक संस्कृतिका समुदायको आगमन पनि निरन्तर छ।

यो यथार्थ आत्मसात् गर्ने हो भने अबको परिवर्तित समयमा यहाँको संस्कृति ‘डिएनए’ मा भएका आदिवासी र तिनका सन्तानलाई कसरी मूलधारमा बचाएर राख्ने र कसरी उत्प्रेरित गर्ने भन्ने चुनौती छ। नयाँ बासिन्दालाई यी चाडपर्वका महत्व बुझाएर सहभागिताका सम्भावना खोल्नु पनि उत्तिकै जरुरी छ। नयाँ आगन्तुकले स्थानीय संस्कृतिको सम्मान गर्दै मूलधारमा समाहित हुन प्रयत्नशील हुनुपर्ने देखिन्छ।

देशको संस्कृति विश्वमा पस्कनुपर्दा यही लाखेनाच र कुमारीका तस्बिर प्रस्तुत गर्ने र यही वास्तुकला, सीप र कौशल देखाएर गर्व गर्ने पञ्चायतदेखि आजसम्मका शासनयन्त्रले यी कला र संस्कृति विस्तारै धरापमा पर्दै जाँदा पनि अपनत्व नदेखाउनु उदेकलाग्दो छ। काठमाडौंका यी गौरवपूर्ण संस्कृति र सम्पदाप्रति शासन संयन्त्रले ‘तिमीहरूको’ भन्ने भावना देखाउनुलाई सकारात्मक शब्दले परिभाषित गर्न कठिन छ। नत्र यी सांस्कृतिक वैभव जोगाउन सरकारी रातो किताबका अंक अलिक भए पनि सल्बलाउनुपर्ने हो ।

यी संस्कृति कमजोर हुँदै जानुको अर्को कारक सरकारी उदासीनता र अनभिज्ञता पनि हो। गुठी प्रणालीको सरकारीकरण र गुठी संस्कृतिमा राज्य र गैरगुठी संस्कृतिका व्यक्तिको नेतृत्व यी चाडपर्व र मठ–मन्दिरमा ह्रास आउनुका अन्य प्रमुख कारक हुन्।

‘आजको जमानामा पनि मान्छेले सास्ती गरेर रथ तान्नुको साटो क्रेनले तान्नुपर्छ’ भन्नेसम्मका गुठीका हाकिमले दिने ‘आधुनिकता’ का तर्क कम गम्भीर छैनन्। केही वर्षअघि तत्कालीन प्रधानमन्त्रीले यी चाड व्यवस्थापन गर्न बर्सेनि दिँदै आएको केही हजार रुपैयाँलाई ‘फजुल खर्च’ भनेर दुत्कारेका थिए। यो भनेको स्थानीय संस्कृतिप्रति सरकारी संवेदनहीनको उत्कर्ष हो।

कतिपय जनप्रतिनिधि भने सस्तो लोकप्रियताका लागि स्थानीय सहभागितामा हुँदै आएका काममा पनि सरकारी आर्थिक सहयोग वितरण गरेर यी चाडपर्वको स्वावलम्बी व्यवस्थापनलाई नजानिँदो तरिकाले कमजोर पारिरहेका छन्।

यी सबै अप्ठ्याराका बाबजुद नयाँ पिँढी यो सांस्कृतिक सहयात्रामा मच्चिएर अघि आइरहेछ। यो उत्साहलाई कसरी चिरस्थायी बनाउने होला? जात्राको मजा लिने हो भने र जात्रामय काठमाडौंको गर्व गर्ने हो भने सोच्ने जिम्मेवारी तपाईंको पनि हो। -सेतोपाटीबाट

(लेखक जोशी सम्पदाविद् हुन्।)

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको