ट्रेन्डिङ

विप्लवलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न कांग्रेसलाई सरकारको आग्रह

असार २६, काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई विप्लव नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन्।

मन्त्री बाँस्कोटाले नेकपाले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका हुन्।

संविधान, कानुन र शान्तिकाविरूद्ध नेपाली कांग्रेसले विप्लव नेकपालाई किन काखी च्यापेको? भनि प्रश्न पनि गरे।

भोजपुरमा नेकपा र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको मृत्यु भएको थियो । सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले नेपाली कांग्रेसले कानुन, संविधानविपरीत हिंसात्मक गतिविधिलाई साथ दिएको दाबी गर्दै आपत्ति जनाए ।

मन्त्री बाँस्कोटाले विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहोर्‍याए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बाँस्कोटाले संसदीय समितिले छानबिन गर्दैमा सो समस्या समाधान नहुने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको