ट्रेन्डिङ

  • नवलपरासीका उखु किसान किन भए आन्दोलित ?

    कात्तिक २३, नवलपरासी । पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् ।

    बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले तोकेकै मूल्य निर्धारण गर्न किसानले माग गरेका छन् ।

    सरकारले आव २०७५/७६ मा उखुको प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । जसमा चिनी मिलले ४७१ रुपैयाँ २८ पैसाका दरले किसानलाई भुक्तानी गर्नुपर्नेछ भने ६५ रुपैयाँ २८ पैसाका दरले सरकारले अनुदानको रुपमा किसानलाई उपलब्ध गराउनेछ ।

    यहाँको लुम्बिनी चिनी मिलले भने सरकारले निर्धारण गरेकोभन्दा ८६ रुपैयाँ कम अर्थात् ३८५ रुपैयाँका दरले भुक्तानी दिन शुरु गरेपछि किसान आन्दोलित हुनुपरेको सुनवल–२ का ज्ञानचन्द्र यादवले गुनासो गरे । मिलले उक्त मूल्यको दरले भुक्तानी लिन नमाने रकम भुक्तानी नगर्ने भन्दै किसानलाई धम्काएको उनको दाबी थियो ।

    गत वर्षकै मूल्य नपाएका किसान अहिलेको उखु कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा पर्न थालेका छन् । अहिले पनि मिलगेटमा ८० हजार क्वीन्टल उखु रहेको छ ।

    लुम्बिनी चिनी मिलको व्यवस्थापन पक्षले मिल सञ्चालन नगर्ने बताएपछि उक्त उखु कसरी व्यवस्थापन गर्ने भन्नेमा आफूहरु चिन्तामा परेको रामग्राम–१७ का किसान अर्जुन चौधरीले बताए ।

    “मेरो गत वर्षकै दुई हजार २०० क्वीन्टल उखुको भुक्तानी दिएको छैन्, यो वर्ष पनि मिल नचल्ने भएपछि अब उखु कहाँ व्यवस्थापन गर्ने, हामी निकै मर्कामा परेका छौँ” उनले भने ।

    किसानले विगत एक वर्षदेखिको उखुको रकम भुक्तानी र मिल सञ्चालनको वातावरण बनाइदिन माग गरेका छन् । किसानको समस्याप्रति गम्भीर नभए थप शसक्त आन्दोलन गर्ने परासीका रामभवन यादवले चेतावनी पनि दिए ।

    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले किसानका समस्या समाधान गर्न पहल भइरहेको बताए । “हामीले यहाँबाट गर्ने पहल गरिरहेका छौँ, तर कतिपय कृषि मन्त्रालय र उद्योग मन्त्रालयबाटै पहल गर्नुपर्ने कुरा छन्, त्यसको लागि पनि मन्त्रालयसँग समन्वय भइरहेको छ”, उनले भने । रासस

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको