ट्रेन्डिङ

  • सिमानामा भारतको दादागिरी: ‘गुगल म्याप’ देखाउँदै थर्काउँछन् भारतीय

    कात्तिक २३, विराटनगर । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो।

    फाइल तस्बिर

    यो खबर प्रदेश ब्युरोले आजको अन्नपूर्ण पोष्टमा लेखेको छ । गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा बन्न लागेको आवास गृहको काम लथालिंग छ।

    मोरङको सीमावर्ती क्षेत्रमा बर्सेनि भारतीय अतिक्रमण प्रयास हुन्छ। केही महिनाअघि जहदा गाउँपालिका–१ कालामनिजरस्थित दसगजा मिचेर भारतीय पक्षले निर्माण गरेको सडक स्थानीयले विरोध गरेपछि दुवै देशका सीमा सुरक्षा अधिकारीको समन्वयमा समाधान गरिएको थियो। भारतले बारम्बार नेपाली भूभाग मिचेर सडक निर्माण गरेको विवाद मोरङ जिल्ला प्रशासनमा आइरहन्छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सीमा क्षेत्रका विवादित विषय बर्सेनि मिलाउनुपरेको बताउँछन्। दसगजा क्षेत्रमा भारतीय नागरिकले घरसमेत बनाएर बसेका छन्।

    भारत र नेपालको सीमा क्षेत्रमा देखिने यी दुई प्रतिनिधि उदाहरण हुन्। भारतसँग सिमाना जोडिएका प्रदेश १ का ६ जिल्लामा भारतले नेपाली भूभाग मिच्ने र नेपालका गतिविधिमा हस्तक्षेप गर्ने क्रम बर्सेनि बढ्दो छ। सीमा जोडिएका तराईका जिल्लामा नेपालतर्फकै भूभागमा सडक बनाउने, भारतीय प्रहरीको चेकपोस्ट र टहर निर्माण गर्नेदेखि सीमानजिकै नेपालका विकास निर्माणमा अवरोध गर्ने क्रियाकलाप उच्च छ।

    ताप्लेजुङ र पाँचथरका सीमा भूभागमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा दर्जनौं सीमास्तम्भ हराएका छन्। भारतीय नागरिक खुला सीमाको फाइदा उठाउँदै नेपाली भूभागमा पसेर आपराधिक गतिविधि गर्नुका साथै तस्करी बढेको ताप्लेजुङ कालिखोलाका टाइन्द्र चापागाईं बताउँछन्। ‘भारतले कञ्चनजंघा हिमाल जाने बाटो नेपाली भूमिमै बनाएको छ। नेपालतर्फ आएर भारतीय घाँसदाउरा गर्छन्’, उनले भने।

    स्तम्भ नभएकाले ताप्लेजुङ र पाँचथरका अधिकांश स्थानमा सिमाना कहाँ हो भन्ने अन्योल छ। नापी विभागको सर्भेअनुसार ताप्लेजुङ र भारतको सीमा क्षेत्रमा ३५ वटा मुख्य सीमास्तम्भ हुनुपर्छ। तर, जिल्लाको ६१ किलोमिटर सीमा क्षेत्रमा एउटा पनि स्तम्भ छैनन्।

    पाँचथरमा ३५ नम्बर पिलरदेखि इलामको सन्दकपुरसम्म नौवटा जंगे पिलरसहित एक सय १७ वटा सीमास्तम्भ हुनुपर्ने हो। तर, केही स्तम्भ हराएका छन्।

    सीमा क्षेत्रमा बस्ती नभए पनि भारत सरकारले बाक्लै गरी सुरक्षा क्याम्प राखेको छ। तर, नेपालले अहिलेसम्म पहाडी क्षेत्रका सिमानामा सुरक्षा उपस्थिति देखाउन सकेको छैन। सीमा प्रहरी चौकी सिमानाभन्दा २० किलोमिटर टाढा छन्। ‘सिमाना सुरक्षामा हामी नै खटिरहेका छौं’, भारतसँग सिमाना जोडिएको पाँचथरको चाररातेमा चौंरी पालेर बसेका चन्द्रलाल नेपालले भने, ‘राज्य कहाँ छ ? ’

    झापाको भद्रपुर नगरपालिकाअन्तर्गत पर्ने मेचीपारिको डुलु गाउँका २५ घर, कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको भूभाग २०५२ सालअघि नेपालमै थियो। तर, २०४३ सालतिर पिलर गाडियो र २०५२ सालमा आइपुग्दा नागरिकता र धनी पुर्जा बनाउने क्रममा पुरै भूमि भारततर्फ परेको थाहा पाएपछि सो क्षेत्रका नागरिकको होस उडेको छ। ‘पहिले आफ्नो जमिन भनेर बसोबास गरेका थियौं। अहिले आफ्नो जमिन पूरै भारतीय भूमिमा परेकोमा अचम्मित छौं,’ स्थानीय प्रवेश ठाकुरले भने।

    झापाको १ सय ७४ हेक्टरमा सीमा विवाद छ। पाठामारी, मेचीखोला पारीको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया, काँकरभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायतका ठाउँका सीमा क्षेत्रमा विवाद छ। सशस्त्र सीमा सुरक्षा बलका प्रहरी प्रमुख रमेश थाक्सुले अहिले यी स्थानमा भारतको गतिविधिमा कमी आएको बताए।

    (इलामबाट तोयानाथ भट्टराई, पाँचथरबाट भीमकुमार बाँस्कोटा, ताप्लेजुङबाट सीताराम गुरागाईं, भद्रपुरबाट राधा खनाल, विराटनगरबाट जितेन्द्रनारायण ठाकुर)

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको