चिनियाँ राष्ट्रपति ‘सी’ नेपाल आउने

असोज २२, काठमाडौं । छिमेकी राष्ट्र चीनले आफ्नो राष्ट्रपति सी चिनफिङको नेपाल तर्फको यात्रा सार्वजनिक गरेको छ। सी भारत हुँदै काठमाडौं आउने निश्चित भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। बुधबार परराष्ट्र मन्त्रालयको ब्लु हलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले ११–१३ अक्टोबरमा नेपाल र भारतको भ्रमण गर्ने घोषणा गरेकी हुन्।

बेइजिङमा घोषणा भएको केही मिनेटमा परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सी दुई दिने भ्रमणमा आगामी शनिबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उनी आउन लागेका हुन्। चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो। सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेपछि चीनबाट यो स्तरको भ्रमण भएको थिएन। सी दक्षिण भारतमा एक रात बिताउने छन्। त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गर्ने बताइएको छ। चेन्नाईबाट ६५ किलोमिटर टाढा रहेको ममल्लिपुरममा डुंगा सयर गर्दै हुने अनौपचारिक वार्तालाई ‘उहान दोस्रो’ भनिएको छ। त्यसमा भारत र चीनको मात्र नभएर दक्षिण एसियाको विषयमा पनि छलफल हुनेछ।

चीन यतिबेला ‘एसिया पहिलो’ को लक्ष्यमा लम्किरहेको र भारतसँग यसमा सहकार्य अनि नेपाललाई द्वार बनाउन अग्रसर छ। चिनियाँ अध्येताहरूले नेपालमा चीनको उच्चस्तरको भ्रमण नहुँदा र मन्त्री स्तरबाट मात्र सहकार्य गर्न खोज्दा बेवास्ता गरेको र पश्चिमा शक्ति नेपालमा हावी हुँदै गरेको लगातार प्रतिवेदनपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जुरेको हो।

सीले अघिल्लो कार्यकालमा नेपाल भ्रमण गरेनन्। यसअघिका राष्ट्रपति हु जिन्ताओले आफ्नो दुई कार्यकालमा नेपाल सम्झेनन्। उनले अन्तमा झारा टार्न आफ्ना प्रधानमन्त्री वेन जियावाओलाई खाडी मुलुक जाने क्रममा पाँच घण्टाको लागि काठमाडौं पठाएका थिए। यहाँ राजनीतिक स्थायित्व कायम भएकाले पनि यो भ्रमणलाई बेइजिङले उपयुक्त ठहर्‍याएको हुनसक्ने अधिकारीहरु बताउँछन्।

अन्नपूर्ण पोस्ट्ले एक साता अघि नै उच्चस्रोतको सूचनामा आधारित रहेर शनिबारदेखि राष्ट्रपति सीको नेपाल भ्रमण हुने लेखिसकेको थियो। त्यसअघि देखि नै उनको भ्रमण हुने चर्चा चलिरहेको थियो। तयारी पनि भइरहेका थिए।

बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा राष्ट्रपति सीले शुक्रबारदेखि आइतबारसम्म भारत र नेपाल भ्रमण गर्ने प्रवक्ताले घोषणा गरिन्। यसले विश्वमा नै अर्कै सन्देश जानेछ। नेपाल भारत चीन त्रिदेशिय सहकार्यको कुरा भइरहदा चिनियाँ राष्ट्रपतिले भारत र नेपालको भ्रमण गर्नु अर्थपूर्ण छ।

नेपालको अधिकतम सहकार्य भइरहेको मुलुक भारत पुगेर काठमाडौं आउने र दुवै मुलुकलाई उत्तिकै समय दिनुले पनि यस क्षेत्रको राजनीतिमा केही संकेत गर्ने परराष्ट्र अधिकारीले जनाए।

‘राष्ट्रपति सी चिनफिङ भारतको तमिलनाडु राज्यको चेन्नई नजिकै ममल्लिपुरममा भारतीय प्रधानमन्त्री मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुनेछन् भने नेपालको राजकीय भ्रमण गर्नेछन्’, चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवाले भनिन्।

सीको भ्रमण तालिका सार्वजनिक हुँदा नेपाल र चीनबीचको सहकार्यको खाकामा अधिकारीहरू ब्यस्त छन्। सुरक्षा अधिकारीहरू सुरक्षा प्रवन्धमा जुटेका छन्। प्रेस पासदेखि अनेकन कार्य अघि बढेको छ। सरकारले विपक्षी दल तथा विज्ञहरुसँग छलफल नगरेको विषयमा भने चर्को आलोचना भइरहेको भएपनि सबैले छिमेकबाट हुन लागेको भ्रमणलाई दलगत स्वार्थ नभै मुलुकको स्वार्थ हेरेर काम गर्न सुझाउँदै आएका छन्। उनले भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्रीसँग बेग्लैबेग्लै दुईपक्षीय भेटवार्ता हुनेछ। प्रधानमन्त्रीसँगको भेटवार्तामा केही सम्झौतामा हस्ताक्षर समेत हुने बताइएको छ। अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने छ। बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले जनाएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्। उनीहरूका अनुसार चीनले पूर्वपश्चिम रेलमार्गमा ठूलो सहायता घोषणा गर्ने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको