हेल्परबाट मालिक बनेका कर्मठ एनआरएन कुल

असोज २२, काठमाडौं । आत्मविश्वासले संघर्ष गर्ने साहस दिन्छ अनि त्यही साहसले सफलताको शिखरमा पुर्याउँछ। कुलको जीवनमा यही सूत्र प्रमाणित भएको छ। पर्वतको दुर्गम गाउँमा जन्मिएका कुलको पारिवारिक पृष्ठभूमि सामान्य थियो। उनीसँग न पर्याप्त धनसम्पत्ति थियो न त पुर्खौली बिरासत। उनीसँग थियो त आत्मविश्वास, कर्ममा नथाक्ने धैर्य अनि संघर्ष गर्ने साहस । त्यही आत्मविश्वास, धैर्य, संघर्ष अनि साहसले कुल आज सफल भएका छन् । परदेशलाई कर्मभूमि बनाएर आफ्नो व्यवसायिक यात्रामा क्रियाशिल कुल दुई दसकमै प्रवासी समुदायमा चम्किएका छन्।

यतिबेला कुल आचार्यको नाम चर्चामा छ। गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षका लागि उनले उम्मेदवारी दिएका छन् । तर को हुन् कुल ? गाउँको सामान्य परिवारमा जन्मिएका कुल बेलायत पुगेर कसरी स्थापित भए ? उनी त्यहाँ के गर्दैछन् ? गैरआवासीय समुदायमा मात्र होइन, स्वदेशभित्र पनि एक खालको उत्सुकता देखिन्छ ।

किसान परिवारमा जन्मिएका कुलको बाल्यकाल सुख सयलमा वितेको थिएन । घरखेतको काम गर्दै उनले स्कूल पढे। सभ्रान्त पृष्ठभूमि तथा राजनीतिक सक्रियताले होइन, आफ्नै पौरखले गैरआवासीय दुनियाँमा चिनिएका कुलको आफ्नै खालको छवि छ ।

सरल स्वभाव, सहयोगी भावना र परिश्रमी सोचले गर्दा उनी गैरआवासीय समुदायबीच लोकप्रिय अनि स्थापित छन् ।

सरल र सहयोगी साथी

गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष आचार्य सामाजिक अभियन्ता पनि हुन्। गैरआवासीय नेपालीको नागरिक तथा अधिकारका सवालमा अन्तर्राष्ट्रिय मञ्चहरुमा सशक्त ढंगले आवाज उठाउँदै आएका छन् आचार्यले।

गैरआवासीय नेपालीका हरेक समस्या र सकसमा कुल साथी हुने गरेका छन् । जहाँ जहाँ नेपालीलाई समस्या हुन्छ, त्यहाँको कुलको सम्झना हुन्छ अनि त्यहाँ पुग्छन् उनी ।
‘अहिलेको अवस्थामा आइपुग्न मैले लामो संघर्ष गरेको छु । अहिले पनि मेरो संघर्ष जारी छ,’ आचार्यले भने, ‘म परिश्रम र पौरखले स्थापित भएको हुँ ।’

संघर्षलाई उनी प्रेरणा मान्छन्। सफलताबाट हौसिँदैनन्, बरु जिम्मेवारी बढेको ठान्छन्। जिम्मेवारी पूरा गर्ने र संघर्षबाट अघि बढ्ने संकल्प र अठोट अनि आत्मविश्वास ले नै आचार्यलाई एउटा किसान परिवारको सदस्यबाट बेलायतका ‘बिजिनेसम्यान’ बनायो।

पर्वतको धाइरिङ, पञ्चायतकालमै शिक्षा र सामाजिक जागरणका लागि लडेको गाउँ। बाल्यकालपछिको उनको यात्रा पनि सहज थिएन ।
बाल्यकालमै आचार्यले निकै संघर्ष गर्नुप¥यो। पारिवारिक जिम्मेवारी बहन गर्ने क्रममा १२ वर्षकै उमेरमा उनको विवाह भयो। पढ्ने उमेरमा घरको जेठो छोराको जिम्मेवारी किच्यो।

अब उनी घरको जेठो छोरा मात्रै थिएनन्, कसैका श्रीमान् पनि थिए, जुन जिम्मेवारीको पालना गर्नु उनको दायित्व बनेको थियो। तर, यो संयोग दुई वर्षमै वियोगान्तमा परिणत भयो। उनकी श्रीमती मोनाको निधन भयो। त्यसपछि उनको जीवनमा नयाँ संघर्षका अनेकन अध्याय सुरु भए, जुन अहिले पनि जारी छ।

२०१८ सालमा कुरा हो। पर्वतको धाइरिङ गाउँमा एउटै विद्यालय थिएनन्।

कुल आचार्यका बुवा धर्मनाथ उपाध्यायले स्कुल खोल्न पहल गरे। तर, पञ्चायतलाई रिझाएर स्कुल स्थापना गर्नु निकै कठिन थियो।
ज्योतिष तथा पण्डित धर्मनाथले गाउँमा शिक्षाको ज्योति छर्ने अभियानको थालनी गरे। र, स्थापना भयो, कृष्ण भवन प्राथमिक स्कुल।
आचार्यले पनि कृष्ण भवन प्राविमै कक्षा–७ सम्म अध्ययन गरे। माझफाँट माविबाट एसएलसी पास गरेका आचार्य प्रविणता तह (आइए) अध्ययनका लागि बागलुङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए।

तर, आइए पढ्दा–पढ्दै आचार्यले अर्को वियोग व्यहोर्नुप¥यो। उनका बुवा धर्मनाथको निधन भएपछि पढाइ रोकेर उनी गाउँ फर्किए। ‘अरु कुनै विकल्प थिएन, बुवाको निधनपछि गाउँ फर्किएँ, अनि पढाउन थालेँ,’ उनले भने।

मास्टरी छोडेर विदेशतिर

झन्डै बीस वर्षअघि गाउँका केही साथीहरुलाई बिदेश पठाउन काठमाडौं आएका कुलको मन पनि विस्तारै विदेशतिरै मोडियो । विदेशमा गएर केही गर्ने सोच बनाए उनले । ‘केही साथीहरुलाई विदेश पठाउनका लागि काठमाडौं आएको थिएँ, तर साथीहरुले विदेश जाउँ भनेर हौस्याएँ,’ आचार्यले भने, ‘त्यसपछि विदेश जाने सुनसार कसियो।’

कुलको विदेश यात्राको पहिलो गन्तव्य थियो बेल्जियम । ‘गाउँमासबैलाई साथ सहयोग गर्दै अघि बढ्दै थिएँ, अचानकै विदेश जाने संयोग जुर्यो,’ आचार्य भन्छन्, ‘कर्म गर्न जहाँ गए पनि मातृभूतिप्रतिको अथाह श्रद्धाले बेला–बेला झक्झक्याइरह्यो, जन्मथलोको माया छातीभरि राखेर कर्मकथाहरु लेख्दै गएँ, र नै अहिले यतिका साथीहरु कमाएको हुँ।’

बेल्जियम आचार्यका लागि ‘ट्राञ्जिट’ मात्रै भयो। उनी बेल्जियममा धेरै बसेनन्, उनी लागे जर्मनीतिर। तर, भाषाको ज्ञान नहुँदा त्यहाँको बसाइ सकसपूर्ण भयो । दुई वर्षपछि फेरि बेलायततिर हानिए।

आचार्यलाई लाग्यो –अंग्रेजी पनि सिक्ने, काम पनि गर्ने, अब बेलायत नै हो गन्तव्य। नभन्दै उनी बेलायत पुगेपछि केही राहत महसुस भयो।
‘बेलायत पुगेपछि गाउँकै दाइहरुले सुपरमार्केटमा काम खोजिदिनु भयो, राहत भयो मलाई, एक हप्तामा दुई सय ५० पाउण्ड तलब आउने भयो,’ बेलायतका सुरुवाती दिनहरु सम्झदै आचार्यले भने, ‘तर त्यहाँ पनि मैले धेरै समय काम गरिन्, मेरो लक्ष्य सेफ बन्ने थियो।’

सेफको सपना र संघर्ष

बरु भाँडा माँझ्ने तर एक दिन सेफ बनेरै छाड्ने अठोटका साथ लण्डन छिरेका कुल अन्ततः त्यही फिल्डमा स्थापित भए। रातदिनको अथक संघर्षले नै अहिले सफल व्यवसायी बनेका छन् उनी ।

सुरुमा रची नामको रेस्टुरामा ८० पाउण्डमा काम गर्न थाले आचार्य। त्यसमा उनको एउटै लक्ष्य थियो –किचनमा पनि सहयोग गर्ने र सेफ बन्ने।
आचार्यका अनुसार रचीमा तीन महिना काम गरेपछि उनी बम्बई बाइसाइकल क्लब नामको अर्को रेस्टुरा गए। त्यहाँ किचन हेल्परको जिम्मेवारी पाए।

‘सियो बनेर पस्नु फाली भएर निस्किनु’ भन्ने नेपाली उखानझैँ बम्बई बाइसाइकलको ६ वर्षे करियर उनको जीवनको नयाँ सफलता बनिदियो। आचार्य किचन हेल्परबाट हेड सेफ बन्न सफल भए।

‘जतिसम्म गर्नु थियो, कुनै कसर बाँकी नराखी गरेँ,’ उनले भने, ‘त्यसैको प्रतिफल अहिले बेलायतमा धेरै साथीहरु कमाएको छु, विश्वभरिका गैरआवासीय नेपाली साथीहरुको माया पाएको छु, आर्थिक र धनसम्पत्ती मात्रै सबै कुरा होइन।’

बेलायत बसाइको दुई दशकमा आचार्य सफल रेस्टुरा सञ्चालक भए। बेलायतमा रहेका मात्रै होइन, जुनसुकै ठाउँबाट त्यहाँ पुग्ने नेपालीहरुले ‘होली काऊ’ रेष्टुरामा पुग्ने गर्छन्। त्यही होली काऊका प्रबन्ध निर्देशक हुन् आचार्य।

६ वर्षसम्मको अनुभव, लगन र परिश्रमले बेलायतको समाजमा आचार्यको ख्याती बढिरहेको थियो। त्यसबीचमा ‘इभिनिङ स्ट्याण्डर्ड’ पत्रिकाले आचार्यको कर्मकथा छाप्यो, जुन उनका लागि काममा थप उत्साहित भएर लाग्न प्रेरित गर्ने माध्यम थियो।

हेल्परबाट मालिक

६ वर्ष काम गरेको अनुभव। किचन हेल्परबाट हेड सेफ। अब सफलताको कथा लेख्न एउटा खुट्किलो मात्रै बाँकी थियो कुल आचार्यका लागि।
सन् २००६ आचार्यको जीवनमा नवीन उर्जा र लक्ष्य पूरा गर्ने वर्ष बनिदियो। सोही साल उनले रेस्टुरा सञ्चालनमा ल्याए। आचार्यले अफगानस्तानका एक व्यवसायीसँग साझेदारी गरेर होली काऊ टेकवे रेस्टुरा सुरुआत गरे। आफै मालिक भएको चार वर्षपछि होली काऊ रेस्टुराका सात वटा शाखा विस्तार गरे।

‘होली काऊको आफ्नै फुड र डेलिभरी सेवा रहेको छ, डेलिभरी नामक प्लेटफर्म कम्पनीबाट होली काऊका परिकार ग्राहकसम्म पुर्याउने गरिन्छ,’ उनले थप प्रष्ट पारे।

सन् २०१३ मा बेलायती सांसदहरु रहेको टिफिन ब्लबले प्रदान गर्ने अवार्डबाट सम्मानित भइसकेको होली काऊलाई युरोपभरि विस्तार गर्ने लक्ष्य उनले राखेका छन्। ‘पोर्चुगल फ्रेन्चाइज सुरु भयो,’ उनले भने।

एनआरएनएमा नेतृत्व यात्रा

गैरआवासीय नेपाली संघ एनआरएनएमा उपाध्यक्ष रहिसकेका आचार्य नयाँ अनुहार होइनन् । सन् २००३ देखि गैरआवासीय नेपाली संघमा आबद्ध रहेका आचार्य निरन्तर सक्रिय छन्।

रआवासीय नेपाली संघ बेलायतको सदस्य रहेर संगठनमा प्रवेश गरेका आचार्यले पछि सोही कमिटीको नेतृत्व गरे। सक्रियता बढ्दै जाँदा युरोप संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाएका आचार्य अहिले एनआरएनएको उपाध्यक्ष छन्।

‘नागरिकताको सवाल, गोर्खा तथा अन्य विविध विषयहरुलाई सम्बोधन गर्नुछ,’ आचार्यले भने, ‘अब एनआरएनएको नेतृत्व गर्दै ती योजनाहरुलाई कार्यान्वयनतर्फ लाने छु।’ -अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको