जनप्रतिनिधि र प्रशासनको झेलले हुरीपीडित ६०० परिवार अझै पालमुनि

वीरगन्ज : चैत १७ को विनाशकारी चक्रवात (हुरी) ले सबैभन्दा बढी क्षति पुर्‍याएको बारा जिल्लाका ६ सयभन्दा बढी पीडित परिवार अहिले पनि टेण्ट र पालमै गुजारा गर्न बाध्य छन्। चक्रवातले प्रभावित भएको बारा र पर्सामा गरी सरकारले

सेना मार्फत ८ सय ६९ घर निर्माण गरेर भदौ १८ गते प्रभावित परिवारलाई हस्तान्तरण गरिसकेको छ। तर घर निर्माणको सुचीमा परेर पनि पछि सुचीबाट नाम हटाइएका बाराका ६ सयभन्दा बढी पीडित परिवार भने ६ महिनादेखि टेण्ट र पालमै गुजारा गर्न बाध्य छन्। बाराको सुर्वण, देवताल, फेटा,परवानीपुर र प्रसौनी गाँउपालिका, पचरौता र महागढीमाइ नगरपालिका तथा कलैया उपमहानगरपालिकामा गरी ६ सय भन्दा बढी वास्तविक हुरी पीडित परिवार, घरबाट बञ्चित भएको हुरी पीडित संघर्ष समिति बाराका अध्यक्ष अशोक यादव बताउँछन्।

सयौं पीडित परिवार घरबाट बञ्चित भएपछि एक एक घरधुरीमा पुगेर हामीले क्षतिको विवरण संकलन गरेका छौं’, यादव भन्छन् ,’सुरुमा सरकार आफैँले तयार पारेको घर निर्माणको सुचीमा बाराका १ हजार ४ सय ५६ जनाको नाम थियो,मन्त्रीहरुले शिलन्याश गर्ने दिन सेनालाई सच्याएर पठाइएको सुचीमा पनि एक हजार तीन सय ६२ जनाको नाम थियो, तर सेनाले बारामा ८ सय ५ जनाको लागि मात्र घर बनाएर हस्तान्तरण गरेको छ, बाँकी ६ सय ५६ वास्तविक पीडित परिवार अहिले पनि टेण्ट र पालमै छन्।’

पीडितको विवरण संकलन गरेर घर निर्माणका लागि गृहन्त्रालयमा सिफरिस गर्ने बेलामा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयले चलखेल गरेका कारण नै ६ सय भन्दा बढी पीडित परिवार घर पाउनबाट बञ्चित भएको यादव बताउँछन्।

घर निर्माणको सुचीमा परेर पनि, पछि नाम हटाइएका मध्ये बाराको सुवर्ण गाँउपालिका-४ हर्दियाको दलित वस्तीका १४ परिवार सबैभन्दा बढी बिजोगमा परेका छन्।

अरुको खेतबारी र ज्याला मजदुरी गरेर जेनेतन परिवार पाल्दै आएका उनीहरू आफैं घर बनाउन सक्ने स्थिति नभएकाले ६ महिनादेखि टेण्ट र पालमै गुजारा चलाउन बाध्य रहेको बताउँछन्। ‘मेरै टोलमा पहुच हुने कसै कसैले त चार वटासम्म घर पाएका छन्, तर सरकारले मेरो लागि एउटा समेत घर बनाइदिएन’, ६ महिनादेखि टेण्टमा ६ जनाको परिवारसंगै बस्दै आएका दलितवस्तीका शीवनाथ राम चमार भन्छन्, ‘सुरुमा घर बनाउने लिस्टमा मेरो नाम थियो, तर पछि सच्याएर आएको लिस्टबाट मेरो नाम गायब गरिएछ, वडा अध्यक्ष कहाँ ५० चोटी धाइसकेँ, सिडिओ साबलाई पनि भेटेर गुहार लगाएँ, तर हामी गरिबको पीडा कसैले सुनेन।’ हुरीका बेला सेनाले दिएको टेण्ट पनि घामपानीले च्यातिएर अहिले धुजा धुजा भइसकेको भन्दै उनी भन्छन्,‘ सरकारले घर बनाइदिएन, गरिबीका कारण आफ्नै खर्चले कामचलाउ झुप्रो पनि बनाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको