गाउँमा अचेल दशै तिहारमा डुडी मादल बज्दैन

पृथीछक बुढा मगर,
अचेल हाम्रो गाउँ घरतिर दशैमा डुडि मादल बज्दैन । झ्याली र निवर पनि बज्दैन । २२ चाला के हो थाहा छैन । गरुवा चाला के हो ? थाहा छैन । ढंग्या सिंगारु नाच के हो थाहा छैन । ढंग्याले कसरी बात्रा फुकाल्छ ? त्यो पनि थाहा छैन । झोहला के हो थाहा छैन ।

यति थाहा छैन भने हामी कसलाई संस्कार र संस्कृति भन्छौं ? कसलाई भन्छौं रितिथिती ? अचेल त हाम्रो गाउँघर तिर रितिथिती नै मासियो भनेर ठोकुवा गर्दा हुन्छ ।

पहिलो कुरो त दशै मनाउने हाम्रो संस्कृती नै फरक छ । हाम्रोतिर दशै त्यतिखेर शुरु हुन्छ जतिखेर अरु ठाउँका मान्छेहरुको दशै सकिन्छ । नवमीमा दुर्गा थापिन्छ र दशमीमा दुर्गा मारिन्छ ।

त्यसपछि बज्न थाल्छ डुडी मादल र झ्याली निवर । दशै छ दिन मनाउछौँ । रानी सल्लो काटेर पिङ हालिन्छ । पिङमा तरुनीहरुसंग ध्वजा वा तालो मागेर झुण्ड्याइन्छ । पिङ बझाउने दिन तरुनोहरुलाई विशेष महत्वका साथ कुखुरो काटेर तीन पाने खुवाउने चलन थियो ।

युवाहरुले बुढापाकाहरुलाई गुरु थामी, शरण परि परि नचाउने गर्दथे । लाइन लागेर पैसेरी नाच्थे भने तरुनी र अन्य महिलाहरु झोहला गाउथे नाच्थे । झोहलाका पनि २२ श्लोक हुने रहेछ ।

दशै मान्न नपाएर ग्वाला बताला लागेका युवाहरु गाउँमा बजेको डुडि मादल सुन्दा मन त्यतै भाग्थ्यो रे । मनै थाम्न नसकी कोहि त भागेर आउँथे ।

गरुवा चाला लठ्ठी लिएर नाचिन्छ । यो लडाइँ कसरी लडिन्छ र शत्रुको प्रहार कसरी रोक्न सकिन्छ भन्ने बडो कलात्मक खालको नाच हुन्छ । सबैभन्दा अप्ठ्यारो नाच यहि गरुवा नाच हो भनेर बुढापाकहरु सुनाउनु हुन्छ ।

सिंगारु नाच अरु ठाउँ तिरको जस्तो जहाँत्यहीँ जुनसुकैले चाहेको समयमा भैलो वा देउसिरे गाउन पाउदैन । केही विधिहरु पु-याउनु पर्छ । देवि उठाएर मात्रै शुरु गरिन्छ र विधि पु-याएरै त्यसको समाप्ति गरिन्छ । चारै दिशा, चारै कुनाका सिमे भुमे, बनपा, बनमा, धामी झाक्री, मस्ता, सिद्ध बराह सबैको पुकार गरिन्छ ।

सिंगारु नचाउँदा परम्परागत भाकामा सिर्जन उब्जनका कथाहरु समेटेर गाउने चलन छ ।

यो नाच एउटा गाउँमा मात्रै सिमित रहदैन । खोलानाला नाच्न जाने चलन छ । जुन गाउँमा गयो, त्यही गाउँका गाउँलेहरुले एउटा भेडा काटेर सत्कार दिने चलन छ । यो सत्कार आलोपालो हुन्छ । उनिहरु पनि नाच्दै घुम्दै आए यतावाट पनि सत्कार दिने चलन छ ।

देवि थकान्ने (समापन) दिन सबैको मन थामी नसक्नु हुन्छ । मान्छेको चोला बर्ष दिनको पर्व मरिन्छ कि बाचिन्छ ? भनी अघोर मन लिएर नजिकैको थानमा लगेर देवी थकान्ने चलन छ ।

अचेल यो चलन मासिदै गएको छ । न लुगाफाटोमा संस्कृति झल्किन्छ । न ताल र नाचहरुमा पहिचान नै झल्किन्छ ।

अहिले त गाउँ गाउँमा भलिवल र फुटबल भित्रिएको छ । जसले अन्य खेलहरुलाई निलिदिएको छ । युवा जमात त्यसैको पासोमा परिरहेको छ र कुनै गाउँ भलिवल वा फुटबलको आयोजना गरिएको मात्रै थाहा पाए भने गाउँ रित्तो पारेर त्यहाँ रामारमिता हेर्न जाने चलन छ । युवा नभएको गाउँमा खुसियाली कसरी भित्रिन्छ ।

नाचमा पनि पैसेरी, झोह्ला, सिंगारु नाचिदैन । माइकल ज्याक्सनको हाउभाउमा नाच्ने कोसिस गरिन्छ । त्यसैले अचेल गाउँमा दशै तिहारमा डुडी मादल बज्दैन ।

असोज २२, २०७६ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको